नेभिगेशन
दृष्टिकोण

विज्ञान–कथाको विज्ञान

नेपालमा हालै विज्ञान कथायुक्त फिल्म ’एक्लो– १’ रिलिज भयो । फिल्मबारे नेपालमा मिश्रित प्रतिक्रियाहरू आए । नेपालमा विज्ञानकथा उति धेरै प्रचलित छैनन् तर अमेरिकामा विज्ञानकथा लेख्न थालिएको नै डेढ सय वर्षभन्दा बढी भयो । विज्ञानकथामा फिल्म बन्न थालेकै सय वर्ष पुगिसक्यो । यस्तो अवस्थामा विज्ञानकथा लेख्नुको महत्त्व कति छ भन्ने बुझ्न सहज होस् भनेर हामीले एउटा पुरानो आलेख नेपालीमा अनुवाद गरेका छौं ।                

जोन डब्लु क्याम्पबेल जुनियरले सन् १९२८ मा पहिलो पटक त्यस समयको विज्ञान–कथा पत्रिका ’अमेजिङ स्टोरिज’मा “आणविक शक्ति”को बारेमा पढेपछि आणविक भौतिकशास्त्र पढ्ने निर्णय गरेका थिए । उनले एमआईटी र ड्युक विश्वविद्यालयमा अध्ययन गरे र उनी ‘एसाउन्डडिङ साइन्स– फिक्सन’का सम्पादक बने ।                

विज्ञान–कथा एक प्रकारको भविष्यवाणी हो । सामान्यतया, प्रयोगशालामा कुनै तथ्यको आविष्कार हुनु र त्यस तथ्यलाई इञ्जिनियरिङ अभ्यासमा लागू गरिनुबीच ५ देखि १०० वर्षसम्मको अन्तराल हुन्छ । विज्ञान–कथा यही अन्तरालमा बाँच्छ । प्रयोगशालाको ज्ञानलाई पृष्ठभूमि सामग्रीका रूपमा लिएर, यसले भविष्यको त्यस्तो समयको कल्पना गर्दछ जब त्यसलाई इञ्जिनियरिङमा प्रयोग गरिनेछ ।                

तपाईं सजिलै कल्पना गर्न सक्नुहुन्छ कि, एक इन्जिनियरको तुलनामा विज्ञान–कथा लेखकलाई धेरै सजिलो हुन्छ । तिनले कुनै कामको लागि आवश्यक इन्जिनियरिङ उपकरणको कठिन विवरणमा टाउको दुखाउनु पर्दैन; ‘यो काम हुनेछ’ भनेर भनिदिए पुग्छ । लेखकलाई थाहा छ, जब मानिसहरूलाई कुनै कुराको असाध्यै खाँचो पर्छ, ढिलो वा चाँडो कसै न कसैले त्यो कसरी बनाउने भन्ने तरिका पत्ता लगाउनेछ ।                      

विज्ञान–कथामा लामो समयदेखि भविष्यवाणी गरिएको टेलिभिजन यसको एउटा उत्कृष्ट उदाहरण हो । वास्तवमा, सन् १९२० सम्म टेलिभिजनका लागि आवश्यक विज्ञानको बारेमा लगभग केही पनि थाहा थिएन । त्यसबेला विज्ञान– कथा लेखकहरूले टेलिभिजनको आगमनको भविष्यवाणी मुख्यतया यस आधारमा गरेका थिए कि मानिसहरूलाई यो उपकरण पक्कै पनि चाहिएको थियो र धेरै नै चाहिएको थियो । यदि कसैले यसलाई चलाउन सक्यो भने, अमेरिकी जनताले यसका लागि ५० करोडदेखि एक अर्ब डलरसम्म तिर्न तयार हुनेछन् भन्ने उनीहरूको अनुमान थियो । यही प्रोत्साहनका साथ आरसीए, जनरल इलेक्ट्रिक, बेल ल्याबोरेटरीज र दर्जनौँ ठूला कम्पनीहरूले लाखौं डलर अनुसन्धानमा लगाए । उनीहरूले ज्ञान किने; वैज्ञानिकहरूलाई सहयोग गरे जसले पहिले आइकोनोस्कोप, त्यसपछि अर्थिकन र अन्तत: ‘इमेज अर्थिकन’ को आविष्कार गरे । त्यसले टेलिभिजन प्रसारण सम्भव बनायो । उनीहरूले सन् १९२० मा कसैले कल्पनासमेत नगरेका भ्याकुम ट्युब र सर्किटहरू बनाए । जब पुरस्कार अर्बौं डलरको हुन्छ, मानिसहरूले चमत्कार गर्न सक्छन् ।                        

