नेभिगेशन
विश्व

संसार हल्लाउने एप्स्टिन प्रकरण के हो?

अभियोग सम्भव छैन तर नैतिकताले सोधिरहेको छ– कुनै व्यक्तिलाई औपचारिकरूपमा बाल यौन दुराचारी भनेर चिनिने, कम उमेरका केटीहरूको दुरुपयोग गर्ने नेटवर्कको मालिक भनेर आलोचित व्यक्तिसँग वर्षौंसम्म नजिकको सम्बन्ध राख्नु कानूनी अपराध नभए पनि, नैतिकरूपमा प्रश्नविहीन रहन मिल्छ ?

न्यूयोर्क । जेफ्री एप्स्टिन प्रकरण फेरि एकपटक संसारभर चर्चाको विषय बन्न पुगेको छ । अमेरिकी अर्बपति जेफ्री एप्स्टिनले संसारभरका धनाढ्यहरूलाई विभिन्न किसिमका यौन सुविधाहरू उपलब्ध गराउँथे । कम उमेरका बालिकाहरूसँग राजनीति र व्यवसायका शक्तिशाली व्यक्तिहरूको यौन तिर्खा भेटाउन भूमिका खेल्ने गर्थे ।              

पछि उनको यो कुकर्मको पोल खुलेपछि एप्स्टिन केही छोटो समयका लागि जेल परे तर निक्लिहाले । दोस्रो पटक जेल परेपछि भने उनले जेलमा नै आत्महत्या गरेका थिए ।              

केही समययता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनको तानाशाही प्रवृत्तिमाथि अंकुश लगाउन एप्स्टिनको कुकर्मको अनुसन्धान गर्न थालिएको थियो । सो अनुसन्धान गर्दा संघीय ब्यूरो (एफबीआई)ले लाखौं पृष्ठको जानकारी केही समयअघि अमेरिकी न्याय मन्त्रालयलाई जिम्मा लगाएको थियो र सो जानकारी हालै अमेरिकी न्याय विभागले सार्वजनिक गरेको छ ।              

ती जानकारीको एकमुष्ठ नाम नै ‘एप्स्टिन फाइल’ हो । यसले धेरै कुराको खुलासा गरेको छ तर गहिराइमा जाँदा यसले न्याय, शक्तिसन्तुलन र नैतिकताको प्रश्नलाई सरल बनाउनुको साटो झन् जटिल बनाइदिएको छ । यति ठूलो कागजातको खुलासाले जनताको जिज्ञासा र राजनीतिक तरंग त बढाएको छ तर पीडितका दृष्टिमा हेर्दा यो चरण अझै पनि अधुरो, अपूर्ण र कतै कतै अपमानजनकसमेत देखिएको विश्लेषकहरूले बताएका छन् ।                

सार्वजनिक भएका फाइलले कसैप्रति पनि कुनै नयाँ अभियोगमा मुद्दा नचल्ने संकेत देखिएको छ । भनाइको अर्थ, अनुसन्धान फाइलमा कसैको नाम हुनु वा उसको इमेल, फोटो वा अपराधीसँग सम्बन्ध देखिनु मात्रले अपराध कानूनीरूपमा प्रमाणित नहुने बताइएको छ ।              

न्याय प्रणालीको दृष्टिबाट यो कुरा तार्किक पनि देखिन्छ । राज्यले प्रमाण, कानूनी मापदण्ड र प्रक्रियाअनुसार मात्र अभियोग चलाउन सक्छ । लाजमर्दा इमेल, आपत्तिजनक फोटो वा बदनाम व्यक्तिसँग नजिकको सम्बन्ध देखिनुलाई मात्र आधार बनाएर मुद्दा दायर गर्न सम्भव हुँदैन । कानूनी ‘सत्य’ र सामाजिक–नैतिक ‘सत्य’बीच कति ठूलो अन्तर रहेछ भन्ने यहीँबाट प्रमाणित भएको छ ।    

