नेभिगेशन
प्रदेश
कमला नदीमा अस्थायी डाइभर्सन

१४ वर्षदेखि अधुरो पुलले अझै अन्योल

सिरहा, माघ १५        

तराई–मधेसको लाइफलाइन मानिने हुलाकी राजमार्गअन्तर्गत सिरहा–धनुषा सीमामा पर्ने कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण भएसँगै लामो समयदेखि सास्ती खेप्दै आएका स्थानीय बासिन्दा र यात्रुले राहत महसुस गरेका छन् । ह्युमपाइप प्रयोग गरी बनाइएको डाइभर्सन सञ्चालनमा आएपछि साना–ठूला सवारीसाधनसहित अत्यावश्यक सेवाका गाडीहरू सहज रूपमा नदी वारपार गर्न थालेका छन् ।            

नदीमा ह्युमपाइप राखेर अस्थायी आवतजावतको व्यवस्था मिलाइएको हो । करिब एक करोड रुपैयाँ लागतमा हुलाकी सडक आयोजना कार्यालयको समन्वयमा विजय एन्ड सन्स कन्स्ट्रक्सनले डाइभर्सन निर्माण गरेको जनाइएको छ । डाइभर्सन सञ्चालनमा आएपछि मोटरसाइकल, निजी सवारीदेखि सार्वजनिक यातायातसम्म निर्वाध रूपमा चल्न थालेका छन् ।            

सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवका अनुसार हप्तादिन अघिदेखि नै उक्त डाइभर्सन भएर सार्वजनिक यातायात पनि चल्न थालेको छ । ‘हाल सबै प्रकारका गाडी सहजसँग आवतजावत गरिरहेका छन् । छोटो दूरीबाट मधेस प्रदेशको राजधानी जनकपुर जाने यात्रुहरूलाई ठूलो राहत पुगेको छ,’ उनले भने ।                

वर्षौंदेखिको सास्तीपछि अस्थायी राहत                

कमला नदीमा पक्की पुल निर्माण नहुँदा स्थानीयवासी वर्षौंदेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए । यसअघि सिरहा नगरपालिकाको पहलमा स्थानीयले बाँसको पुल बनाएका थिए, जहाँ नियमविपरीत शुल्क तिरेर जोखिम मोलेर नदी पार गर्नुपर्ने अवस्था थियो । बर्खायाममा बाँसको पुल बाढीले बगाउँदा डुंगाको सहारामा जोखिमको यात्रा गर्नुपर्ने बाध्यता थियो भने सुक्खा समयमा समेत लामो घुमाउरो बाटो प्रयोग गर्नुपथ्र्यो । डाइभर्सन बनेसँगै दैनिक आवत–जावत सहज भएको छ ।          

१४ वर्षदेखि अधुरो पक्की पुल          

कमला नदीमा ४६९–४७० मिटर लामो पक्की पुल निर्माणको काम सुरु भएको १४ वर्ष बितिसक्दा पनि अझै सम्पन्न हुन सकेको छैन । २०६८ जेठ ३१ मा तीन वर्षभित्र सम्पन्न गर्ने गरी सुरु गरिएको पुल निर्माणको काम २०७१ मंसिर ३० मा सकिनुपर्ने सम्झौता थियो । दुईपटक म्याद थपेर २०७५ मंसिरसम्म समय दिइए पनि ठेकेदार कम्पनीको लापरबाहीका कारण पूरा हुन सकेन ।                

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका अनुसार १२ सय मिटर चौडाइका दुई बाँधबीच ४७० मिटर लामो पुल निर्माणका लागि पप्पु लुम्बिनी जेभी काठमाडौंले २८ करोड १५ लाख रुपैयाँमा ठेक्का लिएको थियो । २०७८ असारसम्म ८३ प्रतिशत भौतिक र ८२ प्रतिशत वित्तीय प्रगति भइसकेको अवस्थामा २०७८ असार १७ मा आएको बाढीले दुईवटा पिलर भासिँदा चारवटा स्ल्याबमा क्षति पुगेपछि पुल पुनः अलपत्र पर्‍यो ।              

गत मंसिर ५ मा तत्कालीन भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले पुलको स्थलगत अनुगमन गर्दै पुनर्निर्माण कार्य तत्काल अघि बढाउन निर्देशन दिएका थिए । काम सन्तोषजनक नभए ठेक्का तोड्ने चेतावनी दिँदै उनले अस्थायी रूपमा आवतजावतको व्यवस्था मिलाउन निर्देशन दिएका थिए । सोही निर्देशनपछि निर्माण कम्पनीले ह्युमपाइप राखेर डाइभर्सन तयार पारेको हो ।        

पप्पु कन्स्ट्रक्सन कालोसूचीमा परेपछि हाल लुम्बिनी बिल्डर्सले पुल निर्माणको काम गरिरहेको छ । निर्माण कम्पनीका साइट इन्चार्ज सुदीप थापाका अनुसार अहिले दैनिक ४०–५० जना कामदार फिनिसिङ र मर्मत कार्यमा खटिएका छन् । उनले भने, ‘आगामी असार मसान्तभित्र पुलबाटै सवारीसाधन सञ्चालन हुने गरी काम सम्पन्न गर्ने लक्ष्य छ ।’                  

डाइभर्सनले तत्कालका लागि राहत दिएको भए पनि स्थानीय बासिन्दा दीर्घकालीन समाधान पक्की पुल नै भएको बताउँछन् । स्थानीय युवा सन्तोष यादव भन्छन्, ‘डाइभर्सन अस्थायी सहारा हो । अब तोकिएको समयमै पुल निर्माण सम्पन्न हुनुपर्छ । १४ वर्षदेखि झेल्दै आएको समस्याको स्थायी समाधान यही हो ।’              

सरोकारवालाले अस्थायी उपायमा सीमित नभई वर्षौंदेखि अलपत्र परेको कमला पुल निर्माणलाई तीव्रता दिन सम्बन्धित निकायसँग माग गरेका छन् । उनीहरूको भनाइमा, हुलाकी राजमार्गअन्तर्गत कमला पुल सम्पन्न हुनु नै मधेसको जीवनरेखा सुचारु हुने दीर्घकालीन समाधान हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्