नेभिगेशन
खेलकुद

विदेशी खेलाडी काण्डपछि शीर्ष फुटबलरहरूद्वारा सामूहिक राजीनामा

क्वालालम्पुर – एसियन कप छनोट खेलमा विदेशमा जन्मिएका खेलाडी उतारेको विषयमा छानबिन तीव्र भइरहेका बेला मलेसियाली फुटबलका शीर्ष अधिकारीहरूले पद त्याग गरेका छन् ।              

मलेसियाली फुटबललाई घेरेको जारी संकट अझ गहिरिएको छ । देशको फुटबल संघको सम्पूर्ण कार्यकारी समिति सामूहिक रूपमा राजीनामा दिएपछि यो संकटले नयाँ मोड लिएको हो । विदेशमा जन्मिएका खेलाडीलाई उतार्न प्रयोग गरिएको नक्कली कागजातसम्बन्धी योग्यताका विवादका कारण मलेसियाली फुटबल गम्भीर आलोचनामा परेको छ ।                

फुटबल एसोसिएसन अफ मलेसिया (फाम) को कार्यकारी समितिले बुधबार राजीनामा दिएको हो । मलेसियाली फुटबलको सुशासन र व्यवस्थापनमाथि तीव्र छानबिन भइरहेका बेला यो निर्णय आएको हो । कार्यवाहक फाम अध्यक्ष युसुफ महादीले भने, “यी राजीनामाहरू संघको प्रतिष्ठा र संस्थागत हितको संरक्षण गर्न तथा मलेसियाली फुटबल समग्रमा नकारात्मक असर पार्न सक्ने थप जोखिमलाई कम गर्नका लागि दिइएका हुन् ।”                  

उनका अनुसार कार्यकारी समितिको राजीनामाले “फिफा र एसियन फुटबल कन्फेडेरेसनलाई फाम भित्रका शासकीय, प्रशासनिक र प्रक्रियागत विषयहरूलाई स्वतन्त्र रूपमा मूल्यांकन, समीक्षा र आवश्यक परे सम्बोधन गर्न उपयुक्त वातावरण प्रदान गर्नेछ ।”    

२०२५–२९ कार्यकालका लागि ११ महिना अघि निर्वाचित सम्पूर्ण समिति सदस्यहरूले संघको विश्वसनीयता जोगाउन सर्वसम्मत र स्वेच्छिक निर्णयका रूपमा तत्काल प्रभाव हुने गरी पद त्याग गरेका हुन् ।              

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सेप्टेम्बरमा विदेशमा जन्मिएका सात खेलाडीलाई एक वर्षका लागि निलम्बन गरेको थियो र उनीहरू मलेसियाली मूलका हुन् भनी झुट्टा कागजात पेश गरेको अभियोगमा फामलाई ४ लाख अमेरिकी डलर जरिवाना गरेको थियो । फामले ती प्रतिबन्धविरुद्ध अपिल गरेको थियो तर फिफाको एक समितिले त्यसलाई अस्वीकार गर्दै संघले “कुनै देखिने अनुशासनात्मक कारबाही नगरेको” भन्दै कडा शब्दमा आलोचना गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।              

त्यसपछि फामको आचरण र शासकीय संरचनाबारे पूर्ण छानबिन गर्न आदेश दिइएको थियो । यसपछि फामले स्विट्जरल्यान्डस्थित खेलकुद मध्यस्थता अदालत (कोर्ट अफ आर्बिट्रेशन फर स्पोर्ट– कास) मा अपिल दायर गरेको छ, जहाँ यो मुद्दा अझै विचाराधीन अवस्थामा छ । तर मंगलबार ती खेलाडीहरूलाई राष्ट्रिय टिमबाट खेल्न अनुमति दिइयो, किनकि कासले अपिलमाथि सुनुवाइ भइरहँदा फिफाले लगाएको निलम्बन अस्थायी रूपमा रोकिदिएको थियो ।              

ती खेलाडी अर्जेन्टिना, ब्राजिल, नेदरल्याण्ड्स र स्पेनका नागरिक थिए । फिफाका नियम उल्लङ्घन गर्दै उनीहरूलाई प्राकृतिककरण गरिएको आरोप छ । उनीहरूले २०२७ एसियन कप छनोटको एक खेल खेलेका थिए, जसमा मलेसियाले भियतनामलाई हराएको थियो । जून महिनामा भएको एसियन कप छनोट खेलमा मलेसियाले भियतनामलाई ४–० ले पराजित गरेपछि उजुरी परेपछि फिफाले यो छानबिन सुरु गरेको थियो ।                  

कासले आफ्नो ‘स्टे अफ एक्जिक्युसन’ (कारबाही स्थगन) को अनुरोध स्वीकृत गरेको फामले जनाएको छ । यसअनुसार अन्तिम फैसला नआएसम्म ती सात खेलाडीहरूले सबै फुटबलसम्बन्धी गतिविधिमा सहभागिता जनाउन पाउनेछन् । ती खेलाडीहरू फाकुन्डो गार्सेस, रोड्रिगो होलगाडो, इमानोल माचुका, जोआओ फिगुएइरेडो, गाब्रिएल पाल्मेरो, जोन इराजाबाल र हेक्टर हेभेल हुन्, जो सबै ‘हरिमाउ मलाया’ राष्ट्रिय टिमका लागि खेलिसकेका छन् ।                  

फामको विज्ञप्तिमा भनिएको छ, “यसको अर्थ फिफाले लगाएको १२ महिनाको निलम्बन अस्थायी रूपमा हटाइएको छ । कासले अन्तिम निर्णय नदिएसम्म उनीहरू आफ्नो करियर जारी राख्न र फुटबलसम्बन्धी गतिविधिमा सहभागी हुन पाउनेछन् ।”               

अन्तिम फैसला कहिले आउने हो भन्नेबारे भने  केही बताइएको छैन । गत महिना फिफाले खेलाडी अयोग्यताको कारण देखाउँदै मलेसियाका तीन खेलको नतिजा उल्ट्याइदिएको थियो । पछिल्लो निर्णयमा फिफाको अनुशासन समितिले ती खेलाडी सहभागी भएका तीन मैत्रीपूर्ण खेलका नतिजासमेत परिवर्तन गरेको  छ—मे २९ मा केप भर्डे, सेप्टेम्बर ४ मा सिंगापुर र सेप्टेम्बर ८ मा प्यालेस्टाइनविरुद्धका खेलहरू ।                

फिफाका प्रवक्ताले भने, “तीनै खेल ३–० को स्कोरसहित पराजयका रूपमा घोषणा गरिएका छन् र फामलाई १० हजार स्विस फ्रांक (करिब १३,०६० अमेरिकी डलर) जरिवाना गरिएको छ । यो निर्णय अपिलको अधीनमा छ ।”              

ती खेलहरूमा मलेसियाले केप भर्डेसँग १–१ को बराबरी खेलेको थियो भने सिंगापुर र प्यालेस्टाइनलाई क्रमशः २–१ र १–० ले हराएको थियो । यो काण्डले मलेसियामा ठूलो आक्रोश जन्माएको छ । समर्थकहरू र केही सांसदहरूले फाम तथा खेलाडीहरूलाई नागरिकता प्रदान गर्ने सरकारी निकायहरूमाथि कारबाहीको माग गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्