नेभिगेशन
दृष्टिकोण

सहिद, जेनजी र निर्वाचन

जेनजी आन्दोलनका सहिदहरूले नव–नेपाल निर्माणका आधार बसाएर गएका छन् । अब सबै राजनीतिक शक्तिले पुस्तान्तरण, सुशासन र उन्नत समाज निर्माणका लागि जुट्नुपर्छ, त्यही नै जनेजी सहिदहरूप्रतिको सच्चा सम्मान हुनेछ ।

नेपालमा माघ १० देखि एक सप्ताहसम्म सहिद दिवस मनाउने चलन छ । यस सन्दर्भमा मुलुक, जनता, स्वाधीनता, लोकतन्त्र, सम्प्रभुता, प्रगति आदि आदिका लागि आफ्नो जीवनको बलिदान दिने सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति हार्दिक श्रद्धाञ्जली एवं नमन । हालै केपी नेतृत्वको सरकारले यही भाद्र २३ एवं २४ गते गरेको ७४ जनाको नरसंहारमा शहादत प्राप्त ४५ जना सहिदप्रति हार्दिक नमन जसको कारण सुशासनयुक्त भ्रष्टाचारमुक्त नौलो नेपालको आशा गर्ने स्थिति बनेको छ ।              

नेपालमा थुप्रै ऐतिहासिक घटनाहरू घटेका छन् । जसले लामो समयसम्म नेपाललाई राजनीतिक दृष्टिकोणले मात्र नभई बहुआयामिक ढंगबाट प्रमावित गरेको पाइन्छ । एकीकरण आफैंमा एउटा ऐतिहासिक महत्त्वपूर्ण घटना हो । यसका नायक पृथ्वीनारायण शाहलाई जति आभार व्यक्त गरे पनि कम हुन्छ । सुगौली सन्धि, कोतपर्व, भण्डारखाल पर्व, राजदरबारको आन्तरिक षड्यन्त्र, २००७ साल, प्रजा परिषद् लगायत राजनीतिक दलहरूको स्थापना, राणा नेकाको गठबन्धन सरकार, संविधान सभा कि प्रतिनिधिसभाको निर्वाचन, बीपीको नेतृत्वमा नेकालाई दुई तिहाइ बहुमत प्राप्त हुनु, महेन्द्रले कुगर्नु, दलहरू प्रतिबन्धित हुनु, संसद् विघटन हुनु एवं राजतन्त्रबीच, संघर्ष बढ्दै जानु, मेलमिलापको नीति लिएर बीपीको नेपाल प्रवेश, ०३६ साल, ०४६/०४७ साल, संवैधानिक राजतन्त्रको संवैधानिक व्यवस्था, नेकपा एमालेका मनमोहन एवं मदन भण्डारीको नेतृत्वमा उदय, दलहरूबीचमा प्रतिशोधयुक्त तिक्तता, माओवादी ‘जनयुद्ध’ राजदरबार हत्याकाण्ड, ज्ञानेन्द्रको सत्तालिप्सा, जनआन्दोलन, संसद् पुर्नस्थापना, राजतन्त्र समाप्तिको घोषणा, संविधान सभाको घोषणा, संविधान सभाको निर्वाचन २०७२ सालमा नयाँ संविधानको निर्माण आदिहरू केही प्रतिनिधिमूलक घटना हुन् । यसै क्रममा दोस्रो विश्वयुद्ध, मित्रशक्तिको विजय, संयुक्त राष्ट्र संघको स्थापना, दुई ध्रुवीयरूपमा विश्व विभाजित, स्वतन्त्रताको लहर, चीन–भारतको उदय, पाकिस्तान निर्माण, सिक्किम भारतमा विलय, बंगालेदशको निर्माण, सैनिक संगठनहरूको निर्माण, असंलग्न परराष्ट्र नीति, आन्दोलन, मध्यपूर्व युद्ध, भारत चीन युद्ध आदि आदि थुप्रै महत्त्वपूर्ण घटना घटे । सोभियत संघ विघटन, युरोपियन युनियन शक्तिशाली, एक्लो अमेरका, विश्वशक्तिका रूपमा चीनको उदय आदि पनि महत्त्वपूर्ण घटना भए । विज्ञान–प्रविधि, हातहतियार, स्वास्थ्य सञ्चार आदिमा अकल्पनीय विकासका घटनाहरू पनि छन् ।          

