नेभिगेशन
विश्व

नेटो भंग भए युरोप सुरक्षित रहला ?

ग्रीनल्याण्डलाई लिएर ट्रम्पसँग भएको टकरावपछि, युरोपेली नेताहरू अमेरिकाले जुनसुकै बेला सैन्य गठबन्धन (नेटो) छोड्यो भने के होला भन्ने प्रश्न गम्भीर रूपमा सोच्न बाध्य भएका छन् ।

लन्डन । अप्रिल १०४९ मा स्थापना भएको नेटो स्थापना हुनेबित्तिकै प्रख्यात पत्रिका इकोनमिस्टले यस्ता संस्थाको औसत आयु पाँच वर्षको हुने बताउँदै चाँडै नै यो संस्था विघटन हुने बताएको थियो । त्यसयता करिब आठ दशक बितिसकेको छ । संसारकै सबैभन्दा शक्तिशाली सैन्य गठबन्धनको रूपमा नेटो जस्तोसुकै परिस्थितिमा पनि र खासगरी सङ्कटको घडीमा, संयुक्त राज्य अमेरिका (अमेरिका) ले आफ्ना सहयोगी देशहरूको रक्षा गर्नेछ भन्ने विश्वासमा लामो समयदेखि टिकेको थियो ।                  

तर यही विश्वास डोनाल्ड ट्रम्पको कार्यकालमा गम्भीर रूपमा कमजोर बन्यो । उनले पटक–पटक नेटोको उपयोगिता र अमेरिकाले वहन गर्नुपर्ने सुरक्षा दायित्वमाथि प्रश्न उठाए । गत महिना मात्रै उनले डेनमार्कअन्तर्गत पर्ने ग्रीनल्याण्ड आफ्नो नियन्त्रणमा लिन सकिने धम्की दिएपछि यो विश्वास झन् चकनाचुर भयो । डेनमार्क नेटोको निकट सहयोगी देश हो ।              

यो घटना एउटा ठूलो भूकम्पसरह थियो । यसले अमेरिकाका सहयोगीहरूलाई अनिच्छापूर्वक नै आफ्नै सुरक्षाबारे नयाँ ढंगले सोच्न बाध्य बनायो ।              

‘यो नाटोको ७५ वर्षको इतिहासमै नदेखिएको कुरा हो,’ इभो डाल्डर भन्छन्, अमेरिकाका पूर्व नाटो राजदूत इभो डाल्डरजो भन्छन्, ‘यो त दोस्रो विश्वयुद्धपछि युरोपको सुरक्षा अमेरिका बिना सोच्नै नसकिने भन्ने अवधारणालाई नै हल्लाउने कुरा हो ।’                  

१९४९ मा नेटो सन्धि बनेदेखि युरोपेली नेताहरूले सधैं अमेरिकाले अन्ततः आफ्ना प्रतिबद्धताबाट पछि नहट्ने विश्वास गर्दै आएका थिए । तर अहिले धेरै युरोपेली साझेदारहरूलाई त्यो विश्वास नै ठूलो भ्रम हुनसक्ने डर लागेको छ । यदि त्यो विश्वास टुट्यो भने, दशकौँदेखि शान्त र सुरक्षित बनाइराखेको संस्थामाथि गहिरो चोट पुग्ने फाइनान्सियल टाइम्सले लेखेको छ ।              

पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टुस्कले ब्रसेल्समा भएको युरोपेली संघ (ईयू) को शिखर सम्मेलनमा भने, ‘हामी कसरी आफूलाई सुरक्षित राख्ने भन्ने अब हामी गम्भीर रूपमा सोच्नुपर्ने बेला आएको छ ।’                

लन्डनस्थित रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युटकी विश्लेषक तथा नेटो र पेन्टागनकी पूर्व अधिकारी राचेल एलहुइस भन्छिन्, ‘ट्रम्पको व्यवहारले अमेरिकाको प्रतिबद्धता कति भरपर्दो छ भन्ने प्रश्न उठाएको छ ।’                    

उनका अनुसार ट्रम्प अप्रत्याशित र अमेरिकाका दीर्घकालीन रणनीतिक हितहरूप्रति अमेरिका उदासीन हुँदै जाँदा युरोपेली अधिकारीहरू अब यो प्रश्न टार्न नसक्ने अवस्थामा पुगेका छन्, कि अमेरिका पछि हट्यो भने के गर्ने?                        

‘हामी विकल्पहरू तयार पार्न बाध्य भएका छौँ,’ एक वरिष्ठ युरोपेली अधिकारी भन्छन्, ‘हामी के–के प्रतिस्थापन गर्न सक्छौँ, के–के गर्न सक्दैनौँ र त्यसको लागत कति पर्छ भन्नेबारे स्पष्ट हुनुपर्छ ।’              

युरोपले प्रतिस्थापन गर्न सक्छ ?          