पीडितमाथि विश्वासघात        

जेफ्री एप्स्टिनले आफूविरुद्धको मुख्य मुद्दा चल्नुअघि नै जेलमा आत्महत्या गरे । त्यसपछि धेरै पीडितले न्यायको बाटो अवरुद्ध भएको महसुस गरेका थिए । उनीहरूको प्रमाण, बयान र साहसले एप्स्टिनलाई अदालतसम्म घिसार्ने बाटो बनाएको थियो तर उनीहरूले अदालतको कठघराभित्र उसलाई प्रत्यक्ष सामना गर्ने अवसर पाएनन् । पछि एप्स्टिनकी प्रेमिका तथा अपराधकी सहभागिनी ग्लिस्लेन म्याक्सवेललाई २० वर्षको जेल सजाय दिइँदा केही राहत महसुस भने भयो । एप्स्टिनको सञ्जालका कुनै एक व्यक्तिको एकल अपराध मात्र नभएर एक किसिमको संगठित शक्तिसंरचना थियो भन्ने कुरा न्यायिक रूपले भने मान्यता पायो । तर अहिले कागजात सार्वजनिक हुँदा पनि पीडितहरूले राहतभन्दा बढी अपमान अनुभव गरेको गुनासो गरिरहेका छन् । कागजातमा केही पीडितहरूको पहिचान वा पहिचान गर्न सकिने विवरण उजागर भएको छ । पहिचान गोप्य राख्ने वाचा गरेका प्रहरी–अभियोजकहरूले भने फाइल ठूलो भएकाले स्वाभाविक गल्ती भएको जवाफ दिएर टारेका छन् । सरकारी तर्क, पीडितको दृष्टिले हेर्दा, एउटा प्राविधिक बहाना देखिन्छ ।                        

एप्स्टिनले शोषण गरेकामध्ये एक ड्यानिएल बेन्स्कीजस्ता महिलाहरूले सोधेको प्रश्न झन् कठोर छ– यदि राज्यले पीडितलाई नै ठीकसँग जोगाउन सक्दैन भने, यो सम्पूर्ण प्रक्रियाले कसलाई जोगाइरहेको छ ? शक्तिशालीहरूको सञ्जालका व्यक्तिहरूको प्रतिष्ठालाई ठूलो ठान्ने कि धेरै वर्षपछि बोल्न सक्ने हिम्मत जुटाएका कम उमेरमै दुरुपयोग भोगेका युवतीहरूको गरिमालाई ?    

षड्यन्त्रको सिद्धान्त          

एप्स्टिन प्रकरण लामो समयदेखि षड् यन्त्र–सिद्धान्तहरूको ऊर्जा–केन्द्र बनेको छ । शक्तिशाली राजनीतिज्ञ, अर्बपति, राजपरिवार र गुप्त संस्थाहरूको कथा जोडिँदा यसले ‘सबै कुरा लुकाइएको छ’ भन्ने धारणा झन् बलियो बनाउँदै आएको छ । नयाँ कानूनले न्याय विभागलाई फाइल सार्वजनिक गर्न बाध्य गर्‍यो तर न्याय मन्त्रालयले वास्तवमै कानूनको मर्मअनुसार पूर्णरूपमा सहयोग गर्‍यो कि गरेन भन्ने सांसदहरूले प्रश्न उठाइरहेका छन् । यसमा काम गरिरहेका सांसदहरू रो खन्ना र थोमस मासी कानून मन्त्रालयको कामप्रति यति असन्तुष्ट छन् कि उनीहरूले उच्च अधिकारीहरूविरुद्ध मानहानि वा महाभियोगको विकल्प खुलै रहेको बताएका छन् ।                    

यसैबीच, जेमी रस्किनजस्ता डेमोक््रयाट सांसदले पनि न्याय मन्त्रालयले राजनीतिक पक्षपात गरेको, विशेषतः राष्ट्रपतिलाई जोगाउन खोजेको आरोप लगाएका छन् । अर्को पक्षबाट हेर्दा, ट्रम्प समर्थकहरूले पनि यी कागजातले उनीहरूलाई दोषमुक्त बनाएको दाबी गरिरहेका छन् । यति धेरै आरोप–प्रत्यारोपका बीच एप्स्टिन प्रकरण एउटा कानूनी फाइलभन्दा पनि लोकतान्त्रिक संस्थाहरूको विश्वसनीयतामाथि चलिरहेको सार्वजनिक बहसको नमूना बन्न पुगेको छ । संसद्, न्याय मन्त्रालय र ह्वाइट हाउसबीचको अविश्वास, आलोचना र शक्ति– संघर्षले आम नागरिकको मनमा एउटै प्रश्न उठेको छ, ‘सत्यलाई खोज्ने काम भइरहेको छ कि आफ्नो–आफ्नो राजनीतिक शिविरलाई जोगाउने काम भइरहेको छ ?’                    