नेपालमा जेनजी आन्दोलन              

नयाँ संविधानपश्चात् नेपालमा प्रगति, शान्ति स्थिरता विकास समृद्धि आउँछ भन्ने विश्वास आम नेपाली जनतामा आयो । यो स्वाभाविक थियो । प्रतिगमनकारीहरूको चलखेल, अघोषित नाकाबन्दी हृदयविदारक भूकम्प आदि प्रतिकूल अवस्थामा पनि नेपाली जनता दृढताका साथ आशा लिएर उभिए । तर सत्ता, शक्ति, धन आदिको पासोमा नेपालका प्रमुख दलहरू नराम्ररी फसे । मूल्य, मान्यता र नैतिकता सबै छाडेर सत्ताका निमित्त जे पनि गर्न तयार भए । सम्पूर्ण विश्व ‘एवं’ नेपाली जनतालाई लाज लागे तापनि तीन प्रमुखदलका नेताहरूले लज्जाजनक राजनीतिक निकृष्टताको उदाहरण पेश गरे । नेपाली जनतालाई गठबन्धनको नाममा राति भोट माग्ने । ३३ सिट ल्याएकालाई प्रधानमन्त्री नै चाहिने अनि गठबन्धनविरुद्ध बालकोट पुग्ने । बुढानीलकण्ठ गठबन्धन गर्ने अनि बालकोट पुग्ने । बालकोट पुग्नासाथ केही दिनमै बुढानीलकण्ठ फर्किने । बालकोट पनि खुमलटारलाई लात हानेर बुढानीलकण्ठ लागेर सत्ता एवं प्रतिपक्ष गठबन्धनको अनौठो नमुना देखाए । यस कालमा सुनकाण्ड, भुटानी शरणार्थी काण्ड, जग्गाजमिन काण्ड हुनसम्म सबैखाले अनैतिक काण्डहरू भए । केपी शेरबहादुर एवम् प्रचण्डलाई के लाग्यो भने प्रमको पद जीवनभरिकै लागि हो, यसको प्राप्तिका निमित्त जे गर्दा पनि हुन्छ, किनभने नेपाली जनता मूर्ख छन् । लास एवं दास हुन् । केपीको ढोकसामा जम्मै फसे । परिणाम स्वाभाविक विद्रोह थियो जुन भाद्र २३ गते पुष्टि भयो ।            

