नेभिगेशन
अर्थतन्त्र

एकै वर्षमा बढ्यो एक लाख कर्जा खाता

काठमाडौं – बैंक तथा वित्तीय संस्थामा निक्षेप थुप्रिएको अनुपातमा कर्जाको माग उच्च नभएको भन्दै चिन्ता भइरहेका बेला एक वर्षमा कर्जा खाताको संख्या भने एक लाख बढेको पाइएको छ । खाताको संख्याले बैंकरहरूको भनाइविपरीत वित्तीय संस्थाहरूको सम्पर्कमा आएर औपचारिक माध्यमबाट कर्जा लिएर व्यापार व्यवसाय गर्ने क्रम बढेको देखाएको हो ।                  

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०८१ पुस मसान्तसम्म १९ लाख २५ हजार ७२४ वटा रहेको कर्जा खाता २०८२ पुस मसान्तमा २० लाख २४ हजार २८० पुगेको छ । समीक्षा अवधिमा वाणिज्य बैंकहरूमा रहेको कर्जा खाता १६ लाख ५ हजार ८१५ बाट १६ लाख ७८ हजार ४०६ पुगेको छ । त्यस्तै वित्त कम्पनीहरूको कर्जा खाता संख्या ४३ हजार ०५९ बाट बढेर ७७ हजार १५ पुगेको छ । विकास बैंकहरूको कर्जा खाता संख्या भने घटेको छ । विकास बैंकहरूको खाता संख्या २ लाख ७५ हजार ९५० बाट घटेर २ लाख ६८ हजार ८५९ मा झरेको हो ।              

राष्ट्र बैंकका निर्देशक एवं सहायक प्रवक्ता सुमन न्यौपानेले विकास बैंकहरू रिकभरीमा बढी केन्द्रित भएका कारण कर्जा खाता विस्तार हुन नसकेको अनुमान गरे । ‘कतिपय कर्जा तिरेर खाता बन्द गरिएको पनि हुनसक्छ र ब्याजदर सस्तो भएकाले कतिपय ग्राहक ‘क’ वर्गका बैंकमा स्विच भएको पनि हुनसक्छ,’ उनले भने ।    

समग्रमा कर्जा खाता बढ्नुले नयाँ व्यावसायिक गतिविधि बढेको संकेत गर्ने सहायक प्रवक्ता न्यौपानेले बताए । ‘कर्जा खाताको बढ्दो संख्याबाट अर्थतन्त्र चलायमान हुने क्रममा छ, नयाँ कर्जाको माग भइरहेको छ र अर्थतन्त्रमा क्रमिक सुधार (स्लो रिकभरी) भइरहेको भनेर बुझ्न सकिन्छ,’ उनले भने ।                  

समीक्षा अवधिमा निक्षेप खाताहरूको संख्या पनि उल्लेख्य बढेको छ । निक्षेप खाता संख्या एक वर्षको अवधिमा ५ करोड ७९ लाख २५ हजार ७९५ बाट बढेर ६ करोड १७ लाख ७९ हजार ८७२ पुगेको छ । हाल २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५१ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक गरी १०६ वटा बैंक तथा वित्तीय संस्था सञ्चालनमा छन् । बैंक तथा वित्तीय संस्थाहरूको शाखा संख्या ११ हजार ५०३ छ ।                  

बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ५.७ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.६ प्रतिशतले बढेको छ । त्यस्तै निक्षेपको वृद्धिदर १४.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.७ प्रतिशत छ ।            

बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत र ९१ दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.३५ प्रतिशत छ । वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.५६ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ७.१२ प्रतिशत छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्