काठमाडौं । पाकिस्तानको लाहोरमा एउटा पाल्तु सिंहले पर्खाल नाघेर एक महिला र दुई बच्चामाथि आक्रमण गरेपछि त्यसका मालिकहरूलाई पक्राउ गरिएको छ ।
यो घटना जोहान टाउन क्षेत्रमा रहेको एक फार्महाउसबाट सिंह बिहीबार भाग्दा भएको हो । आक्रमणमा परेका महिला, उनका पाँच र सात वर्षका दुई बच्चालाई अस्पताल भर्ना गरिएको छ ।
प्रहरीले सार्वजनिक गरेको सुरक्षा क्यामेरा फुटेजमा सिंहले कंक्रिटको पर्खाल नाघेर महिलामाथि पछाडिबाट आक्रमण गरेको र उनलाई भुइँमा लडाएको देखिन्छ ।
एक पुरुष फार्महाउसबाट कुनै वस्तु लिएर दौडिँदै आएर सिंहलाई लखेटेको देखिन्छ, त्यसपछि सिंहले बाटोमा अरू बच्चाहरूमाथि आक्रमण गरेको थियो ।
एसोसिएटेड प्रेसका अनुसार, पीडितहरूको अनुहार र हातमा चोट लागेको भए पनि उनीहरूको अवस्था स्थिर छ ।
लाहोर प्रहरीले सिंह खुला खोरबाट भागेको र मालिकहरूले पुनः कब्जामा लिएर गाडीमा राखी अर्को जिल्लामा लुकेको जनाएको छ ।
डेपुटी इन्स्पेक्टर जनरल मुहम्मद फैसल कमरानले शुक्रबार तीनजनालाई पक्राउ गरिएको र सिंहलाई वन्यजन्तु प्राधिकरणमा हस्तान्तरण गरिएको बताए ।
स्थानीय मिडियाका अनुसार, मालिकसँग सिंह राख्ने अनुमति थिएन । उनीहरूमाथि वन्यजन्तु ऐनअन्तर्गत मुद्दा चल्न सक्छ, जसमा अधिकतम सात वर्षको जेल वा १७ हजार ५०० डलर जरिवाना हुन सक्छ ।
पाकिस्तानमा जंगली बिरालाहरूलाई पाल्तु जनावरको रूपमा राख्नु प्रतिष्ठाको प्रतीक मानिन्छ, तर यसका लागि अनुमति चाहिन्छ र सहरभित्र यस्ता जनावर राख्न निषेध छ ।
कमरानले यस्ता घटनाहरूले गैरकानुनी रूपमा जंगली जनावर राख्दा धेरैको ज्यान जोखिममा पर्ने कुरालाई उजागर गरेको बताए ।
पञ्जाब सरकारले आइतबारदेखि अनुमतिबिना सिंह राख्नेहरूमाथि प्रदेशव्यापी कारबाही सुरु गरेको छ । यसमा १३ सिंह कब्जामा लिइएको र वन्यजन्तु नियम उल्लंघन गरेकोमा पाँचजना पक्राउ परेका छन् ।