जेनजी आन्दोलनका कारण        

भाद्र २३ गतेको जेनजी आन्दोलनका थुप्रै कारण छन् । २०७२ सालपश्चात् प्रम पदका लागि एमाले कांग्रेस एवं माओवादीबीच भएको कुर्सी मोह सबैभन्दा प्रमुख कारण बन्न पुग्यो । केपी, शेरबहादुर एवं प्रचण्ड कोही पनि कोहीभन्दा कम देखिएनन् । अर्कातर्फ मन्त्री पदमा भ्रष्टाचारीहरू बारम्बार दोहोरिनु, भ्रष्टाचारका अनेकौं काण्डहरू निरन्तर रूपमा भइराख्नु लाज नैतिकता मूल्यमान्यताको पूर्णव्यवस्था यस्ता घटनाहरू नेपाली राजनीतिको दैनिकी भएको थियो । कांग्रेस एमाले माओवादीले समयको चापलाई युवाहरूको परिवर्तनको चाहनालाई बुझ्न नै नसकेर पूर्णरूपले सत्तालिप्सामा लिप्त भए । खासगरी पछिल्लो कालमा केपी ओली र शेरबहादुरले राजनीतिक नैतिकताको सम्पूर्ण सीमा नाघ्न पुगे । भ्रष्टाचार सँगसँगै प्रतिशोधको राजनीतिको थालनी गरे । शेरबहादुर सातपटक प्रधानमन्त्री बन्ने लोभमा केपीको ढोकसामा परिसकेका थिए । केपी र शेरबहादुरले गरेका ७ बुँदे सहमतिप्रति ध्यानै नदिएर रवि लामिछाने, कुलमानहरूप्रति प्रतिशोध लिने काम गरे । मन्त्री खड्काको भ्रष्टाचार होस् वा खतिवडा महिलाको सहकारी हिनामिना होस् यस्ता सयौं अनगिन्त अपराधमा लिप्त केपी, देउवा सरकारविरुद्ध विद्रोहको स्थितिको निर्माण हुन थालेको थियो । जेनजी पुस्ताले सचेत गराइराखेका थिए । साथै अन्य राजनीतिक दलले पनि सचेत गराइराखेका थिए । गगनहरूलाई सम्पूर्णरूपमा बेवास्ता गर्ने प्रवृत्ति एवं विद्या भण्डारीलाई एमालेमा प्रवेश रोक्ने प्रवृत्ति सत्ता लिप्साको मात्र नभई निरंकुशताको पनि प्रतीक बन्न पुग्यो । अति भनेको अति नै हुन्छ । फलस्वरूप जेनजी पुस्ताले नेपाली दल अन्य वर्ग समुदायलगायत आम नेपाली जनताको मनमा रहेको उकुसमुकुसलाई प्रतिनिधित्व गर्दै केपी सरकारको निरंकुशताविरुद्ध भाद्र २३ गते शान्तिपूर्ण आन्दोलन गरे । गोदावरी विधान अधिवेशनबाट ‘देवत्व’ प्राप्त गर्ने केपीले कहिले मर्न नपरोस् भन्ने भगवान्सँग कुनै दानवले वरदान पाएको जस्तै ठाने ।                

सुशासन भ्रष्टाचारको अन्त्य सामाजिक सञ्जालमा खोल्नुपर्नेजस्ता समसामयिक माग गरेको आन्दोलनमा उत्रेकाहरू विरुद्ध केपीको निरंकुश सरकार बर्बरतापूर्ण निर्ममतापूर्वक एवं विवेकहीन भएर ओर्लियो । फलस्वरूप पहिलो दिनमै १९ र भाद्र २४ गते दुई दिन गरी ७६ जनाको मृत्यु भयो । जसमध्ये ४५ जना सहिद घोषणा भएका छन् । नेपालकै इतिहासमा दुई दिनमै कुनै प्रधानमन्त्रीको कालमा ७४ जनाको नरसंहार भएको थिएन । केपी नेतृत्वले नरसंहारको नेपाली पृष्ठभूमिमा रेकर्ड कायम गर्‍यो । २४ गतेको दिन पनि केपी नै कावा प्रधानमन्त्री थिए । तर, भाद्र २३ एवं २४ को नैतिक जिम्मेवारी लिएनन् ।            

आन्दोलनको प्रभाव          

जेनजी आन्दोलनले उठाएको सुशासन, भ्रष्टाचारको समाप्ति एवं सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हट्नुपर्ने मागलाई नेपाललगायत समस्त विश्वले राम्रो ठानेका थिए । २४ गते अकल्पनीय विध्वंश भयो । यो अत्यन्त खेदजनक कार्य थियो । जसले गरेको भए पनि तिनीहरूलाई पनि अदालतमा उभ्याउनुपर्छ, कानूनी दण्ड दिनैपर्छ । हेरौं कहिले हुन्छ । कार्की नेतृत्वमा मन्त्रिमण्डल बन्यो । विवादास्पद निर्णयहरू भएका छन् । तर केपी नेतृत्वको जस्तो भ्रष्टाचारको काण्डमा मुछिएको पाइँदैन । निर्वाचन निमित्त मन्त्री पद छाडेर गए । यो त्रुटिपूर्ण थियो । राजनीतिमै संलग्न हुने इच्छा थियो भने मन्त्री पदमा जानु ठीक थिएन । सम्पत्ति सार्वजनिक गरेनन् यसमा पनि केपीप्रवृत्ति नै दोहोरियो । तर कार्की नेतृत्वको मन्त्रिमण्डल हालसम्म भ्रष्टाचारको काण्डमा मुछिएको छैन । यो जेनजी आन्दोलनको प्रभाव हो । सामाजिक सञ्जाल फुकुवा भयो यो पनि सकारात्मक प्रभाव हो । पुस्तान्तरण एवं हस्तान्तरणको लहर नै चल्यो । केपी एमालेबाहेक सबै दलमा यसको गहिरो प्रभाव पर्‍यो । नेकाका गगन सभापति हुनु यसको ज्वलन्त उदाहरण हो । नेपाली कम्युनिष्ट पार्टीलगायत अन्य पार्टीमा आंशिक प्रभाव पर्‍यो । तर पुस्तान्तरण एवं पुस्तान्तरणको लहरको प्रभाव परेको छ । तर जनतामा सुशासनको नाराले गहिरो छाप छाडेको छ । नेपाल अब पूर्णरूपले भ्रष्टाचार मुक्त हुनेछ यो आस गर्न सकिँदैन तर शासकहरूलाई यो आन्दोलनले ठूलो शिक्षा दिएको छ । युवाहरूको प्रतिनिधित्वको माग स्पष्टरूपले उठ्यो । परिवर्तनको चाहना प्रष्टरूपमा उठेको छ ।            

