site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले सुदूरपश्चिम अधिवेशन : मतदान आज 

काठमाडौं । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि मतदान आज हुने भएको छ । हिजो साँझ मतदान गर्ने भनिए पनि सम्भव नभएपछि आज बिहान मतदान हुन लागेको हो । 

निर्वाचन समितिका प्रमुख पदम पालले आज बिहान ७ बजेबाट मतदान हुने जानकारी दिएका छन् । 

एमाले सुदूरपश्चिमको अध्यक्षका लागि चारजनाले उमेदवारी दिएका छन् । निर्वाचन समितिको प्रारम्भिक विवरणअनुसार कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना, वचनबहादुर सिंह र भरत साउदले अध्यक्षमा उमेदवारी दिएका छन् ।

सहमतिमा नै नेतृत्व चयनका लागि प्रयास जारी रहेकाले निर्वाचन प्रक्रियमा ढिलाइ भएको एक नेताले जानकारी दिए ।

“नेताहरू सहमतिकै लागि भनेर लागिरहनुभएको छ । अध्यक्षमा कृष्णप्रसादजी वा कमलजीमध्ये एकजनामा सहमतिको प्रयास भएको हो,” ती नेता भन्छन्, “तर, दुवैजना तयार नभएकाले चुनाव नै हुने देखिन्छ ।”

कर्णाली अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा नै नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । तर, सहमति वा निर्वाचन भन्ने टुंगो नलाग्दा अधिवेशन लम्बिएको छ । 
 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  ०६:१३
प्रतिक्रिया दिनुहोस्