काठमाडौं, १५ माघ
उपत्यकाबाहिर तुलनात्मक रुपमा चुनावी पारो तातेका बेला काठमाडौं हिमाली हावाको स्याँठले ल्याएको चिसोसँगै सेलाएको अवस्थामा छ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा संघीय राजधानी काठमाडौंको माहोल अपेक्षाकृत रुपमा तातेको छैन ।
प्रमुख राजनीतिक दलहरूले घोषणा गरेका ‘भावी प्रधानमन्त्री’ उपत्यका बाहिरबाट उम्मेदवार बन्दा र यसअघिका चुनावमा प्रतिस्पर्धा गर्दै आएका हेभिवेट मैदानबाट बाहिरिँदा काठमाडौंमा चुनावी चहलपहल सामान्य देखिएको छ ।
निर्वाचन आयोगको आचारसंहिताले पनि यसपटक कडाइ गर्दा उम्मेदवारहरू खुलेर बाहिर आउन पाएका छैनन् । न प्रचार छ, न त सभा सम्मेलन । तुल, पोस्टर राख्न नपाएका दलहरू सामाजिक सञ्जालमार्फत प्रचार त गरिरहेका छन्, तर चुनावी गर्मीले काठमाडौंलाई छुन सुरु गरेकै छैन ।
यसपटक कांग्रेसले सभापति गगन थापा, एमालेले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाहलाई भावी प्रधानमन्त्री घोषणा गरेका छन् । ओली र शाह झापा–५ एउटै चुनावी क्षेत्रमा प्रतिस्पर्धा गर्दैछन् भने थापा सर्लाही–४ बाट उम्मेदवार छन् । थापा २०७०, ०७४ र ०७९ मा निर्वाचित काठमाडौं–४ छाडेर मधेस झरेका छन् । काठमाडौं–१ मा ०६४ बाट चुनाव जित्दै आएका कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंह यसपटक उम्मेदवार छैनन् । विशेषगरी ०७९ को निर्वाचनमा काठमाडौंका तीन क्षेत्रमा विशेष चुनावी रौनक देखिएको थियो । कांग्रेसका थापा र एमालेका राजन भट्टराईबीच काठमाडौं–४, सिंह र राप्रपाका रवीन्द्र मिश्रबीच काठमाडौं–१ र कांग्रेसका प्रदीप पौडेल र एमालेका ईश्वर पोखरेलबीच काठमाडौं– ५ को चुनाव रोचक बेग्लै थियो । थापा, सिंह र पौडेल विजयी भएका थिए ।
त्यस्तै, पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान र रास्वपाका शिशिर खनालबीच काठमाडौं–६, पूर्वसभामुख तत्कालीन माओवादी नेतृ ओनसरी घर्तीमगर र रास्वपाकी सोविता गौतमबीच काठमाडौं–२ को चुनाव चर्को थियो । रास्वपाका खनाल र गौतमले जित्दा नतिजा रोचक बनेको थियो । यसपटक खनाल सोही क्षेत्रमा उम्मेदवार बन्दा गौतम भने काठमाडौं छाडेर चितवन छन् ।
काठमाडौंमा पहिलो पार्टी बनेका कांग्रेसका सभापति थापा मधेस झर्दा उनको क्षेत्रमा चुनावी रौनक नदेखिएको सोही क्षेत्रका उम्मेदवार बताउँछन् । यसपटक काठमाडौं–४ मा उम्मेदवार बनेका रास्वपाका पुकार बम ‘हेभिवेट’ प्रतिस्पर्धी मैदानमा नहुँदा चुनावी रौनक र प्रतिस्पर्धाको मज्जा सोचेजस्तो नभएको बताउँछन् ।
