नेभिगेशन
खेलकुद

भारतमा अन्तर्राष्ट्रिय खेलको महत्वाकांक्षा धूमिल हुँदै

नयाँ दिल्ली – सन् २०१० मा भारतले कमनवेल्थ गेम्सको आयोजना गर्‍यो। रंगशाला, पूर्वाधार र खेलसम्बन्धी सुविधाहरूका लागि देशले करिब १८,५३२ करोड रुपैयाँ खर्च गर्‍यो। यो घरेलु स्तरमै विश्वस्तरीय खेल प्रतियोगिता आयोजना गर्ने भविष्यसम्बन्धी महत्त् वाकांक्षाको सुरुआत थियो ।        

आउँदा वर्षहरूमा भारतले धेरै ठूला खेलकुद कार्यक्रमहरू आयोजना गर्‍यो। यसमा हकी विश्वकप र विभिन्न खेलका विश्व च्याम्पियनसिप प्रतियोगिताहरू समावेश थिए। साथै, हामी २०३० को कमनवेल्थ गेम्सको आयोजना पनि गर्ने तयारीमा छौँ। यस अवधिमा ठूला रंगशालाहरू निर्माण गर्ने र पूर्वाधार सुधारसम्बन्धी कामहरूमा तीव्रता आयो। यस्तो प्रणाली पनि विकास भयो, जसका कारण धेरै खेलाडीहरूले खेललाई पेशाको रूपमा अपनाउन थाले। तर विश्वव्यापी खेल राष्ट्र बन्ने महत्वाकांक्षाको बीचमा धेरै कमजोर कडीहरू पनि देखिए। विश्वस्तरीय सुविधाहरू बाहेक सरसफाइ, प्रयोगयोग्य शौचालयजस्ता आधारभूत आवश्यकताहरूको अभाव ।                

खेलाडी र दर्शक दुवैले पटक–पटक यस्ता आधारभूत सुविधाको कमीका कारण निराशा भोग्नुपरेको छ। सुपर ७५० इभेन्टका रूपमा परिचित हालै सम्पन्न इन्डिया ओपन ब्याडमिन्टन प्रतियोगिताले भारतीय प्रणालीमा के–कस्ता कमजोरी छन् भन्ने कुरा स्पष्ट रूपमा उजागर गर्‍यो। भव्य रंगशाला, पर्याप्त स्रोतसाधन र विश्वस्तरीय प्रतियोगिता आयोजना गर्ने चाहना हुँदाहुँदै पनि भारत राम्रो आयोजना गर्न संघर्ष गरिरहेको छ। यी सबैका बीच भारत अझै विश्वस्तरीय खेल गन्तव्य बन्न सकेको छैन ।                

यदि इन्डिया ओपन मात्रै एक्लो घटना भएको भए, कुरा बुझ्न सकिन्थ्यो। तर पछिल्ला केही महिनामा यस्ता घटना पटक–पटक भएका छन्। फुटबलका महान् खेलाडी लियोनेल मेसीको बहुचर्चित भ्रमण डिसेम्बर २०२५ मा राष्ट्रिय लज्जाको कारण बन्यो। आयोजकहरू सुपरस्टारसँग फोटो खिचाउने होडमा लागे र ठूलो रकम खर्च गरेर आएका दर्शकहरूलाई पूरै बेवास्ता गरियो। रिसाएका समर्थकहरूले कोलकाताको साल्ट लेक रंगशालामा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याए। आयोजकलाई जेल जानुपर्‍यो र भारत गलत कारणले विश्वभर समाचारमा छायो ।                  

