नेभिगेशन
उपत्यका

सिफलमा माथेमा स्मृतिसभा

काठमाडौं – सहिद धर्मभक्त माथेमाले प्राप्त गरेको सहादतको स्मरणमा काठमाडौंको सिफल उकालोमा स्मृति सभा आयोजना गरिएको छ । ८५ वर्षअघि उनलाई प्राणदण्ड दिइएको स्थानमा मंगलबार सहिद सप्ताह मूल समारोह समितिको आयोजनामा सभा गरिएको हो ।

सभामा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. केदारभक्त माथेमाले सहिदहरूको आदर्श नयाँ पुस्ताले नबुझे मानव अधिकार र नागरिक स्वतन्त्रता बारम्बार संकटमा पर्ने बताए । ‘माथेमा सम्पन्न परिवारका हुनुहुन्थ्यो, दरबारसम्म पहुँच थियो । तर व्यक्तिगत सुख–सुविधाभन्दा नागरिक स्वतन्त्रतालाई उहाँले प्राथमिकता दिनुभयो । त्यो आदर्श पाठ्यपुस्तकमै समेटेर नयाँ पुस्तालाई पढाउनुपर्छ,’ उनले भने ।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले निरंकुश शासनकालमा नागरिकले भोगेका क्रूरता र असमानता नयाँ पुस्ताले फेरि अनुभूति गर्नु नपरोस् भन्ने उद्देश्यले स्मृति सभा आयोजना गरिएको बताइन् । ‘धर्मभक्त माथेमामा राजनीतिक चेतना मात्र होइन, युवालाई परिचालन गर्ने क्षमता र शारीरिक सुगठनप्रतिको प्रतिबद्धता पनि थियो । राजालाई व्यायाम सिकाउने शिक्षक भएर पनि निरंकुश शासनविरुद्ध उभिनु उहाँको साहस थियो,’ उनले भनिन् । सहिदहरूको बलिदानीकै कारण आज नागरिकले आफ्ना विचार स्वतन्त्र रूपमा व्यक्त गर्न पाएको उनको भनाइ थियो । सभामा काठमाडौं महानगरपालिका–७ का वडाध्यक्ष विमल होडाले सहिदको सपना पूरा गर्न असल शासन र विधिको शासन संस्थागत हुनुपर्ने बताए । सिफल उकालोस्थित सहादत स्थलको संरक्षणका लागि गुरुयोजना बनाएर काम अघि बढाइएको उनले जानकारी दिए ।

माथेमा गुठीका अध्यक्ष नरेशभक्त माथेमाले धर्मभक्तको जीवनले राजनीति निस्वार्थ सम्भव छ भन्ने प्रमाण दिएको बताए । ‘नपुग्दो केही नभए पनि उहाँले नागरिक स्वतन्त्रताका लागि प्राण त्याग गर्नुभयो,’ उनले भने ।

विसं. १९९७ माघ १३ मा ३१ वर्षको उमेरमा धर्मभक्तलाई सिफलको बकाइनोको रुखमा झुण्ड्याएर प्राणदण्ड दिइएको थियो । तत्कालीन प्रजा परिषद्का संस्थापक सदस्य उनी मुलुकका प्रजातान्त्रिक आन्दोलनका प्रमुख सहिदमध्ये एक हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप उपत्यका