काठमाडौं । भारतको आकाश कति सुरक्षित छ ? जुनमा एयर इन्डिया दुर्घटनामा कम्तीमा २७० जनाको मृत्यु भएपछि यो प्रश्न धेरैले उठाइरहेका छन् । लन्डन जाने बोइङ ७८७–८ ड्रिमलाइनर १२ जुनमा पश्चिमी भारतको अहमदाबाद विमानस्थलबाट उडेको एक मिनेटभन्दा कम समयमा दुर्घटना भएको थियो ।
भारतको हवाई सुरक्षा नियामक निकाय, नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए)का प्रमुख फैज अहमद किदवाईले बीबीसीसँगको अन्तर्वार्तामा भारतको आकाश विगतमा पनि सुरक्षित थियो, आज पनि सुरक्षित छ र सधैँ सुरक्षित रहेको बताएका छन् ।
“अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईसीएओ)ले प्रकाशित गर्ने विश्वव्यापी सुरक्षा मापदण्डहरू जस्तै प्रतिमिलियन उडानमा हुने दुर्घटनाको संख्यालाई हेर्दा भारतले लगातार विश्वमा औसतभन्दा राम्रो प्रदर्शन गरिरहेको छ,” उनले भने ।
सन् २०२० को अगस्टमा एयर इन्डिया एक्सप्रेसको उडान १३४४ कोझिकोडमा वर्षाले भिजेको रनवेबाट चिप्लिएर दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको थियो । सन् २०१० को मे महिनामा दुबईबाट आएको उडान ८१२ मंगलोरमा रनवे पार गरेर खोंचमा खस्दा १५८ जनाको मृत्यु भएको थियो ।
जुन महिनाको एयर इन्डिया दुर्घटना भारतमा १५ वर्षमा भएको ठूलो दुर्घटनामध्ये तेस्रो थियो । यस्ता ठूला दुर्घटनाहरू दुर्लभ भए पनि हालैका समाचारहरूले नयाँ चिन्ता उत्पन्न गरेका छन् ।
दिल्ली–श्रीनगर उडानमा भएको गम्भीर हावाको झट्कादेखि मर्मत सम्भारमा कमजोरी र तालिमको कमी सम्बन्धी बढ्दो रिपोर्टहरूले हवाई सुरक्षाको विषयमा पुनः ध्यान केन्द्रित भएको समाचारमा उल्लेख छ ।
पछिल्लो घटना स्पाइसजेटसँग सम्बन्धित थियो, जो भारतको चौथो ठूलो र लामो समयदेखि सञ्चालित कम लागतको वायुसेवा हो ।
द इकोनमिक टाइम्स पत्रिकाका अनुसार भारतको हवाई नियामकले हालै एक श्रृंखलाबद्ध चिन्ताजनक तथ्यहरू फेला पारेपछि एयरलाइनको नेतृत्वलाई बोलाएको थियो ।
पत्रिकाले जनाएअनुसार, यो वर्षको सुरुमा स्पाइसजेटका दुई डे ह्याविल्यान्ड क्यू४०० टर्बोप्रप विमानमा प्रोपेलरमा समयअगावै खराबी देखिएको थियो ।
एयरलाइनले जीई एरोस्पेसद्वारा सञ्चालित बेलायती निर्माता डाउटी प्रोपेलर्सलाई जानकारी गराएको थियो, जसले प्रोपेलरका आन्तरिक बेयरिङहरूमा क्षति भएको पत्ता लगायो ।
प्रत्येक प्रोपेलरमा दुई रेस वा रिङ वा ट्रयाकहरू भएको बेयरिङ हुन्छ । यस विषयमा भित्री रेसमा क्षति भएको थियो । मूल कारण सम्बोधन गर्नुको सट्टा स्पाइसजेटले रिपोर्टअनुसार मूल कारणलाई सम्बोधन नगरी सम्पूर्ण युनिटमा थप ग्रीस लगाइरह्योको थियो ।
सुधारात्मक कारबाहीको कमीले निराश भएपछि डाउटीले यो मुद्दालाई सिधै भारतको हवाई नियामकसमक्ष पुर्याएको पत्रिकाले उल्लेख गरेको छ । डीजीसीएको अप्रिलमा भएको लेखापरीक्षणले स्न्याग घटनाहरूजस्ता थप कमजोरीहरू पनि उजागर गरेको रिपोर्टमा उल्लेख छ ।
