नेभिगेशन
अर्थतन्त्र

कोहलपुर–सुर्खेत प्रसारण लाइन सञ्चालनमा

सुध्रियो लुम्बिनी–कर्णाली विद्युत् प्रणाली

काठमाडौं, माघ १९

कोहलपुर–सुर्खेत १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । बाँकेको कोहलपुर सबस्टेसनदेखि सुर्खेतको सुब्बाकुना सबस्टेसनसम्म ५२ किलोमिटर लम्बाइको प्रसारण लाइन आइतबार मध्यरातिबाट ‘लोड’ दिएर सञ्चालनमा ल्याइएको हो ।                    

कर्णाली प्रदेशको विद्युत् प्रसारण तथा वितरण प्रणालीको गुणस्तरका लागि यो पूर्वाधारलाई महत्वपूर्ण मानिएको छ । केही दिनको परीक्षणपछि प्रसारण लाइन औपचारिकरूपमा सञ्चालनमा ल्याइएको आयोजना प्रमुख रविकुमार चौधरीले बताए । ‘अहिले सुर्खेतसहित कर्णाली प्रदेशका अन्य केही जिल्लामा जाने विद्युत् प्रसारण लाइनको सुर्खेत सबस्टेसनबाट गइरहेको छ,’ उनले भने, ‘पहिले ३३ केभीमा चलिरहेको प्रसारण लाइनलाई १३२ केभीले प्रतिस्थापन गरेपछि अहिले विद्युत्को आपूर्ति व्यवस्थापनमा उल्लेख्य सुधार भएको छ ।’                      

नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइनको निर्माण ६५ करोड रुपैयाँ तथा कोहलपुर र सुर्खेतमा गरी दुईवटा सबस्टेसन ७५ करोड रुपैयाँ लागतमा सम्पन्न गरेको हो । ‘सुरुमा यो प्रसारण लाइन निर्माण गर्न एक अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । तर, भारतीय ठेकेदार कम्पनीले अनुमानित लागतभन्दा धेरै घटेर बोलपत्र कबोल गरेकाले यसको लागत ६५ करोड आएको हो,’ उनले भने । निर्माण अवधि लम्बिए पनि प्रशासनिक खर्चबाहेक प्रसारण लाइनको अरू लागत नबढेको पनि चौधरीले बताए । प्रसारण लाइनको रुटमा १६२ वटा टावर निर्माण गरिएको छ ।                

कोहलपुर–सुर्खेत प्रसारण लाइन कर्णाली प्रदेशको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधार गर्ने उद्देश्यले निर्माण गरिएको हो । यो नै कर्णाली प्रदेशसँग जोडिएको पहिलो १३२ केभी प्रसारण लाइन हो । यो प्रसारण लाइन सञ्चालनमा आउँदा कर्णाली प्रदेशको विद्युतीकरण विस्तार तथा गुणस्तर सुधारमा ठूलो योगदान पुगेको विद्युत् प्राधिकरणले जनाएको छ ।                    

यसअघि, कर्णाली प्रदेशमा ३३ केभी प्रसारण लाइनबाट विद्युतीकरण हुँदै आएको थियो । ३३ केभी प्रसारण लाइनको रुट लामो हुँदा प्राविधिक चुहावट धेरै भई ट्रिपिङ तथा लो–भोल्टेजको समस्या थियो । ३३ केभीलाई १३२ केभी प्रसारण लाइनले प्रतिस्थापन गरेलगत्तै भोल्टेजको गुणस्तरमा सुधार आएको चौधरीले बताए ।                        

यो प्रसारण लाइन सञ्चालनमा आउँदा कर्णालीको औद्योगिक विकासले गति लिने विद्युत् प्राधिकरणको भनाइ छ । चौधरीका अनुसार अब कर्णाली प्रदेशमा २०० मेगावाट विद्युत् प्रवाह गर्न सकिनेगरी प्रसारण पूर्वाधार तयार भएको छ ।              

