पोखरा, माघ १३
पोखरामा साइबर अपराधका घटनाहरू बढ्दो रहेको प्रहरीको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा साइबर अपराधसम्बन्धी २ सय १३ वटा उजुरी दर्ता भएका छन्, जसमध्ये १ सय २० वटामा पीडित महिला छन् ।
यसैगरी, अनलाइनमार्फत भएका विभिन्न प्रकृतिका ठगीका ६ सय ७ वटा उजुरी परेका छन् । ती उजुरीमा १९ करोड १९ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम ठगी भएको दाबी गरिएको छ । प्रहरीले यस्ता अपराधहरूमा विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाही गर्दै आएको छ । ऐनअनुसार कसुर प्रमाणित भएमा ३ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद, वा दुवै सजायको व्यवस्था छ । ओटीपी मागेर रकम ठगी गर्ने घटनामा भने प्रहरीले ठगी मुद्दाअन्तर्गत नै कारबाही अगाडि बढाउने गरेको छ ।
तर सामाजिक सञ्जालमार्फत हुने अपराधको अनुसन्धान चुनौतीपूर्ण बन्दै गएको प्रहरीको भनाइ छ । नेपालमा हाल टिकटक मात्र दर्तामा रहेको सामाजिक सञ्जाल हो भने फेसबुक, टेलिग्राम, एक्स (ट्विटर), डिस्कर्ड तथा विभिन्न खेलसम्बन्धी एपहरू दर्तामा छैनन् । यस्ता प्लेटफर्ममार्फत ठगी, यौन उत्पीडन, बालबालिकालाई कुलतमा लगाउने तथा नक्कली फेसबुक र एक्स आइडी प्रयोग गरी अपराध गर्ने प्रवृत्ति बढ्दो छ ।
चिट्ठा परेको, अनलाइन सपिङ गराइदिने, विदेशबाट पठाइएको पार्सल भन्सारमा रोकिएको भन्दै रकम माग्ने जस्ता बहानामा ठगी गर्ने गिरोहको चंगुलमा शिक्षित व्यक्तिसमेत फस्ने गरेका छन् ।
पोखरामा सोमबार आयोजित ‘अनलाइन स्क्याम तथा ठगीका प्रवृत्ति र त्यसबाट जोगिने उपाय’ विषयक कार्यक्रममा कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीले भने, ‘भन्न त नमिल्ला तर नपढेकाभन्दा पढेका मान्छे बढी फसेका छन् । फसिनुको मुख्य कारण लोभ हो । कतिपयले नाफाको काम गर्न लागेको कुरा छिमेकीलाई पनि भन्दैनन्, जबकि छिमेकीले राम्रो सुझाव दिन सक्थ्यो ।’ उनका अनुसार साइबर ठगीमा प्राध्यापकदेखि कर्मचारी र व्यापारीसम्म पीडित भएका घटना छन् ।
एसपी कार्कीले गोप्य फोटो तथा भिडियो सार्वजनिक गरिदिने धम्की दिई पटक–पटक रकम असुल्ने घटनाहरू पनि बढ्दै गएको बताए । यस्ता घटनामा पीडितले सकेसम्म पैसा दिइरहने र ठूलो रकम माग्न थालेपछि मात्र प्रहरीमा उजुरी गर्न आइपुग्ने पाइएको उनले उल्लेख गरे ।
‘नेपालको जनसंख्या करिब ३ करोड भए पनि नेपाल टेलिकम र एनसेलका सिम प्रयोगकर्ताको संख्या ३ करोड ११ लाख ३३ हजार पुगेको छ,’ उनले भने, ‘एकभन्दा बढी मोबाइल प्रयोग गर्नेको संख्या धेरै छ र अधिकांश ठगी मोबाइलमार्फत नै भइरहेको छ ।’ अनलाइन धम्की, साइबर बुलिङ, चरित्र हत्या, अपहरण, मानव बेचबिखन तथा गलत सूचना फैलाउने प्रवृत्ति नियन्त्रण गर्न प्रहरीलाई चुनौती थपिँदै गएकाले सतर्कता अझ आवश्यक भएको उनले बताए ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले साइबर अपराध नियन्त्रणका लागि प्रहर र समुदायबीच सहकार्य एवं निरन्तर सचेतनामूलक कार्यक्रम आवश्यक रहेको जोड दिए । पोखरा जेसिजका अध्यक्ष सुमन पहारीले लोभमा नपर्न र व्यक्तिगत सूचना सुरक्षित राख्न आग्रह गरे ।
कार्यक्रम संयोजक निश्चल खरेलले अहिलेको समयमा प्रहरीले सडक गस्ती मात्र होइन, कम्प्युटरमार्फत नागरिकको सुरक्षा गर्नुपर्ने अवस्था आएको बताए । पोखरा जेसिजका महासचिव सञ्जय पौडेलले साइबर आक्रमणबाट पीडितले घटना नलुकाई तुरुन्त प्रहरीलाई जानकारी दिन आग्रह गरे ।
यसै अवसरमा पोखरा उद्योग वाणिज्य संघ सामाजिक विकास केन्द्रका २९ जना कर्मचारीहरूलाई साइबर क्राइम तथा मानसिक स्वास्थ्यसम्बन्धी तालिम प्रदान गरिएको छ । भायनेटको आयोजनामा जिल्ला प्रहरी कार्यालय कास्कीले सहजीकरण गरेको उक्त तालिममा साइबर अपराधका प्रकार, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगी, डाटा सुरक्षा तथा कानुनी पक्षबारे जानकारी दिइएको थियो । मानसिक स्वास्थ्यसम्बन्धी सत्रमा भायनेटका प्रदेश प्रमुख डिकेन्द्र थापा मुख्य वक्ताका रूपमा सहभागी थिए ।