जेनजी अभियान्ताको दायित्व            

राजनीतिक, आर्थिक दृष्टिकोणविहीन जत्थाका रूपमा जेनजीलाई बदनाम गर्न खोजिएको छ । जेनजी पुस्तालाई समयको बन्धनमा बाँधिएको पुस्ताका रूपमा लिइएको छ । निश्चय पनि जेनजी पुस्ता एउटा उमेर समूह हो । तर यो पुस्तालाई विचारविहीन भन्न मिल्दैन । संसारका कतिपय मुलुकका तानाशाही शासकहरू जेनजी पुस्ताको परिवर्तनको मागका अघि घुँडा टेक्दैछन् । परिवर्तन हुँदैछ । तसर्थ नेपालको सन्दर्भमा जेनजी पुस्ता सधैं सजग र सतर्क हुनुपर्छ । दलमा लाग्न पाउने वा नपाउने ? यो गम्भीर प्रश्न छ । तर मूल प्रश्न जेनजी पुस्ताबीचको एकता हो । सुशासन स्थापना भ्रष्टाचारको अन्त्यको मागलाई छाड्नुहुँदैन । लास एवं दास बन्नुहुँदैन । ‘बा’का रूपमा निरंकुशताको प्रतीकलाई ढाल्नैपर्छ । निरपेक्ष विभाजनमा शक्ति हुँदैन । दलमा लागे तापनि दलभित्रको निरंकुशताको विरोध उठ्नैपर्छ । राष्ट्रियता, प्रगति, सम्प्रभुता, संविधान र शान्तिको पक्षमा भाद्र २३ गते जेनजी पुस्ताले जुन शिक्षा दियो त्यसलाई बिर्सनुहुन्न । आउने जेनजी पुस्ताले वर्तमानको जेनजी पुस्ताप्रति गर्व गरोस् सार्थकता यसैमा हुन्छ ।              

