पहाडी एवम् हिमाली जिल्लामा बुधबार वर्षा र हिमपात भएको छ । विभिन्न जिल्लामा बाक्लो हिउँ पर्दा सवारी आवागमन प्रभावित भएको छ । उच्च पहाडी भेगहरूसँगै काठमाडौं उपत्यकामा हलुका वर्षा हुनुका साथै चिसो बढेको छ ।
मौसम धुम्मिँदा आन्तरिक हवाई सेवा प्रभावित भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पहाडी र हिमाली जिल्लामा हिमपात भएको छ । बैतडीका उच्च भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको छ । यहाँका किसान गहुँ लगायत हिउँदे बालीलाई सिँचाई पुगेर सपिने भन्दै ढुक्क भएका छन् । ढोरपाटनसहित बागलुङका उच्च पहाडी क्षेत्रमा पनि हिमपातले डाँडापाखा सेताम्मे भएका छन् ।
ढोरपाटनमा धारामा पानी जमेको छ । स्थानीयका लागि हिँडडुल कठिन बनेको छ । ढोरपाटनसँगै निसीखोलाको रिग, पातीहाल्ने, खानीखोला, निसेलढोरमा पनि हिउँ परेको छ ।
मनाङ र मुस्ताङका विभिन्न भागमा गत मंगलबार रातिदेखि भइरहेको हिमपातको क्रम बुधबार पनि जारी रह्यो । डाँडाकाँडा सेताम्मे भएका छन् भने कागबेनी–कोरला सडक अवरुद्ध भएको छ । केही स्थानमा दुई फिटभन्दा बढी हिउँ जमेको छ । हिमपातले स्याउ, उवा, फापर, जौं र आलु लगायत बाली सप्रिने आशा बढाएको छ ।
उता हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोटमा बुधबार रातिदेखि हिउँ परिरहेको छ । हुम्ला सदरमुकाम सिमकोटसहित उच्च भेगमा एक फिट हिउँ जमेको छ । हिमपातले हवाई सेवा अवरुद्ध भएको छ भने सडक पनि बन्द भएको छ ।
डोल्पाको जगदुल्ला गाउँपालिका–२ काइगाउँमा बुधबार घरको छानोमा परेको हिउँ पन्छाउँदै स्थानीय । गत मंगलबार रातिदेखि डोल्पाका विभिन्न भागमा भएको भारी हिमपातले जनजीवन कष्टकर बनेको छ । तस्बिर : रासस
बाजुराका विभिन्न भेगमा हिमपातसँगै चिसो बढेको छ । बाक्लो हिउँ पर्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बागलुङ र पूर्वी रुकुम सिमानामा पातीहाल्ने क्षेत्रमा सडक बन्द भएको छ । यसले सयौं यात्रु अलपत्र परेका छन् । आवागमन अवरुद्धले लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प भएका छन् ।
म्याग्दीको धवलागिरी–१ गुर्जा र अन्नपूर्ण–६ घोडेपानीमा बुधबार हिमपात भएको छ । हिउँ पररे सडक अवरुद्ध भएको छ । गाउँले घरभित्रै आगो तापेर बसेका छन् । पर्यटकीय स्थल घोडेपानी, पुनहिल, खोप्रा र मोहरेडाडा हिउँले ढाकिएको छ । यसले होटल व्यवसाय र पर्यटन गतिविधि प्रभावित भएको छ ।
उत्तरी गोरखामा बुधबार बिहानदेखि भारी हिमपात भएको छ । चुमनुब्रीका साम्दो, सामागाउँ, ल्हो, स्याला, चुम्चेत र अन्य गाउँमा हिउँ परेको छ । रुकुमपूर्वका उच्च भेगमा भारी हिमपात हुँदा नागरिकलाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्रशासनले अनुरोध गरेको छ । हिमाली तथा उच्च लेकाली क्षेत्रमा हिउँ र तल्लो क्षेत्रमा वर्षा भइरहेका कारण सडक, यातायात र जनजीवन प्रभावित भएको छ । मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन् । प्रशासनले हिउँ पन्छाउने काम सुरु गरेको छ ।
मुगु जिल्लामा पनि हिमपात भएको छ । लामो समयदेखि वर्षा नभएर खडेरी प्रभावित क्षेत्रहरूमा हिउँसँगैको वर्षाले कृषकले राहत महसुस गरेका छन् । यसले गहुँ, जौ, उवा, स्याउ, आरु, ओखर, नासपाती लगायतका बोटबिरुवामा सिँचाई पुगेको छ । बाली सप्रिने सम्भावना बढेको किसानले बताएका छन् ।
मनाङमा कात्तिक १० र ११ गतेको हिमपातपछि यस वर्ष मंसिर र पुस महिनामा हिमपात भएको थिएन । बुधबार माथिल्लो मनाङमा डेढ फिट हिउँ जमेको छ । तल्लो भागमा हिमपातसहित वर्षा भइरहेको छ ।
काठमाडौं उपत्यकासहित देशभर बुधबार बिहानदेखि बाक्लो कुहिरो र बादल छाएको छ । सडक यातायात, हवाई उडान र जनजीवन प्रभावित भएका छन् ।
पहाडी र हिमाली जिल्लामा वर्षा र हिमपातले जनजीवन थप कष्टकर बनेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षा जारी छ । उच्च क्षेत्रमा हिमपातले सडक अवरुद्ध र दैनिक कामकाज प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यो प्रभाव केही दिन कायम रहने देखिएको छ ।