शक्तिशाली नामहरूको छाया              

फाइलमा ट्रम्पको नाम हजारौं पटक उल्लेख भएको तथ्य मात्रले पनि राजनीतिक बहसलाई निरन्तर तताइरहेको छ । एफबीआईले संकलन गरेको तर विश्वसनीय नठहरिएका विभिन्न यौन दुर्व्यवहारसम्बन्धी आरोपहरूको सूची पनि फाइलमा छ । एप्स्टिनका एक पीडितले म्याक्सवेलले आफूलाई पार्टीमा ट्रम्पसमक्ष उपस्थित गराएको बयानको कागजात पनि समावेश छ । यद्यपि यी कुनै पनि विवरण आधिकारिकरूपमा प्रमाणित अपराधका रूपमा मानिँदैनन् ।                    

यो बेइज्जतीको शृंखलामा बिल क्लिन्टनको नाम पनि छ । एप्स्टिनसँगका पुराना तस्बिर, निजी विमानमा गरेको धेरै पटकको यात्रा, स्विमिङ पुलको विवादित दृश्य र क्लिन्टनको कार्यालय तथा म्याक्सवेलबीच भएको बारम्बारको इमेल संवादले अनेक शंका जन्माएका छन् । क्लिन्टन पक्षले एप्स्टिनसँगको नाता सन् २००६ भन्दा अघि नै तोडिएको र उसले गरेका अपराधबारे आफूलाई थाहा नभएको दाबी दोहोर्‍याइरहेको छ ।                          

उता एप्स्टिन फाइलले बेलायती राजपरिवारमा पनि भूकम्प गएको छ । राजा चाल्र्सका भाइ राजकुमार एन्ड्र्युको एप्स्टिनसँग सम्बन्ध रहेको विवादले चरम रूप लिएको छ । त्यसो त, यसअघि नै एप्स्टिनसँग उनको सम्बन्धलाई लिएर बेलायती दरबारले राजकुमार पदवी नै खोसेको थियो । सो कुराको खुलासा बीबीसी टेलिभिजनसँगको अन्तरवार्तामा एन्ड्र्युले एप्स्टिनसँग भेटेको कुरालाई स्वीकारेका थिए । सो स्वीकारोक्तिले उनको राजकुमार पदवी नै गुम्न पुगेको थियो ।                        

अब यो मुद्दा अघि बढे एन्ड्र्युले अमेरिकी अदालतमा बयान दिनुपर्ने दिन नजिकिदैछ । बेलायती प्रधानमन्त्रीले पनि उनलाई अमेरिकी कंग्रेससमक्ष बयान दिन आग्रह गरेका छन् । यो प्रकरणमा उनी एउटी भुइँमा सुतिरहेकी एउटी बालिकासँग देखिएका छन् र सो तस्बिरले बेलायती राजतन्त्रप्रति भरोसा राख्ने धेरैलाई असहज बनाएको छ ।                        

यी शक्तिशाली व्यक्तिलाई कानूनी हिसाबले अपराधी नठर्‍याए पनि, सर्वसाधारणले भने उनीहरूलाई ‘अपराधी’ नै ठान्नेछन् । मानिसहरूले अब ‘कानूनतर्फबाट दोषी कि निर्दोष ?’ भनेर सोधिरहेका छैनन्, बरु ‘कस्तो जीवनशैली, कस्ता सम्बन्ध र कस्तो नैतिक मापदण्डका साथ ती धनी–शक्तिशाली मान्छेहरू बाँचिरहेका थिए ?’ भन्ने प्रश्न सोधिरहेका छन् ।                    

कानूनी निर्दोषता र नैतिक जिम्मेवारी                

एप्स्टिनसँग जोडिएका धेरै नामहरू अहिले बहसको धुरीमा छन् । अपराधको फैसला त अदालतले तोक्छ तर समाजले पनि आफ्ना आदर्श र मान्यताअनुसार कुनै स्तरको जिम्मेवारी माग्न सक्छ कि सक्तैन भन्ने प्रश्न पनि उठेको छ ।                  

कानूनले भनिदिएको छ, प्रमाण धेरै छैन, अभियोग सम्भव छैन तर नैतिकताले सोधिरहेको छ– कुनै व्यक्तिलाई औपचारिकरूपमा बाल यौन दुराचारी भनेर चिनिने, कम उमेरका केटीहरूको दुरुपयोग गर्ने नेटवर्कको मालिक भनेर आलोचित व्यक्तिसँग वर्षौंसम्म नजिकको सम्बन्ध राख्नु कानूनी अपराध नभए पनि, नैतिकरूपमा प्रश्नविहीन रहन मिल्छ ?                  

अपूर्ण टुंगो            

आजको अवस्थाबाट हेर्दा एप्स्टिन प्रकरण कुनै पनि अर्थमा ‘टुंगिएको’ छैन । मुख्य अभियुक्त मरे, सह–अभियुक्त जेल गइन्, तर पीडितको घाउ भरिएको छैन । न्याय मन्त्रालयले फाइल खोल्यो तर धेरै सांसद, नागरिक र पीडितको आँखामा अझै पनि ठूलो भाग अँध्यारोमै छ । यी फाइलहरूले एप्स्टिनको घेरामा को–को थिए भन्ने प्रश्नलाई अझ स्पष्ट बनाएको छ तर कसको कति जिम्मेवारी हो भन्ने प्रश्नलाई भने झन् अधूरो, खुला र विवादित बनाइदिएको छ ।                  

