site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिन परराष्ट्रमन्त्रीको आग्रह  

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाललाई मतदान गर्न विश्व समुदायसँग आग्रह गरेकी छन् । 

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने क्रममा जेनेभामा रहेकी मन्त्री डा. राणाले जेनेभामा रहेका विभिन्न देशका राजदूत एवं प्रतिनिधिहरूलाई उक्त आग्रह गरेकी हुन् । 

मन्त्री डा. राणाको सम्मानमा जेनेभास्थित नेपाली स्थायी नियोगद्वारा बुधबार साँझ जेनेभामा रहेका विभिन्न देशका स्थायी नियोग र विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका प्रमुखहरूका लागि आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उनले सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवर्धनका क्षेत्रमा नेपालले गरेका काम र प्राप्त उपलब्धिलाई हेरेर नेपाललाई मत दिन आग्रह गरेकी हुन् ।  

उक्त समारोहमा जेनेभामा रहेका एक सयभन्दा बढी देशका राष्ट्रसंघीय स्थायी नियोगप्रमुख तथा राजदूत र विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधि उपस्थित थिए ।   
 
“नेपाल सरकार शान्ति, प्रजातन्त्र र मानअधिकारको पक्षमा अडिग छ । मानवअधिकारको रक्षा र प्रवर्धनमा हामीले विगत लामो समयदेखि काम गरिरेहका छौँ,” उक्त समारोहलाई सम्बोधन गर्दै उनले भनिन्, “यही प्रतिबद्धताका साथ नेपालले यस परिषद्को आगामी सन् २०२७ देखि २०२९ सम्मका लागि सदस्यमा उमेदवारी दिएको छ । संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रलाई म नेपाललाई सहयोग गर्न आग्रह गर्छु ।” 

नेपालले शान्ति प्रक्रियाका क्रममा पनि विश्वकै उदाहरणीय भएर काम गरेको दृष्टान्त पेस गर्दै मन्त्री राणाले शान्ति प्रक्रियाका बाँकी कामलाई पनि छिट्टै टुंग्याउने गरी संक्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण गरेर तदारुकताका साथ काम गरिरहेको बताइन् । 
 

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १४:४८
प्रतिक्रिया दिनुहोस्