नेभिगेशन
विश्व

शान्तिदूत आलोकको २३ सय माइल यात्रा

जर्जिया । भारतको कोलकाताको सडकमा भुस्याहा जीवन बिताएको कुकुर ‘आलोक’ यतिबेला संसारकै ‘सद्भावना दूत’ बन्न पुगेको छ ।              

आलोक कहाँ जन्मियो र हुर्कियो भन्नेबारे उति धेरै जानकारीहरू पाइँदैनन् तर सन् २०२२ मा भियतनामी तथा अमेरिकी बौद्ध भिक्षुहरूले भारतभर शान्ति पदयात्रा गर्दै जाँदा कोलकातामा आलोकले पछ्याउन थाल्यो । शुरुमा त भिक्षुहरूले ‘आलोक’लाई उति ध्यान दिएका थिएनन् तर लामो समयसम्म पछ्याइरहेको देखेपछि भिक्षुहरूले पनि उसलाई माया गर्न थाले ।                

यसबीच कोलकातामा भएको एउटा सानो दुर्घटनामा आलोक घाइते हुन पुग्यो । त्यो दुर्घटनामा भिक्षुहरूले उसलाई उपचार गरे । त्यो उपचारपछि त भिक्षु र ‘आलोक’बीचको आत्मीयता अझ बढेर गयो । त्यही बेला भिक्षुहरूले स्ट्रे जातको यो कुकुरको नाम ‘आलोक’ राखिदिएका थिए ।                    

भारतमा भिक्षुहरूको ११२ दिनको यात्राका क्रममा आलोकले स्थानीय समुदायसँग नजिक्याउन भूमिका खेलेको भन्दै पहिलो पटक इन्डियन एक्सप्रेस अखबारले प्रशंसा गर्दै लेख्यो । त्यसपछि भने अन्य अखबारले पनि उसका बारेमा लेख्न थाले ।                  

यसपछि गत वर्ष अक्टोबर २६ बाट १९ जना भिक्षुहरूको यो समूहले अमेरिकामा ‘वाक फर पिस’ यात्रा सुरु गरे । अमेरिकाको टेक्सस राज्यको फोर्ट वर्थबाट सुरु भएको यो ‘शान्तियात्रा’मा भिक्षुसँगै ‘आलोक’ पनि पैदल यात्रामा थियो । कतिपय अवस्थामा ऊ बिरामी पर्दा उसलाई गाडीमा समेत बोकियो । अधिकांश अवस्थामा भिक्षुसँगै हिँडेको ‘आलोक’ले पदयात्रामा कहिल्यै अल्छ्याइँ नगरेको, अनुशासित, ध्यानमग्न रहने गरेको मिडियाहरूले उल्लेख गर्ने गरेका छन् ।              

अहिलेसम्म यी भिक्षुसँगै आलोकले अमेरिकाका १० राज्य, २३ सय माइल पार गर्दै आउँदो फेब्रुअरी १२ मा राजधानी वाशिङ्टन डिसी पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्