त्यसैले एप्स्टिन प्रकरण आज एउटा यौन अपराधीको व्यक्तिगत अपराधको कथा मात्र रहेन । यो हाम्रो समयको शक्तिसंरचना, राजनीतिक– आर्थिक गठबन्धन, न्याय प्रशासनको क्षमतामाथि उठेको गम्भीर प्रश्न र धनी–शक्तिशाली समूहको नैतिक दिवालियापनको सामूहिक प्रतिविम्ब बनेको छ ।                  

फाइलले केही सत्यहरूलाई उजागर गरिदिएको छ तर न्यायको चित्र अझै पूरा देखिएको छैन । यही अधूरोपनाले यो काण्डलाई लामो समयसम्म, कानूनी इतिहासमा मात्र होइन, सार्वजनिक चेतनामा पनि जीवित राख्ने देखिन्छ ।                      

अपराधको सुरुवात                

एप्स्टिनको अपराधको साम्राज्य सन् १९९० को दशकदेखि सुरु भएको मानिन्छ । उनी एक धनी र प्रभावशाली लगानीकर्ता थिए । उसको पहुँच हलिउडदेखि ह्वाइट हाउस र बेलायती राजदरबारसम्म थियो । सन् २००५ मा फ्लोरिडामा एक १४ वर्षीया किशोरीका अभिभावकले उनीमाथि यौन शोषणको उजुरी गरेपछि यो घटना पहिलोपटक सबैले थाहा पाए । त्यसबेलाको अनुसन्धानले उनले दर्जनौं नाबालिग किशोरीहरूलाई आफ्नो जालमा पारेको खुलासा गरेको थियो ।                  

सन् २००८ मा उनले अमेरिकी न्याय प्रणालीको एउटा छिद्र प्रयोग गर्दै अत्यन्तै खुकुलो ‘नन–प्रोसक्युसन’ सम्झौता गरे । यसपछि उनले संघीय अभियोगबाट मुक्ति पाए र राज्य स्तरको सामान्य सजाय मात्र भोगेर केही महिनामै जेलबाट बाहिर निस्किए । उक्त सम्झौताले एप्स्टिनको शक्ति कति बलियो थियो भन्ने प्रमाणित गरिदिएको थियो ।                    

सन् २०१९ मा ‘न्यूयोर्क टाइम्स’ र ‘मायामी हेराल्ड’जस्ता अखबारहरूले उनको अपराध कथा छापे । यसपछि उनलाई जुलाई २०१९ मा न्यूयोर्कबाट मानव तस्करीको अभियोगमा गिरफ्तार गरियो । तर, गिरफ्तारीको केही हप्तामै अगस्ट १०, २०१९ मा उनी न्यूयोर्कको उच्च सुरक्षा भएको जेलभित्र मृत फेला परे ।                  

पछिल्लो विवरण र राजनीतिक हतियार          

सन् २०२६ को सुरुवातमै अमेरिकी न्याय विभागले एप्स्टिनसँग सम्बन्धित लाखौं फाइलहरू सार्वजनिक गर्ने क्रममा यो मुद्दाले नयाँ मोड लिएको हो । ‘एप्स्टिन फाइल्स ट्रान्सपरेन्सी एक्ट’अन्तर्गत सार्वजनिक भइरहेका यी कागजात राजनीतिक हतियार बन्न पुगेका छन् । डेमोक्रेटहरूले ट्रम्पसँग जोडिएका विवरणहरूलाई चुनावी हतियार बनाइरहेका छन् भने रिपब्लिकनहरूले बिल क्लिन्टनका तस्बिरहरूलाई अघि सारेर प्रतिवाद गरिरहेका छन् । न्याय मन्त्रालयले कतिपय आरोपहरूलाई ‘सनसनीपूर्ण र झुटो’ भन्दै अस्वीकार गरे पनि, ती फाइलहरूमा गरिएका धेरै सम्पादनहरूले विभागको निष्पक्षतामाथि नै प्रश्न उठाएका छन् ।                    

जेफ्री एप्स्टिन प्रकरणको गहिराइलाई नियाल्दा यो एउटा व्यक्तिको अपराध मात्र नभएर शक्ति, राजनीति र न्याय प्रणालीको एउटा अँध्यारो पाटोका रूपमा प्रकट भएको छ । एप्स्टिनले दशकौंसम्म आफ्नो आर्थिक र राजनीतिक पहुँच प्रयोग गरेर यौन अपराधको सञ्जाल चलाउन सफल हुनुले विश्वका प्रभावशाली व्यक्तिहरूको नैतिक धरातलमाथि गम्भीर प्रश्न उठाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्