नेभिगेशन
मनोरञ्जन

चित्रकला हेर्दा तनाव घट्छ

बेलायतको किङ्स कलेजले गरेको हालैको एउटा सर्भेले चित्रकला ग्यालरीमा दैनिक केही समय बिताउनाले व्यक्तिको तनाव घटाउने र कतिपय अवस्थामा शरीरको प्रतिरोधक शक्ति बढाउने देखिएको छ ।              

चित्र हेर्दा हाम्रो शारीरिक अवस्थामा के कस्ता परिवर्तन आउँदा रहेछन् भन्ने परीक्षण गर्न कलेजले ५० जना बेलायती स्वयंसेवकहरू भेला पारेको थियो । १८ देखि ४० वर्ष उमेर समूहका यी स्वयंसेवीहरूलाई दुई समूहमा विभक्त गरिएको थियो । एउटा समूहले भ्यान गग, गौगिन र अन्य संसारका विख्यात चित्रकारका चित्रहरू देखाइएको थियो । चित्र देखाउन उनीहरूलाई बेलायतकै विख्यात कोर्टल्ड ग्यालरी लगिएको थियो । ती सबै चित्रहरू ओरिजनल थिए ।                    

अर्को समूहका स्वयंसेवीहरूलाई भने अनुसन्धाताहरूले नक्कली चित्रकलाहरू देखाएका थिए । त्यसो त ती नक्कली पेन्टिङ भन्ने थाहा हुने थिएन तर त्यसको जानकारी भने तिनलाई थियो ।                  

यी दुवै समूहलाई वास्तविक र अवास्तविक चित्रकला देखाउन लैजानुअघि तिनको र्‍यालको संकलन गरिएको थियो । उनीहरूको मुटुको धड्कन पनि मापन गरिएको थियो । २० मिनेटसम्म गरिएका यस्ता विविध परीक्षण चित्रकला हेरिसकेपछि पुनः दोहोर्‍याइएको थियो ।                  

यसपछि अनुसन्धाताले के पत्ता लगाए भने जसले वास्तविक पेन्टिङ हेरेका थिए, तिनीहरूको तनावको दर २२ प्रतिशतले घटेको पाइयो । यस्तै जसले नक्कली पेन्टिङ हेरेका थिए, उनीहरूको तनावको दर जम्मा ८ प्रतिशतले घटेको थियो ।                

रोचक त, यस्ता तनाव घटाउन भूमिका खेल्ने आईएल६ र टीएनएफ अल्फाजस्ता तत्वहरूको उत्पादन ३० र २८ प्रतिशतले घटेको पाइयो ।                  

यसले चित्रकला हेर्न कुनै आर्ट ग्यालरीमा जाँदा व्यक्तिको शरीरले प्रतिक्रिया जनाउने देखिएको अध्ययनमा संलग्न विशेषज्ञहरूको निष्कर्ष रहेको ह्यापिफुल म्यागेजिनले उल्लेख गरेको छ ।                    

अध्ययनमा संलग्न चिकित्सक तथा अनुसन्धाता डा.टोनी वुड्स भन्छन्, ‘वैज्ञानिक दृष्टिकोणबाट हेर्दा कलाले मानव शरीरमा निकै सकारात्मक प्रभाव पार्ने देखिएको छ । खासगरी यस्तो क्रियामा इम्युन, इन्डोक्राइन र अटोनमिक प्रणालीजस्ता तत्वहरूमा एक साथ प्रभाव पारेको देखियो । यो निकै दुर्लभ प्रमाणका रूपमा हामीले पाएका छौं र यसबाट हामी ज्यादै प्रभावित भएका छौं ।’            

कलामार्फत सर्वसाधारणको स्वास्थ्य सुधार गर्न सकिन्छ भन्ने प्रमाण यसले जुटाएको अध्येताहरू बताउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्