नेभिगेशन
खेलकुद

व्यास अल्ट्रा म्याराथन नेपाली सेनालाई

तनहुँ जिल्लाको व्यास नगरपालिकाले आयोजना गरेको ‘आठौं व्यास नगर अल्ट्रा म्याराथन’ को उपाधि नेपाली सेनाले जितेको छ ।  

‘पर्यटन, धार्मिक एवं ऐतिहासिक क्षेत्रको पहिचानः व्यास नगरपालिकाको अभियान’ भन्ने नारासहित सहिद दिवसका अवसरमा आज आयोजित प्रतियोगितामा सिंह सर्दुल गुल्म स्याङ्जाका प्युठ कर्ण रावलले दुई घण्टा ४८ मिनेट २७ सेकेण्डमा ४४ किलोमिटर दूरी पार गर्दै प्रथम भएका छन् ।                    

नन्द बक्स गुल्म सिराहाका प्युठ तिलक सुनुवार दुई घण्टा ५८ मिनेट पार गर्दै द्वितीय र त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ तृतीय भएका नगरको शिक्षा तथा सामाजिक विकास शाखा प्रमुख केदार आचार्यले जानकारी दिए ।                

पर्यटकीय क्षेत्र व्यास–५ मानहुँकोटदेखि सहिद गाउँ व्यास–८ पुलिमराङलाई जोड्ने उद्देश्यले म्याराथन गरिएको हो ।                  

प्रतियोगितामा देशभरका विभिन्न जिल्लाबाट ४२ जना धावकको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ८५ हजार ७७, रु ६५ हजार ७७ र रु ५५ हजार ७७ नगद पुरस्कार प्रदान गरिएको छ । पाँच धावकलाई सान्त्वना पुरस्कारस्वरूप रु १६ हजार ७७ प्रदान गरिएको छ ।                          

गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले पर्यटकीय क्षेत्र र सहिद गाउँलाई जोडेर गरिएको प्रतियोगिताले यहाँको प्रचारप्रसारमा टेवा पुगेको बताए ।                      

नगरप्रमुख वैकुण्ठ न्यौपानेले खेलकुदका माध्यमबाट पर्यटन प्रवर्धन गर्ने उद्देश्यले बर्सेनि अल्ट्रा म्याराथन आयोजना गरिँदै आएको बताए । उनले अल्ट्रा म्याराथन केबल खेलकुद प्रतियोगिता मात्र नभई सहिदको बलिदान स्मरण र प्रतिभा पहिचान गर्ने अभियान भएको बताए ।                        

नगर प्रमुख न्यौपानेले भने, ‘यो दौड हाम्रो इतिहास, संस्कृति र सहिदप्रतिको सम्मानसँग जोडिएको छ । यसले मगर र गुरुङ समुदायको कला, संस्कार, संस्कृति प्रवर्धनमा टेवा पुगेको छ ।’                        

मानुङकोटबाट अलैंचे, चापाघाट, अनसन चौतारी, सफा सडक, भोर्लेटार चोक, बैरेनी, दुम्सी, कलेस्ती, पाथ्रा, सत्रसय, बानियाँडिही, बर्लाची, सोतीवेशी, बगुवा रिस्ती र बाहुन पोखरा हुँदै सहिद गाउँ पुलिमराङसम्म ४४ किलोमिटर दौड भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्