नेभिगेशन
राजनीति

जसपाद्वारा आठ नेतालाई निष्कासनको कार्बाही

काठमाडौं – जनता समाजवादी पार्टी नेपालले पूर्वमन्त्री समेत रहेका प्रदीप यादवसहित ८ जनालाई पार्टीबाट निष्कासन गरेको छ । प्रतिनिधिसभा निर्वाचनमा पार्टीको नीति–निर्णयविपरीत गएको भन्दै कार्बाही गरेको हो ।        

जसपा नेपालले यादवसहित बारामा चन्दनकुमार सिंह, आत्माराम साह, कमरुल्लाह अन्सारी, नवलकिशोर सिंह, सर्लाहीका उदयकान्त मिश्र, महोत्तरीका हरिनारायण यादव र डा. शिवजी यादवलाई कारबाही गरेको भन्दै बुधबार विज्ञप्ति जारी गरेको हो । कार्बाही गरेको भनिएकाहरू पार्टीबाट टिकट नपाएपछि धेरैजसो विभिन्न दलबाट उम्मेदवार बनेका छन् । प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ताको पूर्वसन्ध्यामा प्रदीप यादव जसपा नेपाल छाडेर एमाले प्रवेश गरेका थिए । एमाले प्रवेशसँगै उनले पर्सा–१ बाट उम्मेदवारी पनि दिएका छन् । उनी अहिले चुनावी प्रचारप्रसारमा व्यस्त छन् । पार्टी छाडेको एक साताभन्दा बढी भइसकेपछि जसपा नेपालले यादव लगायतलाई कारबाही गरेको भन्दै विज्ञप्ति जारी गरेको हो । उनीहरूले पार्टीको आधिकारिक उम्मेदवारहरूका विरुद्ध उम्मेदवारी दिने तथा पार्टीको हित विपरीत कार्य गरेकोले निष्कासन गरिएको पार्टीका संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवले जारी गरेको विज्ञप्तिमा छ ।            

पटक–पटक मन्त्रीसमेत भइसकेका प्रदीप यादव पर्सा–१ मा प्रभावशाली नेतामा पर्छन् । उनी यसअघि पनि उनले गठबन्धन सरकारमा सहभागी हुने सवालमा जसपाबाट छुट्टिदै उपेन्द्र यादवसँग कित्ताकाट गरेका थिए । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पर्सा–१ मा जसपा नेपालबाट उनी २० हजार ९ सय १७ मतले विजयी हुँदा निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदीले २० हजार ९ सय १७ र तेस्रो बनेका राप्रपाका किरणमान डंगोलले २ हजार ६ सय ५९ मत पाएका थिए । त्यसअघि २०७४ को निर्वाचनमा यादव २१ हजार १ सय ३२ मतका साथ विजयी भएका थिए । निकटतम प्रतिष्पर्धी कांग्रेसका अनिलकुमार रुंगटाले १६ हजार ४ सय ८१ र तेस्रो स्थानमा रहेका एमालेका विचारीप्रसाद यादवले ५ हजार ४ सय १८ मत ल्याएका थिए । पर्सा–१ मा यसपटक जसपाले रामनरेशप्रसाद यादवलाई उम्मेदवार बनाएको छ । एमालेबाट प्रदीप यादव उठेका छन् भने कांग्रेसले अनिलकुमार रुंगटालाई उठाएको छ । रास्वापाबाट बुद्धिप्रसाद पन्त, राप्रपाबाट नन्दकिशोर प्रसाद श्रीवास्तव उम्मेदवार छन् । उता बारा–२ मा चन्दनकुमार सिंहले रास्वापाबाट उम्मेदवारी दिएका छन् । कार्बाहीमा परेको भनिएका बारा–१ का कमरुल्लाह अन्सारी जनमत र सर्लाही–४ का उदयकान्त मिश्र राष्ट्रिय मुक्ति पार्टीबाट उम्मेदवार छन् भने महोत्तरी–३ का हरिनारायण यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्