सियोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटोमोबाइल, काठ र फार्मास्युटिकल्स लगायत दक्षिण कोरियाबाट आयात हुने सामानहरूमा कर बढाउने घोषणा गरेपछि दक्षिण कोरियाको सरकारले मंगलबार आपतकालीन बैठक बोलाएर स्थितिको मूल्यांकन गरेको छ ।
राष्ट्रपति ट्रम्पले सोमबार दक्षिण कोरियाले वासिङ्टनसँग यसअघि भएको व्यापार सम्झौताको पूर्ण पालना नगरेको आरोप लगाउँदै ती सामानहरूमा कर बढाउने बताएका हुन् । उनको घोषणाअनुसार हाल १५ प्रतिशत रहेको कर दर बढेर २५ प्रतिशत पुग्नेछ ।
तर, दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले अमेरिकी पक्षबाट यस्तो कर वृद्धि योजनाबारे आफूहरूलाई यसअघि कुनै आधिकारिक सूचना नआएको स्पष्ट पारेको छ । राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा लेख्दै ‘दक्षिण कोरियाको विधायिकाले अमेरिकासँग गरिएको सम्झौताअनुसार काम गरिरहेको छैन’ भन्ने दाबी गरेका छन् । उनले कोरियाली संसद्ले ‘हाम्रो ऐतिहासिक व्यापार सम्झौता लागू नगरेकाले’ करको दर बढाउने निर्णय लिनुपरेको हो भनेका छन् ।
यस घोषणापछि सियोलमा मंगलबार आपतकालीन बैठक बसेको थियो । उक्त बैठकमा हाल क्यानाडामा रहेका व्यापार तथा उद्योग मन्त्री किम जंग– क्वानले पनि भर्चुअल सहभागिता जनाएका थिए ।
बैठकपछि जारी विज्ञप्तिमा दक्षिण कोरियाली सरकारले अमेरिकी पक्षसँग भएको सम्झौता कार्यान्वयनप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै सालिन प्रतिक्रिया जनाउने बताएको छ । उसले वासिङ्टनले घोषणा गरेको कर वृद्धि तत्काल लागू नहुने र आवश्यक प्रशासनिक प्रक्रिया पूरा भएपछि मात्र प्रभावमा आउने विश्वास व्यक्त गरेको छ । यसैबीच, दक्षिण कोरियाका व्यापार मन्त्री किम यस विषयमा छलफल गर्न अमेरिकी वाणिज्य मन्त्री हावर्ड लुटनिकसँग भेटवार्ता गर्न वासिङ्टन जाने तयारीमा छन् ।
वासिङ्टन र सियोलबीच केही महिनाअघि मात्र व्यापार तथा सुरक्षा सम्झौता भएको पृष्ठभूमिमा घटनाक्रम विकास भएको हो । ती सम्झौताहरूले लामो समयदेखि चलेको तनावपूर्ण वार्तालाई सीमित गर्दै द्विपक्षीय सम्बन्धलाई नयाँ दिशामा लैजाने अपेक्षा गरिएको थियो । गत अक्टोबरमा दक्षिण कोरियाली समकक्षी ली जे म्युङसँग राष्ट्रपति ट्रम्पको भेटपछि अमेरिकी शुल्क कटौती र दक्षिण कोरियाबाट थप लगानीको प्रतिबद्धतासहित सम्झौतालाई अन्तिम रूप दिइएको थियो ।
तर त्यसयता उक्त सम्झौता दक्षिण कोरियामा कानूनी रूपमा अझै लम्बिने अवस्थामा रहेको छ । सियोलको राष्ट्रपति कार्यालयले नोभेम्बरमा यस सम्झौताले बाध्यकारी कानूनी दस्तावेजभन्दा बढी समझदारी ज्ञापनपत्रको स्वरूप लिएको तर्क गर्दै संसदीय स्वीकृतिको आवश्यकता नपर्ने जनाएको थियो ।
सम्झौताअनुसार वासिङ्टनले सवारी साधन, कार पार्ट्स र फार्मास्युटिकल्ससहित दक्षिण कोरियाली सामानहरूमा अधिकतम १५ प्रतिशतसम्म कर लगाउने व्यवस्था गरेको थियो ।
विशेषगरी, यस सम्झौताले दक्षिण कोरियाली कारहरूमा लाग्ने अमेरिकी शुल्क २५ प्रतिशतबाट घटाएको थियो । तर राष्ट्रपति ट्रम्पको पछिल्लो चेतावनी यदि कार्यान्वयनमा आयो भने त्यो व्यवस्था उल्टिनेछ ।
संयुक्त राज्य अमेरिकामा दक्षिण कोरियाको कुल निर्यातमध्ये करिब २७ प्रतिशत अटो उद्योगले ओगटेको छ, जुन देशको कुल कार निर्यातको लगभग आधा हिस्सा हो ।
उच्च कर दरमा पुनः फर्किनु परेमा दक्षिण कोरियाली निर्यात जापान र युरोपेली संघजस्ता अर्थतन्त्रहरूको तुलनामा कमजोर स्थितिमा हुनसक्ने विश्लेषकहरूको भनाइ छ, किनकि ती दुवैले अमेरिकासँग १५ प्रतिशत करमै सहमति गरिसकेका छन् ।
हालसम्म ट्रम्प प्रशासनले कर परिवर्तन लागू गर्न आवश्यक औपचारिक सूचनाहरू सार्वजनिक गर्न बाँकी नै छ । दक्षिण कोरियालाई लक्षित गर्दै आएको यो चेतावनी हालैका दिनहरूमा अमेरिकी राष्ट्रपतिको प्रमुख व्यापारिक साझेदारहरूमाथिको पछिल्लो कडा अभिव्यक्तिमध्ये एक हो ।
यसअघि राष्ट्रपति ट्रम्पले क्यानाडालाई चेतावनी दिँदै चीनसँग व्यापार सम्झौता गरेमा सीमापार आउने सबै सामानमा १०० प्रतिशत भन्सार शुल्क लगाइने चेतावनी दिएका थिए ।
त्यसैगरी, जनवरीको सुरुमा उनले ग्रिनल्यान्ड खरिद नभएसम्म धेरै युरोपेली राष्ट्रहरूमा कर लगाउने धम्की दिएका थिए र त्यसपछि पनि उनले ती धम्कीहरूलाई सार्वजनिक रूपमा दोहोर्याउँदै आएका छन् ।