कांग्रेसका गगन थापाले ह्याट्रिक गरेको यस क्षेत्रलाई कांग्रेसको ‘गढ’ र विरासतका रूपमा चित्रण गरिँदै आएकोमा बमले आफू त्यही विरासत र प्रवृत्तिलाई चुनौती दिन आएको तर मुख्य प्रतिस्पर्धी नै मैदान छोडेर अन्यत्र गएपछि खल्लो महसुस भएको प्रतिक्रिया दिएका छन् । ‘म जुन कारणले यो ठाउँमा हिम्मत गरेर आएको थिएँ, उहाँ (गगन थापा) भइदिएको भए त्यो विरासतको राजनीति तोड्ने न्यारेटिभ स्थापित गर्न अझ मजा आउँथ्यो,’ उनले भने, ‘साँच्चिकै युद्धमैदानमा जाँदै गर्दा अपोनेन्ट सामान्य हुँदा अलिकति नमज्जा त हुँदो रहेछ । उहाँ नहुँदा ‘थ्रिलर’ कम भयो ।’ बम २०७९ को चुनावमा काठमाडौं–१ मा पराजित हुन् । क्षेत्र बदल्दै पार्टीले उनलाई यसपटक काठमाडौं–४ को टिकट दिएको हो ।
यो क्षेत्रमा यसपटक कांग्रेसले नयाँ अनुहारलाई मौका दिएको छ । कांग्रेसबाट सचिन तिमल्सिनालाई उम्मेदवार छन् भने एमालेले राजन भट्टराईलाई नै उम्मेदवार बनाएको छ । थापा उम्मेदवार नबन्दा ०७९ को निर्वाचनमा जस्तो भट्टराई पनि आक्रामक देखिएका छैनन् । उनको प्रचारप्रसार पनि सुस्त देखिएको छ ।
त्यस्तै, धेरैले चुनावी पारो चढ्ने काठमाडौं–१ मा पनि चुनावी माहोल गमाइसकेको छैन । राप्रपाका मिश्रले यसपटक कांग्रेसको हेभिवेट सिंहको सामना गर्नुपर्ने छैन । राप्रपा कांग्रेसको हेभिवेट उम्मेदवार नहुँदाको फाइदा उठाउने रणनीतिमा छ । राप्रपाका मिश्रसँग कांग्रेसका प्रबल थापा पहिलो पटक चुनावी मैदानमा छन् । एमालेबाट मोहनराज रेग्मी, रास्वपाबाट रञ्जु न्यौपाने, नेकपाबाट मेनुका भण्डारी, स्वतन्त्र उम्मेदवार कमल कोइरालासहित २९ उम्मेदवार छन् ।
त्यस्तै, तुलनात्मक रुपमा काठमाडौं–५ मा भने केही सरगर्मी देखिएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेल एमालेका पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, राप्रपाका पूर्वअध्यक्ष कमल थापा यो क्षेत्रमा उम्मेदवार छन् । हेभिवेट उम्मेदवारका कारण काठमाडौंमा क्षेत्र नं ५ मा भने केही चुनावी सरगर्मी देखिन्छ । काठमाडौं–५ मा पौडेल ०७९ को जित दोहोर्याउने दाउमा देखिन्छन् भने पोखरेल र थापा पनि जित निकाल्न सक्रिय छन् । पुराना पार्टीको लडाइमा परिणाम निकाल्ने दाउमा रास्वपाका सस्मित पोखरेल पनि सक्रिय देखिएका छन् ।
०७९ को निर्वाचनमा काठमाडौं जिल्लाका १० निर्वाचन क्षेत्रमध्ये ५ वटा निर्वाचन क्षेत्रमा कांग्रेस, ४ वटामा राष्ट्रिय स्वतन्त्र पार्टी र एउटामा एमाले उम्मेदवार विजयी भएका हुन् । यसपटक पनि कांग्रेस र रास्वपाबीच नै मुख्य प्रतिस्पर्धा हुने ठानिएको छ । यद्यपि काठमाडौं–३ मा जेनजी आन्दोलनपछि स्थापित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई बलियो उम्मेदवारका रुपमा हेरिएको छ । काठमाडौंमा कांग्रेसको हेभिवेट उम्मेदवार नहुँदा त्यसको लाभ एमालेले केही क्षेत्रमा उठाउन सक्ने चर्चा राजनीतिक वृत्तमा छ । काठमाडौं–३ मा यसअघिका विजेता सन्तोष चालिसे मैदानमा छैनन् । कांग्रेसले राजु अर्याललाई उम्मेदवार बनाएको छ । उनी काठमाडौं महानगरका पूर्वप्रहरी प्रमुख हुन् । एमालेबाट रामेश्वर फुयाल मैदानमा छन् ।
