नेभिगेशन
दृष्टिकोण

राष्ट्रियसभा निर्वाचनले उब्जाएको प्रश्न

राष्ट्रियसभा निर्वाचनमा देखिएको अन्तर्घात कुनै एक प्रदेशको आकस्मिक घटना होइन बरु नेपालको समग्र राजनीतिक संस्कृतिमा गहिरिँदै गएको संरचनागत समस्या हो। कमजोर आन्तरिक लोकतन्त्रका कारण पार्टी अनुशासनभन्दा व्यक्तिगत स्वार्थ, गुटगत राजनीति र शक्ति समीकरण हावी हुँदै जाँदा आगामी चुनावमा अप्रत्याशित परिणाम, संगठनात्मक कमजोरी र राजनीतिक अस्थिरता अझ बढ्ने संकेत स्पष्ट देखिन्छ ।

हुन त राष्ट्रियसभा निर्वाचनको संरचना नै यस्तो छ, जहाँ मतदाता सीमित छन्— प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख, अध्यक्ष– उपाध्यक्ष मात्र हुन्छन् । प्रत्यक्ष जनमतभन्दा प्रतिनिधिको मनोविज्ञान, पार्टी अनुशासन, व्यक्तिगत स्वार्थ र शक्ति समीकरण निर्णायक हुने भएकाले यहाँ ‘पार्टीभन्दा व्यक्ति बलियो’ हुने अवस्था सजिलै देखिन्छ । कोशी प्रदेशमा देखिएको जस्तै, कडा ह्वीप हुँदाहुँदै पनि राष्ट्रियसभा निर्वाचनमा सांसद र स्थानीय जनप्रतिनिधिले आफ्नै गठबन्धनविरुद्ध मत दिनु सामान्य प्रवृत्ति जस्तै बन्दै गएको छ । यस्तो अवस्था बागमती, गण्डकी, लुम्बिनी, मधेश, कर्णाली र सुदूरपश्चिममा पनि कुनै न कुनै रूपमा दोहोरिएको पाइएको छ ।

बागमती प्रदेशमा विगतका राष्ट्रियसभा निर्वाचनहरू हेर्ने हो भने गठबन्धनको गणित बलियो हुँदाहुँदै पनि कतिपय उम्मेदवारले अपेक्षित मतभार प्राप्त गर्न नसकेको तथ्य भेटिन्छ । यसको मूल कारण पनि गुटगत राजनीतिको परिणाम हो । विशेष गरी ठूला दलहरू– नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रभित्र केन्द्रको निर्णय र प्रदेशस्तरको असन्तुष्टिबीचको दूरी प्रष्ट देखिन्छ । टिकट वितरणमा असन्तुष्टि, स्थानीय नेताहरूको बेवास्ता, केन्द्रले ‘थोपरेको’ उम्मेदवार भन्ने भावना, र व्यक्तिगत स्वार्थको टकरावले अन्तर्घातलाई मलजल गरेको छ । बागमतीजस्तो राजनीतिकरूपमा सचेत र प्रतिस्पर्धात्मक प्रदेशमा पनि नेताहरूबीचको अविश्वास यति गहिरो छ कि चुनावअघि सार्वजनिकरूपमा एकता देखिए पनि मतदानको गोप्य प्रक्रियामा त्यसको उल्टो व्यवहार देखिने गरेको पाइन्छ ।

गण्डकी प्रदेशमा पनि अवस्था फरक छैन । यहाँ साना दल र स्वतन्त्र प्रवृत्तिका जनप्रतिनिधिको भूमिका निर्णायक हुने गरेको छ । गठबन्धनको नाममा तालमेल भए पनि ‘कसले कसलाई कति सम्मान दियो’ भन्ने मनोवैज्ञानिक पक्षले ठूलो असर पार्छ । केही चुनावमा त आफ्नै दलका उम्मेदवारलाई हराउन गोप्य रणनीति बनाइएको चर्चा खुलेआम भएका थिए । यसले देखाउँछ कि राष्ट्रियसभा निर्वाचन पार्टीको संगठनात्मक स्वास्थ्य मापन गर्ने ‘एक्स–रे’ जस्तै बनेको छ । बाहिर एकता देखिए पनि भित्र असन्तुष्टि, ईर्ष्या र शक्ति संघर्ष गहिरो छ भन्ने कुरा पछिल्लो निर्वाचनले उजागर गरेको पाइन्छ ।

लुम्बिनी प्रदेशमा झन् रोचक अवस्था देखिन्छ । यहाँ दलहरूबीच मात्र होइन, एउटै दलभित्र पनि स्पष्ट ध्रुवीकरण देखिएको छ । नेताहरूको व्यक्तिगत प्रभाव, आर्थिक र सामाजिक सञ्जाल, तथा स्थानीय तहका प्रतिनिधिसँगको व्यक्तिगत सम्बन्धले मत प्रभावित हुने गरेको छ । कतिपय अवस्थामा उम्मेदवारको योग्यता वा राजनीतिक योगदानभन्दा पनि ‘कसले कति सहयोग गर्‍यो,’ ‘कसले टिकट दिलायो,’ ‘कसले बेवास्ता गर्‍यो,’ भन्ने आधारमा लेखाजोखासहित मतदान भएको सुनिन्छ । यस्तो प्रवृत्तिले पार्टी प्रणालीको मूल आत्मालाई नै कमजोर बनाउँछ ।

