नेभिगेशन
खेलकुद
टाइगर कप भलिबल

पुलिसविरुद्ध गण्डकीको सहज जित

छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबमाथि सहज जित निकालेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत मंगलबारको चौथो तथा अन्तिम खेलमा पुरुषतर्फ गण्डकीले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । गण्डकीले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१४ ले आफ्नो पक्षमा पार्‍यो । यसअघि भएको खेलमा पुरुषतर्फ पर्वत जिल्ला भलिबल संघले माल्दिभ्स भलिबल एसोसियसनलाई ३–० को सोझो सेटले पराजित गरेको थियो । पर्वतले पहिलो सेट २५–१७, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१६ ले जित निकालेको थियो ।

यसअघिका महिलातर्फका खेलमा न्यू डायमण्ड स्पोर्टस् क्लब र थाइल्याण्ड क्विन्सले जित निकालेका थिए । न्यू डायमण्डले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । यस्तै थाइल्याण्डले आर्मीलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलको सम्भावना जीवित राखेको छ । थाइल्याण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१६ ले सहज जित निकालेको हो । च्याम्पियनसिपअन्तर्गत बुधबार चार खेल हुनेछन् । महिलातर्फ पहिलो एपीएफ र पुलिस तथा दोस्रो खेल न्यू डायमण्ड र थाइल्याण्ड क्विन्सबीच हुनेछ । तेस्रो खेल पुरुषतर्फ पुलिस–माल्दिभ्स र एपीएफ–आर्मीबीच हुने तालिका छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् । महिलातर्फको फाइनल खेल आगामी शुक्रबार र पुरुषतर्फको फाइनल शनिबार हुनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्