site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इन्धन स्विचहरू दुर्घटनापूर्व बन्द भएको पाइयो

काठमाडौं । भारतको अहमदावादमा गत महिना भएको एयर इन्डिया दुर्घटनाको प्रारम्भिक प्रतिवेदनले इन्जिनहरू बन्द गर्न प्रयोग गरिने इन्धन नियन्त्रण गर्ने स्विचहरू बन्द अवस्था (कट–अफ)मा पाइएको बताएको छ ।  

प्रतिवेदनका अनुसार ककपिट भ्वाइस रेकर्डिङमा एकजना पाइलटले अर्कोलाई “तिमीले किन कट–अफ गर्यौ ?” भनेर सोधेको सुनिन्छ । अर्को पाइलटले उनले त्यसो गरेको छैन जवाफ दिएको सुनिएको छ । तर, कुन आवाज कसको हो स्पष्ट नभएको बताइएको छ ।  

विमानले उडान भर्दा को–पाइलटले विमान उडाइरहेका थिए भने क्याप्टेनले निगरानी गरिरहेका थिए । 

दुर्घटनामा कम्तीमा २६० जनाको मृत्यु भएको थियो । बेलायती नागरिक विश्वशकुमार रमेश बाँच्न सफल एकमात्र व्यक्ति फ्युजलेजमा भएको खुला भागबाट भाग्न सफल भएका थिए ।

भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरोले १५ पृष्ठको प्रारम्भिक प्रतिवेदन प्रकाशित गरेको छ । यसले उडान गरेको केही सेकेन्डमा नै दुर्घटनाग्रस्त भएको एयर इन्डिया विमानमा के भएको थियो भनी विस्तृत रूपमा वर्णन गरेको छ ।

विमानले ०८ : ०८: ४२(यूटीसी)मा अधिकतम रेकर्ड गरिएको हावाको गति १८० नट्स आईएएस प्राप्त थियो । त्यसपछि  इन्जिन १ र इन्जिन २ को इन्धन कट–अफ स्विचहरू एक सेकेन्डको अन्तरमा ‘रन’ बाट ‘कट अफ’ अवस्थामा परिवर्तन भएका थिए । “त्यसपछि, तिमीले किन कट–अफ गर्यौ ? भनेर सोधेको सुनिन्छ । अर्को पाइलटले उनले त्यसो गरेको छैन भनेर जवाफ दिएको सुनिएको छ,” प्रतिवेदनमा उल्लेख छ । 

०८ : ०८ : ५२(यूटीसी) मा इन्जिन १ को इन्धन कट–अफ स्विच ‘कट अफ’ बाट ‘रन’मा परिवर्तन भयो । र, चार सेकेन्डपछि इन्जिन २ को इन्धन कट–अफ स्विच पनि कट अफबाट ‘रन’ मा परिवर्तन भयो । यो समय ०८ : ०८ : ५६ (यूटीसी) मा थियो ।

०८ : ०९ : ०५ (यूटीसी)मा नौ सेकेन्डपछि एकजना पाइलटले ग्राउन्डमा रहेका एयर ट्राफिक कन्ट्रोल अफिसरहरूलाई ‘मे डे मेडे मेडे’ सन्देश पठाए । अफिसरहरूले कुनै जवाफ प्राप्त गरेनन् र केही समयपछि उनीहरूले विमान दुर्घटनाग्रस्त भएको देखे ।

प्रतिवेदनबाट हालसम्म बोइङ ड्रिमलाइनर ७८७ वा यस विमानमा प्रयोग भएका जीई जीईएनएक्स–१बी इन्जिन सञ्चालकहरूका लागि कुनै एडभाइजरी जारी गरिएको स्पष्ट भएको छ । 

हाललाई मेकानिकल खराबीलाई अस्वीकार गरिएको छ । तर, यो केवल प्रारम्भिक निष्कर्षहरू भएकोले थप जानकारीको लागि पर्खनु आवश्यक छ ।

विशेषगरी दुवै इन्धन नियन्त्रण स्विचहरू ‘रन’ अवस्थाबाट ‘कट अफ’ अवस्थामा सारिएको तथ्यका कारणले प्रतिवेदनको सामग्री भने निकै चकित पार्ने खालको बताइएको छ । तर, अझै धेरै प्रश्नहरू अनुत्तरित रहेको बताइएको छ । जस्तै : के यो प्राविधिक समस्या थियो ? यो सफ्टवेयर समस्या थियो ? अथवा यो मानवीय त्रुटि थियो ?

