नेभिगेशन
प्रदेश

बीमा रकम रोकिँदा पर्वतको प्रदेश अस्पताल संकटमा

पर्वत । लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत संकटमा परेको छ ।              

स्वास्थ्य बीमा गरेका बिरामीको उपचार हुने जिल्लाको एक मात्र प्रदेश अस्पतालले तीन करोड रुपैयाँभन्दा बढी भुक्तानी पाउन नसक्दा उपचार सेवा प्रभावित भएको बताइएको छ । गत आर्थिक वर्षदेखिको स्वास्थ्य बीमा तथा ‘डायलायसिस’ बापतको तीन करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी नपाउँदा अस्पतालका क्रियाकलाप प्रभावित बनेको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डीराज पौडेलले जनाए ।                

यसले गर्दा औषधि तथा उपकरण खरिद, कर्मचारीहरूको तलब भुक्तानी तथा अन्य नियमित काममा अस्पतालले अप्ठ्यारो भोगिरहेको छ । स्वास्थ्य बीमा गरेका बिरामीहरू स्वास्थ्य समस्या भएपछि अस्पताल आउँछन् । अस्पतालले बिरामीहरूलाई सेवा दिनै पर्छ । तर बीमाको भुक्तानी ढिलाइ हुँदा सेवाग्राहीलाई औषधि, सहायता सामग्री तथा ल्याबसम्बन्धी सेवा दिन समस्या भइरहेको पौडेल बताउँछन् ।                        

यतिञ्जेल अस्पताल व्यवस्थापन समितिको कोषबाट खर्च व्यवस्थापन गरिए पनि अब भने अस्पताल संकटमा परेको छ । ‘बीमाको रकम भुक्तानी नआउँदा औषधि खरिद प्रक्रियासमेत अवरोध भइरहेको छ,’ डा. पौडेलले भने । जिल्लामा स्वास्थ्य बीमामा आवद्ध झण्डै ४५ प्रतिशत नागरिकले यसै अस्पतालबाट सेवा लिने गरेका छन् ।                        

एक परिवारका लागि तीन हजार पाँच सय रुपैयाँको प्रिमियम भुक्तानी गर्दा पाँच जनाका लागि सरकारले एक लाख रुपैयाँ बराबरको बीमा रकम भुक्तानी दिने गर्दछ । पाँच जनाभन्दा बढी सदस्य रहेका साधारण परिवारको हकमा प्रतिसदस्य थप सात सय रुपैयाँ योगदान रकम बुझाउँदा उपचार सुविधामा एक लाखमा २० हजारका दरले थपिँदै प्रतिवर्ष अधिकतम दुई लाख रुपैयाँसम्मको उपचार सुविधा उपलब्ध हुन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्