मधेश प्रदेशमा जातीय, क्षेत्रीय र पहिचानको राजनीति थप जटिल आयाम बनेको छ । यहाँ राष्ट्रिय दलहरूका साथै क्षेत्रीय दलहरूको उपस्थिति बलियो छ, जसका कारण गठबन्धनको गणित कागजमा जति सरल देखिन्छ, व्यवहारमा त्यति नै जटिल हुन्छ । मधेशका केही निर्वाचनमा गठबन्धनभित्रै ‘डिल’ गरेर अन्तर्घात गरिएको आरोप लाग्दै आएको छ । विशेष गरी केन्द्रमा भएको सत्ता समीकरण र मधेशका स्थानीय नेताहरूको अपेक्षा नमिल्दा असन्तुष्टि चुलिन्छ र त्यसको असर मतदानमा देखिन्छ । जुन पछिल्लो निर्वाचनमा २१ भन्दा बढी स्थानीय पालिका प्रमुख/उपप्रमुखले मतदानमा सहभागी नभएरै संकेत दिएको पाइन्छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिको संख्या तुलनात्मकरूपमा कम भएकाले त्यहाँ एक/दुई मतको अन्तरले ठूलो असर पार्छ । यी प्रदेशमा पनि पछिल्ला चुनावमा अन्तर्घातका घटना सार्वजनिक भएका छन् । विशेष गरी ‘हामीलाई केन्द्रले सधैं उपेक्षा गर्‍यो’ भन्ने भावना त्यहाँका नेताहरूमा गहिरो छ । जब टिकट वितरणमा केन्द्रमुखी निर्णय हुन्छ, तब स्थानीय नेताहरूले गोप्यरूपमा प्रतिवाद गर्ने माध्यमका रूपमा क्रस भोटिङलाई प्रयोग गर्छन् । यसले देखाउँछ कि समस्या कुनै एक प्रदेशको मात्र होइन, समग्र राजनीतिक संस्कृतिको हो ।

यी सबै तथ्यलाई जोडेर हेर्दा, राष्ट्रियसभा निर्वाचनमा देखिएको अन्तर्घात केवल आकस्मिक होइन, संरचनागत समस्या हो । दलभित्रको आन्तरिक लोकतन्त्र कमजोर हुनु, टिकट वितरण प्रक्रिया अपारदर्शी हुनु, नेताहरूबीच विश्वासको अभाव हुनु, र राजनीतिक नैतिकताको ह्रास हुनु यसका मुख्य कारण हुन् । जब कार्यकर्ता र जनप्रतिनिधिले पार्टीलाई आफ्नो साझा संस्था होइन, नेताहरूको निजी सम्पत्ति जस्तो ठान्न थाल्छन्, तब अनुशासनभन्दा व्यक्तिगत स्वार्थ हावी हुन्छ ।

अब प्रश्न उठ्छ— यदि यही प्रवृत्तिमा दलहरू आसन्न चुनावमा होमिए भने कस्तो परिणाम आउन सक्छ ? यसको पहिलो असर त दलहरूको संगठनात्मक शक्ति कमजोर हुनु हो । बाहिरबाट हेर्दा ठूलो दल देखिए पनि भित्रभित्रै फुट र अविश्वास बढ्दै गएको पाइन्छ । यसले चुनावी अभियानमा समेत असर पार्छ । कार्यकर्ताहरू मनदेखि खटिँदैनन्, उम्मेदवारप्रति प्रतिबद्धता कमजोर हुन्छ, र मतदातामा पनि ‘यी त आपसमा नै मिल्दैनन्’ भन्ने नकारात्मक सन्देश जान्छ ।

दोस्रो, मतदाताको विश्वास गुम्ने खतरा बढ्छ । जब आम नागरिकले नेताहरू नै गोप्यरूपमा आफ्नै दलका उम्मेदवारलाई हराउने खेल खेलिरहेको देख्छन्, तब उनीहरूलाई राजनीतिक प्रणालीप्रति नै वितृष्णा पैदा हुन्छ । लोकतन्त्रको आधार भनेकै विश्वास हो— मतदाताले दलप्रति, दलले आफ्ना प्रतिनिधिप्रति, र प्रतिनिधिले प्रणालीप्रति विश्वास गर्नु। अन्तर्घातको संस्कृति बलियो हुँदै गयो भने यो विश्वासको शृंखला टुट्दै जान्छ । तेस्रो, अप्रत्याशित परिणामहरू बढ्ने सम्भावना रहन्छ । यदि दलभित्र अनुशासन कायम भएन भने कागजमा बलियो देखिएको गठबन्धन व्यवहारमा कमजोर सावित हुन सक्छ । आगामी प्रतिनिधिसभा, प्रदेशसभा वा स्थानीय तहको चुनावमा पनि यस्तै ‘क्रस भोटिङ’ र ‘गुटगत राजनीति’ दोहोरियो भने ठूला दलहरूलाई नै घाटा हुन सक्छ । यसले साना दल, स्वतन्त्र उम्मेदवार वा नयाँ राजनीतिक शक्तिलाई फाइदा पुग्ने सम्भावना पनि बढाउँछ ।

