काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पुराना नेता अच्युतराज रेग्मीको ९६ वर्षको उमेरमा निधन भएको छ ।
परिवारका सदस्यसँगै अष्ट्रेलियामा रहेका रेग्मीको त्यहीँ निधन भएको हो ।
रेग्मी २०१५ सालमा सम्पन्न पहिलो संसदीय निर्वाचनमा पाल्पा–पश्चिम क्षेत्र नम्बर ९३ बाट निर्वाचित भएका थिए । रेग्मी पाल्पा तानसेन नगरपालिका–२ मेहलधारामा जन्मेका थिए । २०४६ को आन्दोलन सफल भएपछि नेपाली कांग्रेसका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रित्वमा गठित अन्तरिम मन्त्रिपरिषद्मा आवास तथा भौतिक योजना मन्त्री थिए ।
उनी विद्यार्थीकालमै राजनीतिमा होमिएका थिए । २००४ सालमा भएको राणाविरोधी जयतु संस्कृतम् आन्दोलनमा सक्रिय सहभागीमध्येका एक हुन् । २००७ सालमा भएको नेपाली कांग्रेसको राणाविरोधी आन्दोलनमा सक्रिय थिए ।
तत्कालीन राजा महेन्द्रले २०१७ पुस १ गते निर्वाचितविरुद्ध ‘कू’ र संसदीय व्यवस्था अपहरण गरेपछि रेग्मी भारतमा निर्वासित हुन बाध्य भए । पञ्चायती सरकारले उनको सम्पूर्ण सम्पत्ति हरण गरेको थियो ।
भारतमा निर्वासित जीवन जिउँदै गर्दा सुवर्णशमशेर जबरा निकट थिए । २०२५ सालमा राजा महेन्द्रसँग सुवर्ण शमशेरले नरम नीति अख्तियार गरेपछि मुलुक फर्केका हुन् ।
नेपाली कांग्रेसले रेग्मीको निधनबाट एक वरिष्ठ र अनुभवी राजनीतिज्ञ गुमाएको बताएको छ । कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले रेग्मीको निधनको खबरले आफूलार्ई दुःिखत बनाएको उल्लेख गर्दै उनले पुर्याएको सक्रिय योगदान पार्टीमा स्मरणीय रहने बताएका छन् ।