काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कको मेयरका लागि डेमोक्रेटिक उमेदवार जोहरान ममदानीलाई पक्राउ गर्ने चेतावनी दिएका छन् । ममदानी न्युयोर्क राज्यका सांसदसमेत हुन् ।
ट्रम्पले संघीय आप्रवासन तथा भन्सार प्रवर्तन एजेन्सी (आईसीई)को कारबाहीको अवज्ञा गरे ममदानीलाई पक्राउ गर्ने चेतावनी दिएका हुन् ।
मंगलबार फ्लोरिडाको एभरग्लेड्समा नयाँ एलिगेटर अल्काट्राज आप्रवासी हिरासत केन्द्रमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले ३३ वर्षीय डेमोक्रेटिक नेता ममदानीलाई कम्युनिस्ट भएको आरोप लगाए ।
न्युयोर्क सहरको डेमोक्रेटिक मेयरमा प्राइमरी निर्वाचन जितेपछि ममदानीले छिमेकीलाई निर्वासन गर्ने मास्क लगाएका आईसीई एजेन्टलाई रोक्ने बताएका थिए ।
यसबारे एक पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले भनेका छन, “त्यसो भए हामी उनलाई पक्राउ गर्छौं । हेर्नुहोस्, हामीलाई यो देशमा कम्युनिस्ट चाहिँदैन, तर यदि कोही छ भने म राष्ट्रको तर्फबाट उसलाई निकै सावधानीपूर्वक निगरानी गर्नेछु ।”
उनले ममदानी देशमा अवैधरूपमा बसेको गलत दाबी पनि दोहोर्याए । “धेरै मानिसहरू भनिरहेका छन् कि उनी यहाँ अवैधरूपमा छन् । हामी सबै कुरा जाँच्नेछौँ । आदर्श रूपमा, उनी कम्युनिस्टभन्दा धेरै कम सावित हुनेछन्, तर अहिले उनी कम्युनिस्ट हुन्, समाजवादी होइन ।”
युगान्डामा जन्मिएका ममदानी सात वर्षको उमेरदेखि अमेरिकामा बस्दै आएका छन् । उनी सन् २०१८ मा अमेरिकी नागरिक बनेका हुन् ।
मंगलबार बिहान ह्वाइट हाउसबाट बाहिरिँदा ट्रम्पले ममदानीमाथिको आक्रमणलाई निरन्तरता दिँदै उनलाई पूरै 'पागल' र 'खराब' पात्रका रूपमा व्यख्या गरे ।
ममदानीले मंगलबार एक वक्तव्यमार्फत ट्रम्पको भनाइको खण्डन गर्दै धम्कीलाई अस्वीकार गर्ने बताएका छन् ।
एबीसीन्युजबाट ।