site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसीका विवादित कांग्रेस मन्त्रीलाई फिर्ता बोलाउन दलका नेतालाई मुख्यमन्त्रीको आग्रह
मुख्यमन्त्री हिक्मत कार्की । फाइल तस्बिर ।

विराटनगर । कोसी प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट सहभागी विवादित मन्त्रीलाई फिर्ता बोलाउन मुख्यमन्त्री हिक्मत कार्कीले दलका नेता उद्धव थापालाई आग्रह गरेका छन् । क्यूआर कोडबाट रकम मागेको विषयमा पर्यटनमन्त्री सदानन्द मण्डल विवादमा तानिएका हुन् ।

त्यसबारे प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले प्रदेशसभा बैठकमा सरकारको जवाफ मागेको थियो । त्यसपछि मुख्यमन्त्री कार्कीले कांग्रेस संसदीय दलका नेता थापासँग परामर्श गरेका हुन् ।

कोसीका कृषिमन्त्री खगेनसिंह हांगाम पनि ताप्लेजुङमा एक युवामाथि कुटपिट गरेको विषयमा विवादमा छन् । मुख्यमन्त्री कार्कीले विवादित मन्त्रीहरू हटाउन चाहे पनि गठबन्धन सरकार भएकाले एक्लै निर्णय गर्न सक्ने अवस्था नरहेको बताइएको छ ।

मुख्यमन्त्री कार्कीसँगको छलफलमा कांग्रेस दलका नेता थापाले केन्द्रमा सभापति शेरबहादुर देउवासँग छलफल गरी सुझाव लिएर मात्र आफूले केही गर्न सक्ने जवाफ दिएका छन् ।

कार्यसम्पादनमा कमजोर र लगातार विवादमा तानिएका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ अनुहार सरकारमा पठाउनुपर्ने माग कांग्रेस केन्द्रीय समिति बैठकमा पनि गरिएको थियो । प्रदेश सांसद एवं कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले विवादित मन्त्रीलाई राखिरहँदा पार्टीकै बदनाम हुने बताएका थिए ।

कोसी कांग्रेस संसदीय दलको बैठकमा समेत सरकारमा सहभागी मन्त्रीको व्यवहार र आचरणबारे छलफल भएको थियो ।

हाल कोसी सरकारमा भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईको नेतृत्वमा कांग्रेस सहभागी छ । यस्तै, कांग्रेसका तर्फबाट खगेनसिंह हांगाम उद्योग, कृषि तथा सहकारी, सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण र भूमिप्रसाद राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री छन् । 

मंगलबार (असार २४) बसेको कोसी प्रदेशसभा बैठकमा पनि माओवादी केन्द्रका सांसद राजेन्द्र कार्कीले विवादित मन्त्रीलाई किन नहटाएको भन्दै सरकारसँग जवाफ मागेका थिए । 

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  १६:२९
प्रतिक्रिया दिनुहोस्