यद्यपि, विज्ञान–कथा लेखक सधैं अचूक भविष्यवक्ता हुन सक्दैन । प्रयोगशालाको आविष्कार र इन्जिनियरिङ प्रयोग बीचको समयले उनलाई धोका दिन सक्छ । उनले कुनै ज्ञात प्रभावलाई एक तरिकाले प्रयोग गरेर निश्चित नतिजा निस्कने भविष्यवाणी गर्न सक्छन् । बीस–तीस वर्षपछि त्यो नतिजा त प्राप्त हुन्छ तर पूर्णरूपमा अर्कै विधिबाट हुन्छ ।                        

यसको एउटा उदाहरण सन् १९२९ तिर लेखिएको एउटा कथा हो, जसमा एउटा अमेरिकी युद्धपोतले जापानी नौसेनालाई कसरी हरायो भन्ने वर्णन गरिएको थियो । कथामा युद्धपोतमा दुईवटा प्रोजेक्टरबाट ‘अल्ट्रा–सर्ट वेभ’ (अति–छोटा तरंग) छोड्ने उपकरण थियो । ती तरंगहरू दुश्मनको जहाजबाट ठोकिएर फर्किंदा दिशा र दुरी पत्ता लाग्थ्यो । यो प्रणालीले काम त गर्थ्याे, तर लेखक चुके । वास्तविक राडारले एउटै प्रोजेक्टर प्रयोग गर्छ, किनकि कथा लेखिएको समय र नौसेनाले यसलाई प्रयोगमा ल्याएको समयको बीचमा थप नयाँ आविष्कारहरू भइसकेका थिए ।                      

विज्ञान–कथाको एउटा चाखलाग्दो विशेषता के छ भने, यसले आफ्ना भविष्यवाणीहरू आफैँ पूरा गराउन मद्दत गर्छ । यी कथाहरू प्राय: व्यावसायिक इन्जिनियरहरूले फुर्सदको समयमा लेख्ने हुनाले, तिनमा कुनै लक्ष्य प्राप्त गर्ने सही इन्जिनियरिङ सुझावहरू हुन्छन् । म्यानहट्टन प्रोजेक्टका वैज्ञानिकहरू र नाजी वैज्ञानिकहरूले पनि विज्ञान–कथा पढ्ने गर्थे ।                      

आज रकेट स्पेसशिपको अवधारणा यति व्यापक रूपमा स्वीकार गरिएको छ कि सेनाले समेत आफ्ना भर्ती पोस्टरहरूमा स्पेसशिपका चित्रहरू राख्न थालेका छन् । विज्ञान–कथा लेखकहरूले बीस वर्षभन्दा बढी समयदेखि रकेट स्पेसशिपबारे चर्चा गरिरहेका छन् । इन्जिनियरिङ मस्तिष्कहरूले ती समस्याहरूबारे घोत्लिएर र कथाहरूमा तर्क–वितर्क गरेर आधारभूत सिद्धान्तहरू तयार गरिसकेका छन् । पहिलो अन्तरिक्ष यान बनाउनेहरूले ती पत्रिकाहरू पढेका हुन्छन् र त्यहाँका इञ्जिनियरिङ तर्कहरूलाई प्रयोग गर्नेछन् ।                        

