नेभिगेशन
मनोरञ्जन

क्यामरुन बसाइ सर्दै

अमेरिकी चर्चित निर्देशक जेम्स क्यामरुन न्युजिल्यान्डतर्फ बसाइ सर्दैछन् । उनको नामले विश्वभरका सिनेमाप्रेमीको ध्यानाकर्षण हुनु स्वाभाविक छ, किनभने क्यामरुनले ‘टाइटानिक’, ‘अवतार’, ‘टर्मिनेटर’ र ‘अवतार: द वे अफ वाटर’ जस्ता ब्लकबस्टरमार्फत हलिउडका सफल फिल्मको इतिहास नै लेखिसकेका छन् । क्यानाडामा जन्मिएका ७१ वर्षीय जेम्स क्यामरुन अमेरिकाको क्यालिफोर्नियामा हुर्केबढेका हुन् । उनी ६–७ वर्षको छ“दा परिवार क्यानाडाबाट अमेरिकामा सरेको थियो । बाल्यकालदेखि नै विज्ञान र प्रविधिप्रति रुचि राख्ने क्यामरुनले टेक्सास र क्यालिफोर्नियामा पढे ।

उनी फिल्म र विज्ञानको मिश्रणमा आकर्षित भए । उनले क्यालिफोर्नियाको कलेज अफ सान्टा बार्बरामा अध्ययन गर्दा मेसिन इन्जिनियरिङ र विज्ञान विषय पढे, तर फिल्ममा गहिरो रुचि भएकाले पछि पटकथा लेखन र निर्माणतर्फ आकर्षित भए । यहींबाट उनको फिल्मी करियरको सुरु भएको हो ।

क्यामरुनका फिल्महरू प्राविधिक नवीनता र भिजुअल इफेक्टको उत्कृष्ट प्रयोगको लागि विश्वव्यापी रूपमा चर्चित छन् । विशेषगरी ‘अवतार’ शृंखलाले थ्री–डी टेक्नोलोजीमा नयाँ मापदण्ड तय गरेको थियो भने ‘टाइटानिक’ले सबैभन्दा बढी कमाइ गर्ने फिल्मको कीर्तिमान बनाएको थियो । यसैले उनलाई केवल निर्देशक नभई ‘सिनेमा इनोभेटर’को रूपमा समेत मानिन्छ ।

उनले न्युजिल्यान्डतर्फ बसाइ सर्ने निर्णयको मुख्य कारण वातावरणीय संरक्षण र प्राकृतिक सुन्दरतासँगको निकटता बताइएको छ । क्यामरुन लामो समयदेखि महासागरको अनुसन्धानमा रुचि राख्दै आएका छन् र समुद्री जीवन र पानी संरक्षणका विषयमा सक्रिय छन् । न्युजिल्यान्डको प्रशस्त हरियाली, पहाड र समुद्री क्षेत्रले उनलाई व्यक्तिगत जीवन र वैज्ञानिक अनुसन्धानको दृष्टिले उपयुक्त ठाउँ लागेका हुन् । त्यहाँको वातावरणीय नीति र जीवनशैलीले पनि उनका परिवारका सदस्यहरूलाई सहज महसुस गराएको छ ।

साथै, न्युजिल्यान्डले फिल्म निर्माणका लागि पनि आकर्षक वातावरण प्रदान गर्ने गरेको छ । वेलिङ्टन र क्विन्सटाउनजस्ता स्थानहरूले पहिले पनि ‘अवतार’ र अन्य अन्तर्राष्ट्रिय परियोजनाका लागि प्रभावशाली पृष्ठभूमि उपलब्ध गराइसकेका छन् । यसले क्यामरुनका आगामी परियोजनाहरूमा सहजता र सृजनात्मक स्वतन्त्रता दिने विश्वास गरिएको छ ।

विश्व सिनेमामा क्यामरुनको प्रभाव केवल आर्थिक रूपमा नभई प्रविधि र कथा भन्नुको शैलीमा पनि अद्वितीय मानिन्छ । उनका फिल्मले ब्लकबस्टर मनोरञ्जन मात्र नभई सामाजिक सन्देश र वातावरणीय चेतनामाथि पनि जोड दिएका छन् । न्युजिल्यान्डतर्फ बसाइ सर्दा उनी व्यक्तिगत रूपमा शान्त जीवन खोज्नुका साथै नयाँ परियोजनामा अनुसन्धान र विकासलाई प्राथमिकता दिने बताइएको छ ।

उनको यो निर्णयसँगै विश्व सिनेमाप्रेमीहरू नयाँ आस राखिरहेका छन्, क्यामरुनको आगामी फिल्महरूमा न्युजिल्यान्डको प्राकृतिक सौन्दर्य र प्रविधिको उत्कृष्ट संयोजन देख्न पाइनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्