वर्तमान स्थिति          

नेपाल हाल निर्वाचन उन्मुख भएको छ । प्रतिनिधि सभाको १६५ क्षेत्रमा विभिन्न दलहरूले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी, उम्मेदवार, दल बदलको दृश्य निर्वाचनको प्रचारप्रसार ज्यादै रोचक बन्न पुगेको छ । कतै पुरानै ठाउँ पुरानै अनुहार, कतै नयाँ अनुहार नयाँ ठाउँ, एकैछिन अगाडि एउटा पार्टी केहीबेरमै अर्को पार्टीबाट उम्मेदवार, विशेष महाधिवेशन बहिष्कार तर टिकट स्वीकार, गगन नेतृत्वले भुटानी शरणार्थी, घडी, टेरामेक्स, २३ गतेको घटना, सुन सहकारी आदि काण्डमा मुछिएकालाई टिकट दिएनन् । तर केपी एमालले हत्याकाण्डमा अपराधी ठहर भएका मधेशबाट, अपहरण गर्नेहरू सहकारी ठगीमा मुछिएका बालुवाटार जग्गा फिर्ता, बलात्कारी आरोपित आदि आदिलाई पनि टिकट दियो । पाल्पा अनि नवलपरासीको नाटक पनि देखियो । सशक्तरूपमा विद्रोह गर्नुपर्ने टिकट वितरणमा भएको असमानताप्रति खेद प्रकट गर्नुको सट्टा ईश्वर पोखरेलले टिकट लिनु ठूलो राजनीतिक त्रुटि हो । बाबुराम, प्रचण्ड जनार्दन आदि आदिहरू ढोकसामा फसिसके । परिणामले जनताको प्रतिक्रिया जनाउने नै छ । सामाजिक सञ्जालको प्रयोग अकल्पनीयरूपमा भएको छ । अनेकौं प्रतिकूलताबाबजुद गगन–बालेनले आँट गरेका छन् । केपीको त्रसित मनोविज्ञानमा छन् । गैर जिम्मेवारीपूर्ण अभिव्यक्तिले गर्दा जनता चिढिएमा छन् बालेनलाई फाइदा छ । सुरक्षाको समस्या हुँदाहुँदै पनि गगनले आँट गरेकै हो । प्रचण्ड पनि डरले भागेका हुन् । आगामी दिनहरूमा जनयुद्धका नायक ठान्नेले ३३ सिटमा प्रम ताक्ने तर सुरक्षित एउटै ठाउँ पनि नहुने ? जनता बुझ्छन् । बाबुरामलाई नाटकका बाबजुद पनि साधुवाद । रौतहट, धरान पनि चर्चामै छन् । आउँदा दिनहरूमा यस्ता नाटक थुप्रै देखिनेछन् । कतै पार्टीबाट निष्कासन, कतै पार्टी एकताको नाटक ।  

उपसंहार            

भाद्र २३ र २४ को आन्दोलन अभूतपूर्व रहेको छ । देश जलाउने विध्वंसकारी आदिआदि अनेक आरोप लगाइँदै छ तर ती शक्तिहरू को हुन् ? आरोप लगाउनेले प्रमाणित गरेका छैनन् । २४ गते विध्वंश भएकै हो । के यो जेनजीले गरेको हो ? सिंहदरबार जलाउनुपर्छ भन्ने अभिव्यक्ति बालेनले दिए के यो भवन जलाउनेतर्फ प्रेरित अभिव्यक्ति थियो कि केपी एमाले, कांग्रेस एवं प्रचण्ड माओवादीहरूले गरेको भ्रष्टाचारमा भवनको प्रतीक थियो ? जनताले बुझ्दैनन् ? जेनजी अभियन्ताहरू विभिन्न दलमा लागेर प्रचारप्रसारमा लागेका छन् । यो स्वागतयोग्य छ । नेकाले जेनजी आन्दोलनको क्रममा सहिद भएको परिवारलाई विशेष महाधिवेशनमै निम्तो गरे । नेतृत्वमा हस्तान्तरण पुस्तान्तरण सँगसँगै गगन नेतृत्व कांग्रेसले नयाँ पुस्तालाई उम्मेदवार बनाएको छ । रास्वपाले पनि । यी दुवै बधाईका पात्र छन् । तसर्थ भाद्र २३ एवं २४ गते सहिद बनाउने दल र नेतालाई जेनजीहरूले निर्वाचित गर्ने कि आन्दोलनको विरोधमा ओर्लेकाहरूलाई ? यो नयाँ पुस्ताको जिम्मेवारीमा छ । राणा, शाह वा केपीहरूले सहिद बनाएकोमा क्षमायाचना गरेका छैनन् । राणा, शाह इतिहास भइसके केपी एमाले के हुन्छ त्यो युवापुस्ताको जिम्मेवारीमा छ । सम्झना रहोस् भाद्र २३ एवं २४ गतेका सहिदहरूको रगतको बलिदान खेर नजाओस् । समस्त ज्ञात– अज्ञात सहिदमा हार्दिक नमन ।

लेखक राजनीतिशास्त्री समाजका अध्यक्ष हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्