सुरुका विज्ञान–कथाहरूमा (जस्तै जुल्स भर्नको चन्द्रमाको यात्रा) अक्सिजनका लागि रासायनिक पदार्थहरू प्रयोग गरिन्थ्यो । तर विज्ञान–कथामा भएको बहसपछि सही उत्तर फेला पर्यो । कार्बनडाइअक्साइड सोस्न र सही मात्रामा अक्सिजन दिन हरिया बिरुवा भन्दा उत्तम र भरपर्दो अरू केही हुन सक्दैन । अन्तरिक्ष यानमा सानो ‘हाइड्रोपोनिक बगैंचा’ले प्रकाश र कार्बनडाइअक्साइड पाउँदासम्म अक्सिजन दिइरहन्छ । यसमा बिग्रिने मेसिनको डर पनि हुँदैन र बिरुवाले हावालाई सुगन्धित पनि बनाउँछ ।                          

फेरि, सुरुका कथाहरूमा रकेटलाई मोड्न धेरै वटा साना इन्जिनहरू राखिन्थ्यो । तर विज्ञान–कथाका इन्जिनियरहरूले यसलाई सरल बनाए । भीटू रकेट विज्ञान–कथा पाठकहरूले नै बनाएका हुन् र यसमा कथामा वर्णन गरिएजस्तै एउटै मात्र मुख्य मोटर हुन्छ । दिशा बदल्नका लागि मुख्य रकेटको मुस्लोमा साना प्वाँख (भेन्स) प्रयोग गरिन्छ । अवतरणका लागि जहाजलाई उल्टो पारेर पुच्छरको भागबाट ओरालिन्छ ।                      

जहाजलाई घुमाउनका लागि अतिरिक्त रकेट चाहिन्न । जहाजभित्र तीनवटा ‘फ्लाईह्विल’ राखे पुग्छ । क्रिया र प्रतिक्रियाको नियम अनुसार, जब तपाईं एउटा पांग्रालाई देब्रेतिर घुमाउनुहुन्छ, जहाज बिस्तारै दाहिनेतिर घुम्छ । यो कति सरल छ !                    

अन्तरिक्षमा प्रयोग हुने साना तर महत्वपूर्ण उपकरणहरू पनि विज्ञान–कथा लेखकहरूले नै डिजाइन गरेका हुन् । अन्तरिक्षमा उडिरहेको जहाज ‘तौलविहीन’ हुन्छ । त्यहाँ वस्तुहरू खस्दैनन् । एउटा किताब हातबाट छोड्दा भुइँमा झर्दैन, बरु हावामा तैरिन थाल्छ । त्यहाँ किताबहरूलाई कसरी व्यवस्थित राख्ने ? यसका लागि किताबको एउटा भागमा चुम्बक राखिन्छ ताकि त्यो जहाजको स्टिलको भित्तामा टाँसिएर रहोस् ।                          

तौलविहीन अवस्थामा कफी पिउनु पनि एउटा समस्या हो । यदि तपाईंले साधारण कपमा कफी राख्नुभयो भने, तौल नभएको कारणले कफी कपको भित्ताबाट बाहिर निस्किएर तपाईंको शरीरभरि फैलिन सक्छ । यदि कफी नटाँसिने कप प्रयोग गर्नुभयो भने, कफी हावामा गोलाकार बनेर तैरिन थाल्छ । त्यसैले, अनुभवी अन्तरिक्ष यात्रीले प्लास्टिकको फ्ल्यास्क प्रयोग गर्नेछन्, जसको घाँटीमा एउटा ट्युब हुन्छ र त्यहाँबाट कफी चुसेर पिउन सकिन्छ ।                          

यी कुराहरू भविष्यमा लागू हुनेछन् किनभने विज्ञान–कथाले यसो भनेको छ । अन्तरिक्ष यान बनाउने इन्जिनियरहरूले विज्ञान– कथामा दिइएका यी समाधानहरूलाई खुसीसाथ स्वीकार गर्नेछन् । उनीहरूसँग समाधान गर्नुपर्ने अरू धेरै गाह्रो समस्याहरू हुनेछन्, त्यसैले उनीहरूले यस्ता तयारी समाधानहरूलाई नकार्न सक्ने छैनन् । यस हदसम्म विज्ञान–कथाले आफ्ना भविष्यवाणीहरू आफैं पूरा गराउँछ ।              

(यो आलेख सन् १९२० मा अमेरिकाको प्रख्यात अर्थात् एक सय ६ वर्षअघि एटलान्टिक पत्रिकामा प्रकाशित भएको थियो ।)

अनुवादक : अच्युत कोइराला

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्