नेभिगेशन
खेलकुद

सेरेना टेनिसमा फर्कने अनिश्चित

टेनिसकी २३ पटककी ग्रान्डस्लाम विजेता सेरेना विलियम्सले प्रतिस्पर्धामा पुनः फर्कने कि नफर्कने भन्ने सम्भावनालाई अस्वीकार गरेकी छैनन् तर स्पष्ट जवाफ दिन पनि अस्वीकार गरेकी छन् । एउटा टेलिभिजन कार्यक्रममा उनले भनिन्, ‘मलाई थाहा छैन । म के हुन्छ होला भविष्यमा भन्ने चासो चाहिँ छ ।’              

चवालिस वर्षीया दुई सन्तानकी आमा सेरेनाले २०२२ युएस ओपनमा तेस्रो चरणको हारपछि प्रतियोगिता खेलेकी छैनन् । उनले डिसेम्बरमा टेनिस एन्टि–डोपिङ परीक्षण पुलमा पुनः प्रवेश गरिन् तर त्यसलाई पुनरागमनको सङ्केतको रूपमा लिइँदैन । सेरेनाकी दिदी भेनसले ४५ वर्षमा अस्ट्रेलियन ओपनमा भाग लिएर उनका प्रशंसकहरूलाई ऊर्जा दिएकी थिइन् तर उनी पहिलो चरणमा नै नकआउट हुन पुगिन् । भेनस जुलाईमा टेनिसमा फर्केपछि अकल्यान्ड र होबार्ट प्रतियोगितामा पनि खेलेकी थिइन् ।                  

पूर्व विश्व नम्बर एक जिम कुरियरका अनुसार, टेनिस खेलाडीलाई एन्टि–डोपिङ परीक्षण पुलमा रहनु गाह्रो हुन्छ र परीक्षण पूरा नगरी प्रतियोगितामा फर्कन अनुमति पाइँदैन । कुरियरले भने, ‘सेरेनाले डिसेम्बरमा फर्कने कुरा अस्वीकार गरिन्, तर उनी घाइते नभएसम्म मैदानमा पुनः फर्कने सम्भावना भने रहिरहन्छ ।’ सेरेना र भेनस बहिनीहरूले जोडीको रूपमा १४ ग्रान्ड स्लाम डबल्स उपाधि र तीन ओलम्पिक स्वर्ण पदक जितेका छन् । उनीहरू मैदानमा फर्कनेबारे उनका प्रशंसकहरूलाई सधैं चासो रहने गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्