site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युक्रेनी ड्रोन आक्रमणको पुटिनले बदला लिने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसी वायुसेना अड्डामा युक्रेनले गरेको ड्रोन आक्रमणको प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

रूसी राष्ट्रपति पुटिनसँगको टेलिफोन वार्तापछि ट्रम्पले भने, “राष्ट्रपति पुटिनले हालै वायुसेना अड्डामा भएको आक्रमणको प्रतिक्रिया दिनैपर्छ भन्नेमा ठूलो जोड दिएका छन् ।” 

तर, यसबारेमा टिप्पणी गर्न अनुरोध गर्दा रूसी अधिकारीहरूले यसलाई पुष्टि गर्न अस्वीकार गरेका छन् । यसअघि मस्कोले युक्रेनको आक्रमणको प्रतिक्रियाका लागि विभिन्न सैन्य विकल्पहरू छलफलमा रहेको बताएको थियो ।

एक घण्टाभन्दा बढी समयसम्म चलेको ट्रम्प–पुटिनको टेलिफोन वार्ताले रूस र युक्रेनबीच तत्काल शान्ति स्थापना नहुने उनीहरूले सामाजिक संजालमा बताएका छन् । 

रूसी सरकारनियन्त्रित समाचार एजेन्सी आरआईए नोभोस्तीले पुटिनले युक्रेनले वार्तालाई बिथोल्ने प्रयास गरेको र युक्रेन सरकार एक आतंकवादी संगठनमा परिणत भएको ट्रम्पलाई बताएको उल्लेख गरेको छ ।

एजेन्सीले दुवै नेताहरूले दुई देशहरूबीच सहयोग पुन:स्थापनाको सम्भावनाहरूमा विचार आदान–प्रदान गरेको बताएको छ ।  

युक्रेनले १ जुनमा परमाणु क्षमतायुक्त लामो दूरीका रूसी बमवर्षक विमानहरूलाई लक्ष्य बनाएर रूसी वायुसेना अड्डामा लुकीछिपी ड्रोन आक्रमण गरेपछि यी दुई नेताहरूबीच भएको पहिलो वार्ता हो ।

रूसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभका अनुसार, ट्रम्पले पुटिनलाई फोनमा अमेरिकालाई यो आक्रमणको बारेमा अग्रिम सूचना नदिइएको बताएका थिए ।

गत हप्ता ट्रम्पले शान्ति सम्झौताका लागि पुटिनलाई दुई हप्ताको म्याद दिएका थिए । तर, पुटिनले युक्रेनमा शान्ति प्रयासहरूमा अनिच्छा देखाए । त्यसको प्रतिक्रियामा अमेरिकाले रूसप्रति आफ्नो नीति परिवर्तन गर्ने धम्की दिएको बताइएको थियो ।

यसअघि, रूसले युक्रेनका सहरहरूमा ड्रोन र मिसाइल आक्रमण गरी दर्जनौँ नागरिकहरू हताहत भएपछि २६ मेमा ट्रम्पले रूसी राष्ट्रपति पुटिनलाई ‘पूर्णरूपमा पागल भएको’ र ‘आगोसँग खेलिरहेको’ टिप्पणी गरेका थिए ।
तर, बुधबार सामाजिक संजालमा ट्रम्पले कुनै अल्टिमेटम वा आफ्ना अघिल्ला टिप्पणीबारे उल्लेख गरेनन् । बीबीसी
 

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  ०७:२०
प्रतिक्रिया दिनुहोस्