काठमाडौं – निर्वाचन आयोगले राजनीतिक दलहरूले बुझाएको समानुपातिकतर्फको बन्दसूचीबाट ७६ उम्मेदवारको नाम हटाएको छ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूले पेस गरेका उम्मेदवारको बन्दसूचीमाथि छानबिनपछि ती नाम हटाएको हो ।
प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै उम्मेदवार हुने योग्यता नपुगेकाहरूको नाम हटाइएको जनाएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा पर्न आएका उजुरी, प्रचलित कानूनले तोकेको उम्मेदवारको योग्यता तथा अयोग्यतासम्बन्धी व्यवस्था, निर्वाचन आयोगबाट विभिन्न मितिमा भएका निर्णय र राजनीतिक दलहरूबाट प्राप्त जानकारीका आधारमा उम्मेदवारहरूको विवरण आयोगले रूजु गरेको हो ।
यसरी नाम हट्नेमा कांग्रेस र एमालेबाट एक/एक जना छन् भने नेपाली कम्युनिष्ट पार्टीबाट ३ जना छन् । आयोगका अनुसार कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका २१ जना, प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका २५ जना, निर्वाचन आयोगबाट तोकिएको जरिवाना भुक्तान नगरेका १० जना, २५ वर्ष उमेर पूरा नभएका ४ जना, मतदाता नामावलीमा नाम समावेश नभएका एक जना तथा मतदाता नामावली पिछडिएको क्षेत्रमा नरहेका २ जनाको नाम हटाइएको छ
त्यस्तै, महिला उम्मेदवार पेस हुनुपर्ने स्थानमा पुरूषको नाम पेस गरिएका कारण एक जनाको नाम हटाइएको छ भने सम्बन्धित राजनीतिक दलकै आग्रहमा १० जनाको नाम बन्दसूचीबाट हटाइएको छ ।
निर्वाचन आयोगका अनुसार प्रजातान्त्रिक पार्टी नेपालकी पूजाकुमारी चौधरी, उन्नत लोकतन्त्र पार्टीकी प्रियंका शर्मा, नेपाली जनता दलकी अस्मिता जिम्बा र एकल चुनाव चिह्न मोबाइलबाट उम्मेदवार रहेकी मुना प्रधानको नाम उमेर नपुगेका कारण बन्दसूचीबाट हटेको आयोगले जनाएको छ । आम जनता पार्टी (आजपा) र जनादेश पार्टीले एकल चुनाव चिह्न मोबाइल मार्फत प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्दैछन् ।
उमेर नपुगेर बन्दसूचीबाट नाम हटेकी चौधरी सप्तरीको शम्भुनाथ–६ की हुन् । प्रियंका शर्मा धनुषाको जनकपुरधाम–४ धनुषा, जिम्बा नुवाकोटको पञ्चकन्या–र प्रधान काभ्रेको मण्डनदेउपुर–७ की हुन् ।
त्यस्तै, मतदाता नामावलीमा नाम नभेटिएपछि नेपाली जनता दलकी समानुपातिक उम्मेदवार किरण यादवको नाम हटाइएको छ । जनता लोकतान्त्रि पार्टीकी विमला स्वाँर र नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का लालुराम जैसीको नाम पिछडिएको क्षेत्रबाट समानुपातिकतर्फ राखिए पनि उक्त क्लष्टरमा उनीहरूको नाम मतदाता नामावलीमा नभेटिएपछि हटाइएको छ । त्यस्तै, महिलाको नाम हुनुपर्नेमा नेपाल मजदुर किसान पार्टीले पुरुषको नाम पठाएको पाइएपछि हटाइएको छ । नेमकिपाले सुनर मुखिया विनको नाम राखेको थियो ।
प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन २५ वर्ष पुरा भएको हुनुपर्ने व्यवस्था छ । संविधानको धारा ८७ अनुसार प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन नेपालको नागरिक हुनुपर्छ । २५ वर्ष उमेर पूरा भएको, नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको, कुनै संघीय कानूनले अयोग्य नभएको र कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्ने भनिएको छ ।