एयर इन्डियाले प्रतिवेदनबारे एक वक्तव्य जारी गरेको छ । वक्तव्यमा भनिएको छ एयरलाइन “परिवारहरू र प्रभावितहरूको साथमा एकजुट भएर उभिएको छ” र यो दुर्घटनाको अनुसन्धान गरिरहेका अधिकारीहरूसँग पूर्णरूपमा सहयोग गरिरहेको छ । 

एयर इन्डिया फ्लाइट १७१ मा चढ्नुअघि चालक दल र दुई पाइलटहरूले विमान सञ्चालन गर्न सक्षम छन् भनी सुनिश्चित गर्न परीक्षण गरिएको थियो ।

प्रतिवेदनमा मुम्बईमा आधारित दुवै पाइलटहरू उडानको अघिल्लो दिन अहमदाबाद पुगेका थिए र उनीहरूलाई पर्याप्त विश्राम अवधि प्रदान गरिएको उल्लेख छ । 

चालक दल र पाइलटहरूले स्थानीय समय ०६ ः २५ मा ब्रेथलाइजर टेस्ट पनि गरेका थिए । उनीहरू उडान सञ्चालन गर्न योग्य पाइएको प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदनले एयर इन्डिया विमानमा इन्धन भर्न प्रयोग गरिएका ट्यांकीहरूबाट लिइएका इन्धन नमूनाहरू सन्तोषजनक रहेको जनाएको छ ।

विमानविज्ञहरूले यसअघि इन्धन दूषित हुनु दुर्घटनाको सम्भावित कारक हुनसक्ने बीबीसीलाई भनेका थिए । विमानका इन्जिनहरू सटिक इन्धन मापन प्रणालीमा निर्भर हुन्छन् । त्यसैले त्यो प्रणाली अवरुद्ध भयो भने यसले इन्धनको अभावमा  इन्जिन बन्द हुनसक्छ । 

यसबाहेक प्रतिवेदनले छुट्टै रूपमा बायाँ पखेटाको एपीयू फिल्टर र रिफ्युएल/जेटिसन भल्भबाट “धेरै सीमित मात्रामा इन्धन नमूनाहरू” प्राप्त गरिएको बताएको छ ।

दुर्घटनामा संलग्न विमान बोइङ ७८७–८ ड्रिमलाइनर थियो, जुन १४ वर्षअघि सुरु भएको मोडल हो । 

एयर इन्डिया फ्लाइट १७१ को दुर्घटनाको प्रारम्भिक प्रतिवेदनले विमानका दुवै इन्जिनहरू लगभग एकैसाथ ‘रन’ अवस्थाबाट ‘कट अफ’मा परिवर्तन विष्कर्ष निकालेको छ । 

यसपछि बोइङ ७८७ ड्रिमलाइनरले थ्रस्ट गुमाउन थाल्यो र तल झर्न थाल्यो । र, अन्ततः पश्चिमी भारतीय सहर अहमदाबादमा दुर्घटनाग्रस्त भयो ।

‘कट अफ’मा स्विच गर्नाले इन्जिनहरू तुरुन्तै बन्द हुन्छन् । र, तिनीहरूलाई इन्धनको आपूर्ति रोकिन्छ । यो सामान्यतया विमान आफ्नो गन्तव्यमा पुगेपछि र इन्जिनहरू बन्द गरिँदा हुन्छ ।

यो आपतकालीन परिस्थितिमा पनि हुन सक्छ । तर, प्रारम्भिक प्रतिवेदनले विमानमा यस्तो कुनै घटना भएको संकेत गरेको छैन । बीबीसी
 

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  ०६:२६
प्रतिक्रिया दिनुहोस्