नेभिगेशन
प्रदेश

कैलाली ५ः त्रिपक्षीय प्रतिस्पर्धा प्रवल

यो निर्वाचन क्षेत्र एक मात्र उपमहानगरपालिका भएको क्षेत्र भएकाले अप्रत्याशित परिणाम आउने अनुमान गरिएको छ ।

कैलाली, माघ १८

सुदूरपश्चिमको राजधानी कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा तीन ठूला पार्टीका उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कैलाली–५ मा १५ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।      

कैलाली–५ मा कांग्रेसका नरनारायण शाह, नेकपा एमालेका यज्ञराज ढुंगाना उपाध्याय, नेपाली कम्युनिष्ट पार्टीका प्रेमबहादुर आले, राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबहादुर चन्द, राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन शाही, नेकपा माओवादीका बबरजंग बहादुर सिंह, उज्यालो नेपाल पार्टीका चन्द्र साउद चुनावी मैदानमा छन् ।                      

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका जगन्नाथ चौधरी, नेपाल मजदुर किसान पार्टीका तृष्णा पुन मगर, आम जनता पार्टीका देवसिंह विष्ट, जनमत पार्टीका धनबहादुर चौधरी, मितेरी पार्टीका राधिकाकुमारी कार्की, राष्ट्रिय जनमोर्चाका शोभामणि जोशी तथा स्वतन्त्र उम्मेदवार प्यारेलाल राना र ईश्वरी विष्टको उम्मेदवारी रहेको छ ।                          

मतदाता घरदैलो र क्षेत्र भ्रमण कार्यक्रममार्फत उम्मेदवारहरूसँग प्रत्यक्ष संवादमा रहँदा आगामी चुनाव निकै प्रतिस्पर्धात्मक हुने संकेत देखिएको छ । नेकपा (एकीकृत कम्युनिष्ट पार्टी) का पूर्वमन्त्री प्रेम आलेले आफ्ना राजनीतिक अनुभव र दुईपटक मन्त्री भएको कामको अनुभवलाई चुनावी एजेण्डामा राखेका छन् । नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाह पनि आफ्ना समर्थक र स्थानीय मतदातासँग सम्पर्कमा रहेको र आफ्नो जित्ने आधार प्रष्ट रहेको बताएका छन् । यो निर्वाचन क्षेत्र एक मात्र उपमहानगरपालिका भएको क्षेत्र भएकाले परिणाममा नयाँ चुनौतीको सम्भावना देखिन्छ ।                        

तर यता राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार डा. आनन्दबहादुर चन्दले पनि घरदैलो कार्यक्रम गर्दै चुनावी प्रचारप्रसार र घरदैलो अभियान अघि बढाएका छन् । मतदातासँग संवाद गर्दै आफ्ना योजनाहरू, सुशासन र जनस्वास्थ्यका मुद्दाहरू उनले उठाइरहेका छन् ।                    

अन्य उम्मेदवारहरू पनि घरदैलो र स्थानीय सभा कार्यक्रममार्फत मतदातालाई आफ्नो एजेण्डा बुझाउने प्रयास गरिरहेका छन् । कैलाली ५ बाट प्रतिनिधि सभा सदस्य बन्ने दौडमा रहेको यो चुनावले सुदूरपश्चिममा राजनीतिक माहोललाई कसरी असर पार्नेछ, त्यो आगामी नतिजाले स्पष्ट पार्ने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्