बेइजिङ – चीनका राष्ट्रपति सी जिनपिङले शनिबार देशका सर्वोच्च श्रेणीका एक जनरल झाङ युसियामाथि अनुसन्धान गर्ने निर्णय गरेर संसारलाई नै चकित पारेका थिए । अहिले ठूला मुलुकहरू यो अनुसन्धानको अर्थ खोज्न थालेका छन् ।
यसअघि पनि अर्का वरिष्ठ जनरल लिउ झेनलीमाथि कारबाही गरिएको थियो । गएको अक्टोबर यता मात्र यस्ता आठ जना वरिष्ठ सैन्य अधिकृतहरूमाथि कारबाही गरिसकिएको छ । यसलाई दशककै सबैभन्दा ठूलो सैन्य अधिकृत कारबाहीका रूपमा लिइएको छ ।
यो यस्तो आश्चर्यजनक कदम हो जसले सीलाई सैन्य पदानुक्रमको शीर्ष स्थानमा लगभग एक्लो बनाएको छ । यसले विश्वकै ठूलो सैन्य बलको भविष्य र ताइवानमाथि नियन्त्रण जमाउने बेइजिङको महत्वाकांक्षामा पर्न सक्ने प्रभावबारे गम्भीर प्रश्नहरू उब्जाएको छ । यो ‘शुद्धीकरण’ अभियानले एउटा कुरा स्पष्ट पारेको छ, आफ्नो दृष्टिकोणअनुसार सेनालाई पुनर्संरचना गर्ने क्रममा सीका लागि कुनै पनि पात्र वा निसाना धेरै ठूलो छैन । उनले अरू सबै कुराभन्दा ‘वफादारी’लाई प्राथमिकतामा राखेका छन् ।
युद्धको अनुभव बटुलेका अनुभवी सैन्य कमाण्डर र सीका पुराना सहयोगी झाङ युक्सिया तथा पिपुल्स लिबरेसन आर्मी (पीएलए) को संयुक्त अपरेशनका प्रमुख लिउ झेनलीमाथि अनुसन्धान सुरु गरिएको घोषणा गत शनिबार रक्षा मन्त्रालयले एक संक्षिप्त ३० सेकेन्डको भिडियोमार्फत गरेको थियो । त्यसलगत्तै ‘पिपुल्स लिबरेसन आर्मी डेली’मा प्रकाशित एक सम्पादकीयले झाङ र लिउलाई ‘केन्द्रीय सैन्य आयोगका अध्यक्षमा निहित अन्तिम उत्तरदायित्वको प्रणालीलाई गम्भीररूपमा कुल्चिएको र कमजोर पारेको’ आरोप लगाएको छ । यो यस्तो प्राविधिक शब्दावली हो, जसले उनीहरू सीको अधिकारका लागि खतरा बनेको संकेत गर्छ ।
यी आरोपहरू सीले एक दशकभन्दा बढी समयदेखि विपक्षीहरूलाई हटाउन र भ्रष्टाचार सफा गर्न चालेको निर्मम प्रयासको उत्कर्ष मान्न सकिन्छ । सन् २०२३ देखि मात्रै २० भन्दा बढी वरिष्ठ सैन्य अधिकारीहरू अनुसन्धानमा परेका वा हटाइएका छन् । झाङविरुद्धको अनुसन्धानले यो अभियान कति गहिरो छ भन्ने झन् प्रस्ट पार्छ । झाङलाई लामो समयदेखि सीका अटुट सहयोगीका रूपमा हेरिन्थ्यो । उनी पनि सी जस्तै ‘प्रिन्सिङ’ (क्रान्तिकारी नेताका सन्तान) हुन् र उनीहरूको पारिवारिक सम्बन्ध चीनको गृहयुद्धको समयदेखि जोडिएको थियो ।
ब्रुकिङ्स इन्स्टिच्युसनका फेलो जोनाथन सिजनका अनुसार यो सीको शासनकालमा चिनियाँ राजनीतिमा आएको एउटा ठूलो हलचल हो, जसले यो प्रणालीभित्र कोही पनि सुरक्षित छैन भन्ने प्रमाणित गर्छ । पूर्व सीआईए विश्लेषकसमेत रहेका सिजन भन्छन्, ‘यो शुद्धीकरण अहिले पार्टीको सर्वोच्च तहमा पुगेको छ । यसले के देखाउँछ भने पीएलए भित्रको ‘सडन’ यति गहिरो छ कि सीले पूरै एक पुस्ताका नेताहरूलाई सफा गर्नुपर्ने निष्कर्ष निकालेका छन् । झाङको पतनलाई उनले ‘शेक्सपियरको नाटक’जस्तै त्रासदीपूर्ण बताएका छन्, जहाँ सीले सुरुमा आफ्ना शत्रुहरूलाई हटाए, त्यसपछि आफैंले नियुक्त गरेका व्यक्तिहरूलाई निसाना बनाए र अहिले आफ्ना पुराना र घनिष्ट मित्रहरूलाई समेत पछार्न छाडेका छैनन् ।
वाल स्ट्रिट जर्नलका अनुसार झाङमाथि चीनको आणविक हतियारसम्बन्धी मुख्य प्राविधिक तथ्यांक अमेरिकालाई चुहाएको र पदोन्नतिका लागि घुस लिएको जस्ता गम्भीर आरोपहरू लागेका छन् । यद्यपि, केही विज्ञहरूका अनुसार गोप्य सूचना चुहाएको आरोप सेनाभित्रको असन्तुष्टि साम्य पार्नका लागि मात्रै रचिएको पनि हुन सक्छ । सन् २०१२ मा सत्तामा आएदेखि सीले सेनालाई आधुनिक बनाउन मात्र नभई, पार्टी र आफ्नो रक्षाका लागि पूर्णरूपमा समर्पित बनाउन खोजिरहेका छन् । सिंगापुरका प्राध्यापक जेम्स चारका अनुसार यति धेरै सैन्य सम्भ्रान्तहरूलाई बर्खास्त गर्न सक्नुले शासनमा सीको स्थिति कति अजेय छ भन्ने देखाउँछ ।
हालको यो कदमले चिनियाँ सैन्य नेतृत्वलाई अहिले अस्तव्यस्त अवस्थामा पुर्याएको छ । शक्तिशाली केन्द्रीय सैन्य आयोगका ६ सदस्यमध्ये अब सीका साथमा केवल एक जना मात्र बाँकी रहेका छन् । जनरलको दर्जामा अब थोरै मात्र अधिकारीहरू बाँकी छन् । ताइवान कब्जा गर्ने बेइजिङको लक्ष्यमा यसले कस्तो प्रभाव पार्छ भन्ने अझै स्पष्ट छैन । तर, पीएलएको दैनिक कार्य सञ्चालनका लागि सीले दोस्रो तहका युवा र व्यावसायिक अधिकारीहरूलाई जिम्मेवारी सुम्पिरहेका छन् । विश्लेषकहरूका अनुसार सीले अहिलेको समयलाई ‘घर सफा गर्ने’ उपयुक्त मौकाका रूपमा लिएका छन्, ताकि भविष्यमा कुनै पनि सैन्य कारबाहीअघि सेना पूर्ण रूपमा उनको नियन्त्रणमा रहोस् ।