काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने भएको छ । माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतम अध्यक्ष रहेको नेकपा एकता राष्ट्रिय अभियानबीच आगामी साउन २ गते एकता घोषणा गर्ने सहमति भएको हो ।
गौतम केही समययता कहिले नेकपा (एमाले) त कहिले एकीकृत समाजवादी प्रवेश गर्ने अभिव्यक्ति दिँदै आएका थिए राष्ट्रियसभा सदस्यसमेत रहेका गौतम र नेपालबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
गौतमले विगतमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेपछि फुरुङ्ग हुँदै एमालेमा जाने चाहना व्यक्त गरे । एमालेले उनलाई पार्टीमा लैजाने गरी निर्णय गरेन । अन्ततः एकीकृत समाजवादीसँग एकता गर्ने सहमति गरेका हुन् । यसैसन्दर्भमा उनीसँग बाह्रखरीका कुञ्जरमणि भट्टराईले गरेको संक्षिप्त कुराकानी :
–कता जाने भन्ने अलमलमा हुनुहुन्थ्यो, एकीकृत समाजवादीमा जाने निर्णय गर्नुभएको हो ?
हाम्रो पार्टी नेकपा एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादी पार्टीमा एकीकृत हुन्छ । एकताको कुरा आज टुंग्याइयो । साउन २ गते हाम्रो घोषणा हुन्छ ।
–जता गए पनि कार्यकारी जिम्मेवारी चाहिन्छ भन्ने माग राख्दै आउनुभएको थियो, अब के जिम्मेवारी पाउनुहुन्छ ?
त्यो टुंगो लगाउने उहाँहरू (एकीकृत समाजवादीका नेता) लाई जिम्मा दिएको छु ।
कुन जिम्मेवारी दिने दिनुस् भनेको छु । म खुसी हुने संगठन विभागको प्रमुख/इन्चार्ज हो । त्यो बनाउनुहुन्छ कि हुन्न उहाँहरूले विचार गर्ने कुरा हो ।
हुनैपर्छ भन्ने छैन । जिम्मेवारी दिए अरुले भन्दा राम्रो गर्न सक्छु ।
–त्यो त विभागीय जिम्मेवारी हो । पार्टीको वरीयतामा तपाईंको पद चाहिँ के हुन्छ ?
के गर्नुहुन्छ त्यो त उहाँहरूले जान्नुहुन्छ । बीचमा (२ गतेसम्म) उहाँहरूले बैठक गर्नुहुन्छ । आज त हामीले त एकीकरण गर्ने भनेर सहमति गरेको हो । एकीकरण त भइसकेको छैन ।
उहाँहरूले यसबीचमा निर्णय गर्नुहुन्छ होला त्यो जानकारी हुन्छ पछि ।
–तपाईंसँगै जाने नेताहरूको जिम्मेवारी चाहिँ टुंगिएको हो ?
त्यो पनि उहाँहरू (एकीकृत समाजवादी)का नेताले नै जान्ने विषय हो । हामीसँग केन्द्रीयस्तरका क्षमतामा काम गर्न सक्ने कमरेडहरू झन्डै ३०–४० जना हुनुहुन्छ । हामी एकै ठाउँ जान्छौं, तर केन्द्रीय कमिटीमा कति जनाले जिम्मेवारी पाउनुहुन्छ भन्ने उहाँहरूले निर्णय गर्नुहुन्छ ।
–पहिला एकीकृत समाजवादीमा जाने भन्नुभयो पछि एमालेसँग कुरा भयो । एकता घोषणा हुनै बाँकी छ, फेरि के हुने हो भन्ने आशंका छ । अलमलबारे प्रष्ट पारिदिनुस् न ।
अब हुँदैन, हुँदैन त्यो आशंका हुँदैन, सकियो अब त । नेकपा एमालेमा जाने भनियो धोका दिइयो । केपी ओलीले लैजानुभएन । तपाईंहरू (एमाले नेता) ले ढोकामा टिका लगाएर पसाउनुहुन्छ भने कुनै सर्त हुँदैन । निःशर्त प्रवेश गर्छौं भनेर जाँदा पनि मान्नु भएन ।
यहाँ (एकीकृत समाजवादी) मा पनि हामी त्यसै गरेर गएका छौं । त्यस्तो यता उता कुनै सर्त छैन ।
–उता, एमालेमा ७० वर्षे उमेर हद हटाउने बहस छ । ७० वर्ष नाघिसकेपछि एकीकृत समाजवादीमा जाने तय गर्नुभएको छ । त्यहाँ गएर के–कस्ता काम गर्ने योजना बनाउनु भएको छ ?
उस्तै विचार मिल्नेसँग, सम्मानजनक सम्बन्ध विकसित गर्न सकिने जस्ता कम्युनिस्ट पार्टीहरूसित पार्टी एकता गर्ने, जनताको बीचमा पार्टीलाई लोकप्रिय बनाउने र आगामी निर्वाचनमा बहुमत हासिल गरेर सरकार संचालन गर्ने ।
र, त्यो सरकारले सबभन्दा पहिले समाजवाद निर्माणको घोषणा गर्छ । जुन १० वर्षमा युरोपियन स्टान्डर्डमा हामी पुग्नेछौँ ।
–पतञ्जली जग्गा प्रकरणमा माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि नैतिकताको प्रश्न उठेको छ । उहाँकै पार्टीका नेताहरूले उठाएको प्रश्नमा विवाद चलिरहेको छ । यही बेलामा पार्टीमा जाने निर्णय गर्नुभयो नि !
अदालतले निर्णय गरिसक्यो, धरौटीमा छाडेको छ । अदालतबाट अपराध त प्रमाणित भएको छैन नि । अदालतमा गइसकेपछि नैतिकता भन्ने विषयको कुनै प्रश्न रहँदैन । त्यो नैतिकताको विषय नै उठ्दैन । उहाँहरू (केही नेता)ले भनेको विषय सही हुन सक्दैन ।