चौथो, राजनीतिमा पैसाको भूमिका अझ बढ्न सक्छ । जब पार्टीको निर्णयभन्दा व्यक्तिगत फाइदा महत्त्वपूर्ण हुन्छ, तब ‘कसले कति दियो’ भन्ने आधारमा मत बदल्ने जोखिम बढ्छ । राष्ट्रियसभा निर्वाचनजस्ता अप्रत्यक्ष चुनावमा यो खतरा अझ बढी हुन्छ, किनकि मतदाता संख्या कम हुन्छ र प्रभाव पार्न सजिलो हुन्छ । यदि दलहरूले आन्तरिक सुधार गरेनन् भने यस्तो प्रवृत्तिले राजनीतिलाई झन् महँगो र अपारदर्शी बनाउनेछ ।

तर यसको अर्को पक्ष पनि छ । यस्ता अन्तर्घातका घटनाले दलहरूलाई आत्मसमीक्षा गर्न बाध्य पनि बनाउँछन् । यदि कुनै दलले गम्भीररूपमा बुझ्यो किन आफ्ना प्रतिनिधिले आफ्नै उम्मेदवारलाई भोट दिएनन्, र त्यसको आधारमा टिकट वितरण प्रक्रिया सुधार गर्‍यो, आन्तरिक लोकतन्त्र बलियो बनायो, गुटको राजनीतिलाई नियन्त्रण गर्‍यो भने भविष्यमा सकारात्मक परिवर्तन सम्भव छ । तर दुर्भाग्यवश, नेपालका अधिकांश दलहरूमा आत्मसमीक्षाभन्दा पनि दोषारोपण गर्ने प्रवृत्ति बलियो छ । हार भयो भने ‘फलानो गुटले धोका दियो’ भनेर आरोप लगाइन्छ, तर गुट किन बने, असन्तुष्टि किन चुलियो भन्ने मूल प्रश्नमा गहिरो छलफल नै हुँदैन ।

कोशी प्रदेशको घटनाले एउटा महत्त्वपूर्ण सन्देश दिएको छ— केन्द्रको गठबन्धन र प्रदेश–स्थानीय तहको मनोविज्ञान एउटै हुँदैन । यदि दलहरूले यो यथार्थ स्वीकार गरेनन् भने आगामी फागुन २१ गते हुने चुनावमा पनि यस्तै अप्रत्याशित नतिजा दोहोरिनेछ । गठबन्धन बनाउने कुरा मात्र पर्याप्त हुँदैन; गठबन्धनलाई तल्लो तहसम्म विश्वसनीय बनाउने, सबै घटकलाई सम्मान र अपनत्व महसुस गराउने काम झन् महत्त्वपूर्ण हुन्छ ।

यदि दलहरू यही शैलीमा अघि बढे भने आगामी चुनावहरूमा परिणाम अझ अस्थिर हुन सक्छ । कुनै पनि दलले स्पष्ट बहुमत पाउन कठिन हुनेछ, गठबन्धनहरू झन् अस्थायी र अवसरवादी बन्न सक्छन्, र राजनीतिक अस्थिरता दीर्घकालीन समस्या बन्न सक्छ । यसको असर शासन, विकास, नीति निर्माण सबै क्षेत्रमा पर्छ । त्यसैले राष्ट्रियसभा निर्वाचनमा देखिएको अन्तर्घातलाई केवल ‘चुनावी खेल’ भनेर बेवास्ता गर्नुहुँदैन; यो त नेपालको समग्र राजनीतिक संस्कृतिको गम्भीर संकेत हो ।

यदि दलहरू सचेत भए, आन्तरिक लोकतन्त्र मजबुत बनाए, पारदर्शी टिकट वितरण गरे, र कार्यकर्ता तथा जनप्रतिनिधिको आवाज सुन्न थाले भने यस्ता घटनाबाट पाठ सिकेर सुधारको बाटो लिन सकिन्छ । तर अहंकार, गुटगत स्वार्थ र शक्ति संघर्ष नै हावी रहिरह्यो भने कोशी प्रदेशमा देखिएको दृश्य भोलिका दिनमा देशभरको राजनीतिक रंगमञ्चमा बारम्बार दोहोरिनेछन् ।

स्वतन्त्र पत्रकार आचार्य समसामयिक विषयमा कलम चलाउँछन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्