नेभिगेशन
प्रदेश

लिपुलेकका छाङरु र तिंकरका मतदाताले सदरमुकाममै मतदान गर्ने

दार्चुला – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलामा दुई अस्थायी मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार व्यास गाउँपालिका–१ का छाङरु र तिंकर गाउँका मतदातालाई लक्षित गरी सदरमुकाम खलंगामा अस्थायी मतदान केन्द्र तोकिएको हो । मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार भौगोलिक विकटता र मौसमी अवस्थाका कारण लिपुलेक मुनिका छाङरु तथा तिंकरका मतदाता हाल खलंगामा बसोबास गरिरहेका छन् । सोही कारण उनीहरूलाई सहज रूपमा मतदान गर्न खलंगामै मतदान केन्द्र कायम गरिएको हो । छाङरुका मतदाताका लागि कैलाशपति आधारभूत विद्यालय र तिंकरका मतदाताका लागि मोति महिला संघ आधारभूत विद्यालयमा अस्थायी मतदान केन्द्र तोकिएको उनले बताए ।

निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार कैलाशपति आधारभूत विद्यालयमा ३ सय ७५ र मोति महिला संघ आधारभूत विद्यालयमा २ सय ४४ मतदाता सूचीकृत छन् । २०७९ सालको निर्वाचनमा छाङरुमा ३ सय ८३ र तिंकरमा २ सय ३४ मतदाता रहेका थिए । यसअघि स्थानीय तह निर्वाचन पनि ती क्षेत्रमै सम्पन्न गरिएको मुख्य निर्वाचन अधिकृत गिरीले बताए ।

यसपटक गत मंसिर महिनामै स्थानीय बासिन्दा सदरमुकाम झरेपछि यही माघ ५ गते मतदान केन्द्र खलंगामै राख्न माग गरिएको थियो । सो मागलाई मध्यनजर गर्दै अस्थायी मतदान केन्द्र कायम गरिएको मुख्य निर्वाचन अधिकृत गिरीले बताए । सदरमुकाममै मतदान केन्द्र तोकिँदा मतदाताको सहभागिता बढ्ने अपेक्षा गरिएको छ ।

जिल्लाभर प्रतिनिधिसभा निर्वाचनका लागि एक सय १२ मतदानस्थल र एक सय ४३ मतदान केन्द्र तोकिएका छन् । प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार तीमध्ये १५ मतदानस्थल अतिसंवेदनशील, ३२ संवेदनशील र ६५ सामान्य अवस्थामा राखेर सुरक्षा योजना बनाइएको छ । दार्चुलामा कुल ९२ हजार ९ सय ४८ मतदाता रहेका छन् । तीमध्ये ४७ हजार ७ सय ५५ पुरुष र ४५ हजार एक सय ९३ महिला मतदाता रहेका छन् । निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै तयारी तीव्र पारिएको प्रजिअ पौडेलले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्