यसअघि बक्सिङ नेशनल्स समयमै सुरु हुन सकेन, किनकि रिङ समयमै तयार थिएन, जबकि प्रतियोगिताको घोषणा हप्तौँअघि नै भइसकेको थियो। शीर्ष बक्सरहरू अन्योल र निराशामा कुर्दै बसे, जब कर्मचारीहरू हतार–हतारमा प्रतियोगिता स्थल तयार पारिरहेका थिए। यसैगरी, अक्टोबर २०२५ मा जवाहरलाल नेहरू रंगशालामा आयोजित विश्व पारा एथलेटिक्स च्याम्पियनसिपका क्रममा आवारा कुकुर मैदानभित्र पस्नु र यहाँसम्म कि एक कुकुरले कोचलाई टोकेको घटनाले सुरक्षा सम्बन्धी गम्भीर चिन्ता उत्पन्न गर्‍यो। केही दिनअघि इन्डिया ओपन ब्याडमिन्टन प्रतियोगितामा अझै लज्जास्पद घटनाहरू भए। यो प्रतियोगितालाई २०२६ मा हुने ब्याडमिन्टन वर्ल्ड फेडरेसन (बीडब्ल्यूएफ) विश्व च्याम्पियनसिप आयोजना गर्न भारत कत्तिको तयार छ भन्ने परीक्षणका रूपमा हेरिएको थियो। तर प्रतियोगिता धेरै घटनाबाट प्रभावित रह्यो। डेनमार्ककी मिया ब्लिचफेल्टले ‘फोहोर कोर्ट र चिसो’को गुनासो गर्दै ब्याडमिन्टन वर्ल्ड फेडरेसन (बीडब्ल्यूएफ) लाई हस्तक्षेप गरी अवस्थाको मूल्यांकन गर्न अपिल गरिन् ।                    

ब्याडमिन्टन एसोसिएसन अफ इन्डिया (बीएआई) र खेल मन्त्रालयअन्तर्गत इन्दिरा गान्धी इन्डोर रंगशालाको व्यवस्थापन गर्ने भारतीय खेल प्राधिकरण दुवैले क्षति नियन्त्रण गर्ने प्रयास गर्दा– गर्दै अवस्था झन् बिग्रियो। एक दिनपछि भारतका एचएस प्रणोय र सिंगापुरका लोह किन यूबीच खेलिएको पुरुष सिंगल्स खेल कोर्टमा चराको बीट खस्दा दुई पटक रोकियो। लाइभ टेलिकास्टमा लोहले बान्ता आउने संकेत गरेको देखियो। पछि उनले सामाजिक सञ्जालमा परेवा र चराको बीटका तस्वीरहरू पोस्ट गरे, जसपछि यो विषय विश्वव्यापी रूपमा फैलियो ।                        

बीएआईले सुरुमा आरोपहरू अस्वीकार गर्दै प्रतियोगिता धेरै हदसम्म सफल भएको र महासंघले कमजोरीहरू सुधार गर्ने बतायो। तर ‘सरसफाइ, स्वच्छता र जनावर नियन्त्रणसम्बन्धी समस्या’ स्वीकार गर्‍यो। डेनमार्कका विश्व नम्बर ३ एन्डर्स एण्टोनसेनले ‘दिल्लीको खराब हावा’ का कारण इन्डिया ओपनमा सहभागी नहुने निर्णय गरेको बताए। उता ब्लिचफेल्टले ‘भारतमा खेल्न गाह्रो लागेको’ बताइन्। यसपछि स्वच्छ, सुरक्षित र पेशेवर ढंगले खेल प्रतियोगिता आयोजना गर्ने देशको क्षमतामाथि प्रश्न उठ्न थाले ।                        

ब्याडमिन्टन प्रशिक्षक विमल कुमार भारतीय स्टार खेलाडी लक्ष्य सेनका कोच हुन्। प्रतियोगिताका बेला उनी त्यहाँ उपस्थित थिए र उनले स्पष्ट शब्दमा आफ्नो धारणा राखे। उनले भने, “हामी ठूला प्रतियोगिता आयोजना गर्न सक्षम छौँ, यसमा कुनै शंका छैन। तर शौचालय र सरसफाइ जस्ता आधारभूत कुरामा हामी अत्यन्तै पछि परेका छौँ। दिल्ली अन्तर्राष्ट्रिय विमानस्थललाई नै हेरौँ—त्यहाँ हरेक दिन लाखौँ मानिस आउजाउ गर्छन्, तर शौचालय सफा हुन्छन्। हामी आफ्ना रंगशालाहरूलाई त्यस्तै अवस्थामा किन राख्न सक्दैनौँ? वायु प्रदूषणको कुरा गर्दा, दिल्लीमा केही महिनासम्म हावा खराब हुन्छ भन्ने हामी सबैलाई थाहा छ, यसबारे तुरुन्तै धेरै गर्न सकिँदैन। तर स्वच्छता र सरसफाइको मामलामा भने हामीले धेरै सुधार गर्न जरुरी छ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्