नेभिगेशन
प्रदेश

राउतलाई चुनौती, अन्यलाई अवसर

२०७९ को निर्वाचनमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतान्तरले पराजित गरेका जनमत पार्टीका अध्यक्ष सीके राउतलाई यसपटक आफ्ना पूर्वसहकर्मीहरूले कडा चुनौती दिएका छन् ।

सप्तरी, माघ १८

आसन्न निर्वाचनको सप्तरी–२ मा यसपटक पनि चुनावी प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ ।                

यस क्षेत्रबाट जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउत, जनता समाजवादी पार्टीबाट पूर्व सिँचाइ मन्त्री उमेश यादव, नेपाल जनता पार्टीबाट पूर्व सांसद रञ्जुकुमारी ठाकुर, स्वाभिमान पार्टीबाट मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामजी यादव, नेपाली कांग्रेसबाट रामकुमार यादव, नेकपा (एमाले) बाट मोहम्मद जियाउल रहमान, नेपाली कम्युनिष्ट पार्टीबाट सूर्यनाथ यादव (सुभाष)लगायत कुल ३४ जनाले उम्मेदवारी दिएका छन् ।                      

यस पटक जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, जसपा नेपालका उम्मेदवार पूर्व मन्त्री उमेश यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका रामजी यादवबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । २०७९ को निर्वाचनमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतान्तरले पराजित गरेका जनमत पार्टीका अध्यक्ष सीके राउतलाई यसपटक आफ्ना पूर्वसहकर्मीहरूले कडा चुनौती दिएका छन् । यसपटक उपेन्द्र यादव सो क्षेत्र छाडेर सप्तरी–३ पुगेका छन् । कहिले मधेशवादी दलका राष्ट्रिय अध्यक्षको टकराव त कहिले मधेशका ठूला नेताले उम्मेदवारीले रोचक बनेको यो क्षेत्र यसपटक गत निर्वाचनका सहकर्मीहरूको फरक कित्ताका कारण पनि रोचक बनेको छ ।                  

जनमत पार्टी अध्यक्ष राउत गत निर्वाचनमा सप्तरी–२ बाट जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै संसद पुगेका थिए । उपेन्द्र यादव यसपटक सप्तरी–३ पुगे पनि गत निर्वाचनमा सीके राउतसँगै सप्तरी २ (क) बाट प्रदेश सभामा निर्वाचित सतिश सिंहले आफ्नै भाइको नेतृत्वमा स्वाभिमान पार्टी र केही महिनाअघि मात्र जनमत छाडेका शरद सिंह यादवले आफ्नै नेतृत्वको जनअधिकार पार्टीबाट राउतविरुद्ध उम्मेदवारी दिएका छन् ।                          

त्यसैगरी २०७० मा तत्कालीन सप्तरी– ३ बाट निर्वाचित उमेश यादव नेकपा त्यागेर हालै जसपा नेपालमा प्रवेश गरेर सीके राउतसँगै चुनावी मैदानमा छन् । २०७९ निर्वाचनमा माओवादी केन्द्रबाट सप्तरी–२(ख) प्रदेश सभामा प्रतिस्पर्धा गरेका उनी जनमत पार्टीको लहरमा पराजित भएका थिए ।                        

यसबीच राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी छापले समेत सप्तरी–२ मा पनि लहर बनाउँदै लगेको देखिन्छ । खासगरी परम्परागत दल र नेताप्रति असन्तुष्ट मतदाता र युवा मतदातालाई रास्वपाले आकर्षित गरिरहेको छ । जसको असर पुराना नेताहरूलाई पर्ने देखिन्छ । रास्वपाबाट उम्मेदवार रामजी यादवले रास्वपा संघीयताविरोधी नरहेको अजेण्डा अघि सार्दै मत मागिरहेका छन् ।              

गत निर्वाचनमा जनमत पार्टीका अध्यक्ष राउतले ३५ हजार ४२ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९७९ मत प्राप्त गरेका थिए ।                  

यसपटक उपेन्द्र यादव क्षेत्र नं. ३ बाट उम्मेदवार भए पनि जनमत पार्टीबाटै मधेश प्रदेशका पूर्व मुख्यमन्त्री रहेका तथा पछि पार्टीबाट अलग भएर नयाँ दल गठन गरेका शरद सिंह यादवले यही क्षेत्रबाट उम्मेदवारी दिएपछि यहाँको राजनीतिक चासो बढेको स्थानीय बताउँछन् । जिल्लाको क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका जिल्ला सभापति रामदेव साह, नेकपा (एमाले) का निवर्तमान पोलिटब्यूरो सदस्य सुमनराज प्याकुरेल, जनमत पार्टीका उपाध्यक्ष तथा प्रचार–प्रसार प्रमुख डा. जयकान्त राउतसहित २१ जना उम्मेदवार छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्