ट्रम्पको व्यवहारले युरोपेली शक्तिहरूलाई एउटा कठोर वास्तविकतासँग जुध्न बाध्य बनाएको छ, अमेरिकाबाट सुरक्षा जिम्मेवारी क्रमशः हट्दै जान सक्छ ।                  

यद्यपि नेटोका सबै सदस्यहरूले सैन्य खर्च बढाउने प्रतिबद्धता जनाइएका छन् तर दशकौँसम्म अमेरिकी क्षमतामा निर्भर रहँदै आएकाले उनीहरू अहिले तुरुन्तै त्यो खाली ठाउँ भर्न सक्ने अवस्थामा छैनन् ।                    

युरोपेली संघका एक उच्च अधिकारीका अनुसार, ‘अमेरिकाले उपलब्ध गराउँदै आएको ‘अन्तिम सुरक्षा छाता’ बिना युरोपको रक्षा कल्पना गर्न निकै गाह्रो छ ।’                        

अमेरिकाले प्रदान गर्दै आएको खुफिया जानकारी, उपग्रह प्रणाली, लामो दूरीको हतियार, हवाई प्रतिरक्षा, रसद, तथा परमाणु प्रतिरोधात्मक शक्ति जस्ता पक्षा युरोपका लागि तुरुन्तै प्रतिस्थापन गर्न सकिने खालका होइनन् ।                      

विशेषगरी परमाणु छाताको कुरा गर्दा, युरोप लगभग पूरै अमेरिकामा निर्भर छ । फ्रान्स र बेलायतसँग परमाणु हतियार भए पनि ती सम्पूर्ण युरोपको सुरक्षाका लागि पर्याप्त छैनन् ।                  

एक वरिष्ठ युरोपेली कूटनीतिज्ञ भन्छन्, ‘यदि अमेरिका साँच्चिकै पछि हट्यो भने, युरोपले आफ्नै परमाणु प्रतिरोध क्षमताबारे गम्भीर रूपमा सोच्नुपर्नेछ । यो कुरा पहिले लगभग निषेधित जस्तै थियो ।”              

युक्रेन युद्ध र युरोपको कमजोरी                

युक्रेनमा जारी युद्धले युरोपको सैन्य कमजोरीलाई झन् स्पष्ट बनाइदिएको छ । युक्रेनलाई सहायता पुर्‍याउने क्रममा युरोपेली देशहरूले आफ्नै हतियार भण्डार लगभग खाली बनाइसकेका छन् ।                    

अमेरिकाले दिएको सहयोग बिना युक्रेनको प्रतिरोध क्षमतामा ठूलो गिरावट आउने स्पष्ट देखिन्छ । यदि अमेरिका पछि हट्यो भने, युक्रेन मात्र होइन सम्पूर्ण युरोपेली सुरक्षा संरचना नै गम्भीर संकटमा पर्न सक्छ ।                  

यसले युरोपलाई एउटा असहज प्रश्नमा घोत्लिन बाध्य बनाएको छ कि वास्तवमा युरोप आफ्नो रक्षा आफैं गर्न सक्षम छ त ?        

अहिलेको यथार्थ के हो भने, युरोप अझै पनि अमेरिकाबिना दीर्घकालीन सैन्य संघर्ष धान्न सक्षम छैन ।                    

अकल्पनीय तर वास्तविक सम्भावना            

केही वर्षअघिसम्म अमेरिका नेटोबाट पछि हट्ने कल्पनासमेत गर्न सकिँदैनथ्यो । तर ट्रम्पको व्यवहारले त्यो ‘अकल्पनीय’ कुरा अब सम्भावनाको दायरामा ल्याइदिएको छ ।                    

युरोपेली राजधानीहरूमा अहिले चुपचाप तर गम्भीर छलफल भइरहेको छ कि अमेरिका साँच्चै पछि हट्यो भने, के युरोप एकताबद्ध रहन सक्छ त ?                  

ग्रीनल्याण्ड विरूद्ध युक्रेन, ग्रीनल्याण्ड विरूद्ध नेटोको धारा ५, यी सबैको तुलना अब सैद्धान्तिक बहस मात्र रहेनन् । यी प्रश्नहरूले युरोपको भविष्य निर्धारण गर्नेछ । धारा ५ अनुसार, नेटोमा आबद्ध कुनै पनि एउटा देशमा कुनै अर्को मुलुकले आक्रमण गरे, त्यो अमेरिकामाथि आक्रमण गरेको ठहरिने छ र तिनको रक्षाका लागि नेटो सम्बद्ध सबै देशले त्यसको प्रतिकार गर्नेछन् ।              

एक युरोपेली अधिकारी भन्छन्, ‘यदि हामीले आफ्नो सुरक्षा आफैं गर्न चाहँदैनौँ भने, हामीले अरू कसैको भर पर्नुपर्छ तर यदि अमेरिका नै भरोसालायक रहेन भने, युरोपले आफ्नो जिम्मेवारी आफैं लिन बाध्य हुन्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्