नेभिगेशन
प्रदेश

यसरी हुँदैछ बाघ गणना

बर्दिया (ठाकुरद्वारा)– प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यसबेला बर्दिया राष्ट्रिय निकुञ्जमा भइरहेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले बर्दिया निकुञ्ज र विश्व वन्यजन्तु कोषको सहयोगमा गणना गरिरहेको हो । अहिले निकुञ्ज भित्रका दुई ब्लकमध्ये पहिलो सकेर दोस्रोमा थालिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्बाहाम्फेका अनुसार गत शुक्रबारदेखि दोस्रो ब्लकका १७९ ग्रिडमा ३५८ वटा क्यामेरा जडान गरी बाघ गणना सुरु गरिएको छ ।

सन् २०२२ को तथ्यांकअनुसार बर्दियामा १२५ वटा बाघ थिए । नेपालमा बर्दियासँगै बाघ गणना चितवन, पर्सा, बाँके र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि गरिन्छ ।

बर्दियाको पहिलो ब्लकका २२५ ग्रिडमा ४५० क्यामेरा राखेर बाघ गणना गरिएको थियो । त्यहाँ चिसापानी पोष्ट, गैंडामचान, भुरीगाउँ, रम्बापुर, थुमेनी र ओखरीलगायत क्षेत्रमा गणना गरिएको थियो । ब्लकमा आठवटा क्याम्प हुन्छ, जसमा पाँचवटा बर्दियामा र तीनवटा बाँकेमा छ । क्यामेरा बाघ बढी हिँड्ने बाटो, पानीको मुहान, अन्य जनावरको बाटो, बाघको दिसा र पाइला भएको ठाउँमा राखिन्छ । प्रत्येक स्थानमा दुईवटा क्यामेरा राखेर दायाँबायाँ फोटो खिचिने व्यवस्था हुन्छ ।

दोस्रो ब्लक सकेपछि तेस्रो ब्लकमा बाँके राष्ट्रिय निकुञ्ज र दाङका केही क्षेत्र समेटिनेछ । माघ २ ९ देखि १८९ ग्रिडमा ३७८ क्यामेरा जडान गरी गणना सुरु हुने छ । प्रत्येक क्याम्पमा सात जनाको टोली रहनेछ, जसमा प्राविधिक र निकुञ्ज कर्मचारीले क्यामेरा निगरानी गर्छन् । क्यामेराले खिचेका फोटोको डाटा तीन/चार दिनमा संकलन गरिन्छ र फोल्डरमा राखेर बाघको पहिचान अनुसार संख्या निर्धारण गरिन्छ ।

यसपटक दाङको ताल क्षेत्रमा पनि बाघ गणना हुनेछ । कोषका प्रमुख तुम्बाहाम्फेका अनुसार चार वर्षको अन्तरालमा बाघले मान्छे मारेको घटना र बाघको गतिविधि अनुसार डिजिभन बन क्षेत्र तथा ताल क्षेत्रमा पनि गणना गर्न लागिएको हो ।

सन् २०२२ मा बाँके राष्ट्रिय निकुञ्जमा २५, चितवनमा १२८ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको तथ्यांक छ । क्यामेरा खिचेका फोटोको आधारमा बाघको पेट र पुच्छरको पाटा अलग गरेर संख्या निर्धारण गरिन्छ । यसरी संकलित डेटा विश्व बाघ दिवसको अवसरमा सार्वजनिक गरिनेछ । नेपालमा बाघ गणना सन् २००९ बाट नियमित रूपमा हुँदै आएको छ । यसरी प्रत्येक चार वर्षमा हुने बाघ गणना बर्दिया राष्ट्रिय निकुञ्जमा मात्र नभई बाँके, दाङ, चितवन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि विस्तार हुँदै आएको छ । गणना प्रक्रियाले बाघ संरक्षण र व्यवस्थापनमा महŒवपूर्ण भूमिका खेलिरहेको छ, जसले दीर्घकालीन संरक्षण रणनीति बनाउन सहयोग पुर्‍याउँछ ।

क्यामेरा जडानदेखि फोटो संकलन र गणना प्रक्रिया पूर्ण रूपमा वैज्ञानिक विधि अनुसार भइरहेको हुँदा बाघको वास्तविक संख्या यकिन गर्न मद्दत पुग्ने देखिन्छ । यसबाट नेपालमा बाघ संरक्षणको अवस्था र संरक्षण रणनीतिलाई अझ प्रभावकारी बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्