डीजीसीएका प्रमुख किदवाईले बीबीसीलाई भने, “टर्बोप्रप प्रोपेलरको समस्या हाम्रो ध्यानमा स्पाइसजेटको मर्मत संगठनहरूमध्ये एक मार्फत आयो ।”
उनले यो मुद्दालाई स्पाइसजेटसँग उठाएको र उनीहरूले सुधारात्मक कारबाही गरेको सुनिश्चित गरेको बताए । “हामीले वरिष्ठ व्यवस्थापनलाई यो अवस्थाको पूर्ण जानकारी नभएको पनि पत्ता लगायौँ । हामीले मूल उपकरण निर्माता र अन्य नियमहरूको पालना सुनिश्चित गर्ने जिम्मेवार विभिन्न पदाधिकारीहरूविरुद्ध कारबाही गर्यौँ,” उनले भने, “हामीले स्पाइसजेटलाई उनीहरूलाई हटाउन र केहीलाई निलम्बन गर्न निर्देशन दियौँ, जसलाई उनीहरूले पालना गरे ।”
रोयटर्सले जनाएअनुसार हवाई नियामकले मार्चमा एयर इन्डियाको बजेट क्यारियरलाई एयरबस ए३२० मा अनिवार्य इन्जिन पार्टस बदल्न ढिलाइ गरेको र पालना गरेको देखाउन फर्जी रेकर्ड बनाएको भन्दै आलोचना गरेको थियो ।
एयर इन्डिया एक्सप्रेसले समाचार एजेन्सीलाई बताएअनुसार उसले डीजीसीएसमक्ष गल्ती स्वीकार गरेको छ । डीजीसीएका प्रमुख किदवाईले उक्त विषयको जानकारी एयरलाइनको स्व–रिपोर्टिङमार्फत प्राप्त भएको बीबीसीलाई बताए ।
“म यो कमजोरीहरूलाई समर्थन गर्दिनँ । तर कम्तीमा हामीले यस्ता रिपोर्टहरू प्राप्त गर्न थालेका छौँ । यो एयरलाइनबाटै आयो,” उनले भने, “यस विषयमा कारबाही गरिएको छ । हाम्रा लेखापरीक्षणहरूमा हामीले हाम्रा कर्मचारीहरूलाई थप सतर्क रहन र कुनै कमजोरी भएमा जानकारी गराउन भनेका छौँ ।”
मे महिनामा, दिल्लीबाट श्रीनगर जाने इन्डिगोको उडानले उडान भरेको करिब ४५ मिनेटपछि गम्भीर हावाको झट्का र असिनाको सामना गर्नुपर्यो । २२२ यात्रु बोकेको एयरबस ए३२१ ले अत्यधिक हावाको प्रवाहको सामना गरेको थियो, जसले माथिका विनहरू खुल्न गए र जहाजको नोजमा क्षति पुग्यो ।
चालक दलले आपतकाल घोषणा गर्यो र श्रीनगरमा कुनै चोटपटकबिना सुरक्षित अवतरण गर्यो । नियामकले अनुसन्धान गर्यो । दोषी पाइएपछि दुई पाइलटहरूलाई ग्राउन्डेड गरियो । किदवाईले नियामकले अब हावाको अस्थिर अवस्थामा उडान गर्ने पाइलटहरूका लागि आफ्ना गाइडलाइनहरू परिष्कृत गरेको बीबीसीलाई बताए ।
पाइलटहरूले अब त्यसमा पुग्नुअघि निश्चित नटिकल माइलको दूरीमा विशेष काम गर्न आवश्यक रहेको उनले बताए । “यसमा मार्ग परिवर्तन, घुम्ने वा अन्य उपयुक्त कदम चाल्ने कार्य समावेश हुनसक्छ,” उनले भने ।
संघीय नागरिक उड्डयन मन्त्रालयको तथ्यांकअनुसार सन् २०२० यता भारतीय घरेलु वायुसेवाहरूले दुई हजार ४६१ प्राविधिक कमजोरीहरू भएको रिपोर्ट आएको समाचारमा उल्लेख छ ।
जनवरी २०२५ सम्ममा इन्डिगोले आधाभन्दा बढी (१,२८८), स्पाइसजेटले ६३३ र एयर इन्डिया र यसको सहायक कम्पनी एयर इन्डिया एक्सप्रेसले ३८९ वटा कमजोरी गरेको देखिएको छ ।
“एयरलाइन्सहरूको कमजोरी बड्दै गएको पाइएको छ । यो राम्रो हो,” श्री किदवाईले भने । बीबीसी