काठमाडौं–१ मा यसपटक पुराना उम्मेदवार रवीन्द्र मिश्रविरुद्ध अन्य पार्टीले नयाँ उम्मेदवार खडा गरेका छन् । कांग्रेसले प्रबल थापा र रास्वपाले रञ्जु न्यौपानेलाई उम्मेदवार बनाएका छन् । थापा र न्यौपाने सो क्षेत्रमा पहिलोपटक संसदीय चुनावमा प्रतिस्पर्धामा छन् । यसअघि दुईपटक प्रकाशमान सिंह र रवीन्द्र मिश्रबीच मुख्य प्रतिस्पर्धा भएको थियो । सिंह ७ हजार १३९ मत ल्याएर विजयी हुँदा मिश्र १२८ मतान्तरले पराजित भएका थिए ।
०७९ को चुनावमा रास्वपाकी गौतमले अनपेक्षित जित निकालेको काठमाडौं–२ मा पनि यसपटक चुनावी रौनक देखिएको छैन । यो क्षेत्रमा कांग्रेसले कवीर शर्मा, एमालेले मणिराम फुयाल, राप्रपाले कुन्ती पोखरेल र रास्वपाले सुनिल केसीलाई उम्मेदवार बनाएका छन् । फुयाल र पोखरेल ०७९ को परािजत उम्मेदवार हुन् भने शर्मा र केसी पहिलो पटक चुनावमी प्रतिस्पर्धामा छन् । ०७९ मा कांग्रेसको समर्थनमा माओवादी नेतृ ओनसरी घर्ती उम्मेदवार हुँदाको जस्तो चुनावी माहोल नदेखिएको सो क्षेत्रका स्थानीय बताउँछन् ।
कांग्रेसले ०७९ मा जितेका पौडेल बाहेक अरु ९ क्षेत्रमा नयाँ उम्मेदवार उठाएको छ । रास्वाले भने काठमाडौं–६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठलाई नै दोहोर्याएको छ । काठमाडौं–९ मा रास्वपा उपाध्यक्ष डीपी अर्याल उम्मेदवार छन् । उक्त क्षेत्रमा यसअघि चुनाव जितेका एमालेका कृष्णगोपाल श्रेष्ठ उम्मेदवार छैनन् । कांग्रेसले नानु बास्तोलालाई उम्मेदवार बनाएको छ भने एमालेले अजयक्रान्ति शाक्यलाई । एमालेका श्रेष्ठ मैदानमा नहुँदा काठमाडौं–९ मा पनि चुनावी माहोल नदेखिएको स्थानीय बताउँछन् ।
काठमाडौं–१० मा लगातार तीन पटक चुनाव जितेका कांग्रेसका राजन केसी मैदानबाट बाहिरिएका छन् । उक्त क्षेत्रमा नयाँ अनुहार कांग्रेसले हिमाल कार्की र एमालेले विनोद श्रेष्ठलाई उम्मेदवार उठाएका छन् । रास्वपाले पनि यसअघि पराजित प्रदीप विष्टलाई उम्मेदवार बनाएको भने नेकपाले रुपा महर्जनलाई अघि सारेको छ । ०७०, ०७४ र ०७९ मा जितेका केसी उम्मेदवार नहुँदा काठमाडौं–१० को चुनावी माहोल पनि तातिसकेको छैन ।
यस्तो थियो ०७९ को परिणाम
काठमाडौं–१ मा प्रकाशमान सिंह, ३ मा सन्तोष चालिसे, ४ मा गगनकुमार थापा, ५ मा प्रदीप पौडेल र १० मा राजेन्द्रकुमार केसी कांग्रेसबाट निर्वाचित भएका थिए । त्यस्तै काठमाडौं–२, ६, ७, ८ मा रास्वपाका सोविता गौतम, शिशिर खनाल, गणेश पराजुली र विराजभक्त श्रेष्ठ निर्वाचित भएका थिए ।