नेभिगेशन
खेलकुद

न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि

पोखरा । न्यू डायमण्ड स्पोर्ट्स क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपको महिलातर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनशिपअन्तर्गत महिलातर्फको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्डले उपाधि जितेको हो । न्यू डायमण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्‍यो । उपाधिसँगै न्यू डायमण्डले ६ लाख ६६ हजार ६६६ रुपैयाँ हात पार्‍यो । फाइनलमा चुकेको पुलिसले ३ लाख ६६ हजार ६६६ रुपैयाँमा चित्त बुझायो । तेस्रो बनेको थाइल्याण्ड क्विन्सले २ लाख ६ हजार ६६६ रुपैयाँ पायो ।          

न्यू डायमण्डकी सुमित्रा रेग्मी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी बनिन् । उनले २६ हजार ६६६ रुपैयाँ पाइन् । सर्भर प्रतिभा माली, लिविरो शान्तिकला तामाङ, सेटर प्रगतिनाथ, ब्लकर सुनिता खत्री, स्पाइकर पथैया र प्रशिक्षक कुमार राई विधागततर्फ उत्कृष्ट बने । उनीहरूले जनही ११ हजार ६६६ हात पारे । अब पुरुषतर्फ समूह चरणको अन्तिम खेल पर्वत जिल्ला भलिबल संघ र गण्डकी प्रदेशबीचको खेल सुरु हुनेछ । उक्त खेलले फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी च्याम्पियनशिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी भएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्