काठमाडौं । नेकपा (एमाले)का सांसद वासुदेव घिमिरेले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र समितिका सचिव सुरजकुमार दुराले राजीनामा दिनुपर्ने माग राखेका छन् ।
"अधिकारसम्पन्न छानबिन समिति बनाउनुपर्छ । सभापति र सचिवले राजीनामा दिनुपर्छ," बुधबार समितिको बैठकमा समितिका सदस्य घिमिरेले भने ।
एमालेकै अर्का सांसद राजेन्द्र राईले पनि सभापति खतिवडाको राजीनामा माग गरे । "सभापतिज्यू, अब तपाईंले छोडदिनुपर्छ । समितिको अपमान गर्ने अधिकार हुन्न । सचिव कहाँ चुक्नु भो ? तपाईंलाई कसले फसायो ? बाटो खोल्दिनुस्," उनले भने ।
उनले अगाडि थपे, "शंका थियो मैले नराखौँ भनेको हो । बुरुक–बुरुक उफ्रिनुभो । पछि त हटाउनु नै रहेछ । मुलुकलाई घाटा हुन्छ । मिहिनेत गरेका छिनछिनमा चेन्ज गर्नुहुन्छ । अब तपाईंको नेतृत्वमा बस्न सक्दैनौँ," उनले भने ।