विद्युत् प्राधिकरणले यो प्रसारण लाइन निर्माण थालेको ६ वर्षमा सम्पन्न गरी सञ्चालनमा ल्याएको हो । भारतको आरएस इन्फ्रा प्रोजेक्ट कम्पनीले प्रसारण लाइन निर्माणको काम गरेको हो । भारतीय कम्पनीसँग २०७६ असार २२ मा ठेक्का सम्झौता भएको थियो ।                      

ठेकेदार कम्पनीले २०७७ असारदेखि प्रसारण लाइनको रुटमा काम गर्न सुरु गरेको थियो । ठेक्का सम्झौताअनुसार निर्माण कम्पनीले ३ वर्षभित्र प्रसारण लाइन बनाइसकेर प्राधिकरणलाई हस्तान्तरण गर्नुपर्ने थियो । तर, प्राधिकरणले प्रसारण लाइनको रुट खाली गरेर दिन नसकेपछि निर्माण अवधि लम्बिँदै गएको थियो । ठेकेदार कम्पनीले निर्माण लम्ब्याएपछि ५ पटक म्याद थपपछि मात्रै प्रसारण लाइन निर्माण सम्पन्न भएको हो ।                    

प्रसारण लाइनको रुट बाँके र बार्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा समेत पर्ने भएको हुँदा वन क्षेत्रको जग्गा प्राप्ति तथा रुख विरुटा कटानको स्वीकृति लिने प्रक्रिया पूरा गर्न लामो समय लागेको थियो । प्रसारण लाइनको रुट पर्ने जिल्लाका स्थानीयले लामो समयसम्म अवरोध गरेकाले तथा निकुञ्ज क्षेत्रको रुख कटानको स्वीकृति ढिलो गरी आउँदा ठेकेदार कम्पनीलाई साइट क्लियर गरेर दिन नसक्दा सम्पन्न हुन पनि धेरै समय लागेको चौधरीले बताए । ‘प्रसारण लाइन निर्माण सुरु हुनासाथ कोभिड–१९ महामारीका बेला लकडाउन हुँदा काम नै गर्न सकिएन । त्यसपछि पनि राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा रुख विरुवा कटानको अनुमति पाउन धेरै समय कुर्नु पर्‍यो । फेरि राष्ट्रिय निकुञ्जको जग्गा उपयोग गरेबापत उसलाई बढी जग्गा दिएर सोधभर्ना दिनुपर्ने भयो । जग्गा प्राप्तिमा पनि समय लाग्यो र ढिला हुन पुग्यो,’ उनले भने ।                          

बाँकेको वैजनाथ गाउँपालिका–१ गाभर र बाँनियाटारका स्थानीयवासीले समेत प्रसारण लाइन निर्माणको काममा अवरोध गरेपछि निर्माण अवधि थप लम्बिन पुगेको थियो । गाभर र बानियाँटारका स्थानीयले प्रसारण लाइन आयोजनाविरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेका थिए । त्यसका कारण प्राधिकरणले ४२ महिनासम्म काम गर्न सकेको थिएन । अदालतले आवश्यक मुआब्जा दिएर निर्माण रोक्न नहुने जनाउँदै रिट खारज े गरिदिएपछि प्रसारण लाइनको काम अगाडि बढेको थियो ।              

प्रसारण लाइनको ३२ किलोमिटर लामो सुर्खेत–दैलेख खण्ड अहिले निर्माणाधीन छ । वन क्षेत्रको रुख कटानको स्वीकृति लिन बाँकी रहेको रुट बाहेकका स्थानमा नेपाली निर्माण कम्पनीले काम गरिरहेको आयोजना प्रमुख चौधरीले जानकारी दिए । उनका अनुसार प्रसारण लाइनको दैलेख खण्डको अहिले आइइई परिमार्जित गर्ने काम पनि सकिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्