नेभिगेशन
मनोरञ्जन

३० जनालाई मिथिला चित्रकला तालिम

सेफ सन्तोष साह, सुडी महिला कल्याण समाज र रोटरी न्यातपोलको सहकार्यमा काठमाडौंमा आयोजना गरिएको मिथिला चित्रकला तालिम सम्पन्न भएको छ ।              

मिथिला कलाप्रति रुचि राख्ने युवा, महिला तथा बालबालिकालाई लक्षित गरी आयोजित तालिमका सहभागीलाई आधारभूत चित्रकला सीप, डिजाइन र रङ संयोजनका बारेमा प्रशिक्षण गराइएको थियो । तालिममा ३० जनाभन्दा बढी सहभागी थिए । कार्यक्रम सहभागीलाई प्रमाणपत्र हस्तान्तरण गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मिथिला चित्रकलासँग मिथिलाको इतिहास र संस्कृति जोडिएकाले यसको संरक्षण गर्न अत्यावश्यक रहेको बताइन् । ‘कलालाई आम्दानीको स्रोतसँग जोड्न सकेमा मात्र यसलाई पुस्तान्तरण गर्न पनि सहज हुन्छ । त्यसैले यसलाई आम्दानीसँग जोड्नका लागि पनि यस्तो तालिम आवश्यक हुन्छ । संस्कृतिलाई जगेर्ना गर्नका लागि चालेको यस कदमप्रति विशेष आभार व्यक्त गर्दछु,’ उनले भनिन् ।                

तालिममा सहभागी दिया पोखरेलले आफूलाई मिथिला पेन्टिङप्रति रुचि भएको उल्लेख गर्दै तीन दिनसम्म सञ्चालन भएको तालिमबाट धेरै ज्ञान सिकेको बताइन् । सहभागी कलाकार रामेश्वर चौरसियाले आफूले जीवनमा पहिलोपटक मैले यसरी रङ र क्यानभासको अनुभव लिएको बताए । परीक्षार्थीलाई प्रतिभा मिश्र, शारदा झा, सोनाम कर्ण, प्रिया पुर्वे, अदिती झालगायतका प्रशिक्षकले प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्