नेभिगेशन
अर्थतन्त्र

चुँदाराको पेसा संकटमा

गुल्मी । गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा संकटमा पर्दै जान थालेको छ । चुँदारा समुदायले परम्परागत रूपमा काठबाट कुँदेका सामग्री बिक्री गरेर आफ्नो जीविकोपार्जन गर्दै आएका थिए । आजभोलि प्रविधिको विकाससँगै बजारमा आधुनिक प्रविधिबाट निर्मित प्लास्टिकका भाँडाहरू भित्रिएसँगै आफ्नो पेसा संकटमा परेको मालिका गाउँपालिका–७ घमिरका नरबहादुर कार्कीले बताए ।              

आधुनिक प्रविधिसँगै स्थानीय बजारमा सुपथ मूल्यमा आकर्षक देखिने आधुनिक किसिमका भाँडाकुँडाहरू प्रयोगमा आउन थालेपछि चुँदारा समुदायको पुर्ख्याैली पेसा संकटमा पर्न थालेको कार्कीले बताए । ग्रामीण क्षेत्रमा गिठीको काठबाट निर्माण गरिएका ठेका, आरी जस्ता भाँडाहरू दही र मही राख्नका लागि प्रयोग गरिन्छ । काठका भाँडामा राखेको दही र मही चाँडो नबिग्रिनेहुँदा खानको लागि निकै स्वादिलो र राम्रो मानिन्छ ।                

पछिल्लो समयमा बिस्तारै गाउँघरमा काठबाट निर्मित सामग्रीहरू बिस्तारै लोप हुँदै जान थालेको मुसिकोट नगरपालिका–२ का ज्ञानबहादुर नेपाली बताउँछन् । नयाँ पुस्ताहरू विस्तारै गाउँ छोडेर सहर झर्ने, विदेश जाने र पुराना पुस्ताहरू विस्तारै उमेरसँगै सकिदै जान थालेपछि यस्तो समस्या आएको उहाँले बताउनुभयो । परम्परागत पेसा र पुराना सामग्रीहरूको संरक्षण गर्नका लागि स्थानीय पालीकाहरूले खासै चासो देखाएका छैनन् । पालिकाले प्रस्तुत गर्ने वार्षिक नीति तथा कार्यक्रम र बजेटमा खासै प्राथमिकता नदिएको चुँदारा समुदायको गुनासो छ ।              

परम्परागत पेसाको संरक्षण र त्यसको बजारीकरणमा खासै चासो नदिँदा गाउँघरमा विस्तारै काठका भाँडाहरू लोप हुँदै जान थालेका हुन । बजारमा पाइने प्लास्टिकबाट निर्मित भाँडाहरू झट्ट देख्दा आकर्षक र राम्रा र चिटिक्क देखिने र मूल्य पनि काठका भाँडाको तुलनामा सस्तो पर्ने भएका कारण पनि यस्तो समस्या आएको गुल्मी उद्योग संघका वरिष्ठ उपाध्यक्ष जनक पन्तले बताए । यस्ता प्रकारका परम्परागत सामग्री र वस्तुहरूको संरक्षण, संवर्द्धन एवं प्रवर्द्धनका लागि पालिकाहरूले थप सहयोग पुर्‍याउनुपर्नेमा उनले जोड दिए ।                    

परम्परागत शैलीबाट निर्माण हुने सामग्रीहरूको उत्पादन गर्न समय धेरै लाग्ने र अलि खर्चिलो हुने बताइएको छ । परम्परागत रूपमा उक्त पेसा गर्दै आएका व्यवसायीहरूले पछिल्लो समयमा काठका भाँडा बनाउने पेसाबाट आफ्नो गुजारा चलाउन समेत गाह्रो भएको बताउँछन् । आफूले निर्माण गरेका सामग्री बिक्रीका लागि बोकेर गाउँगाउँमा डुलाउँदा कहिलेकाही बिक्री नहुँदा त्यत्तिकै फर्कनुपरेको छत्रकोट गाउँपालिका–१ हुँगाका यमन सुनारको गुनासो छ ।                      

गाउँघरमा गिठीको काठबाट निर्माण गरिएका ठेकाको मूल्य बजारमा आकारअनुसार ७०० देखि सात हजारसम्म पर्ने गर्दछ । जिल्लामा पछिल्लो समयमा आयोजना गरिने मेला महोत्सवलगायत सहकारी पसल र कोसेली घरमा भने फाट्टाफुट्ट रूपमा यस्ता प्रकारका सामग्रीहरू बिक्रीका लागि राखिने गरिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्