site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले नौजवान पार्टी हो : योगेश भट्टराई

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले राजनीतिक दलहरू कहिले पनि पुराना नहुने बताएका छन् । एमाले अहिले पनि नौजवान पार्टी भएको उनले उल्लेख गरे ।

शनिबार (असार २८) भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले हाल पुराना राजनीतिक दल सकिए र त्यो स्थान नयाँले लिन्छन् भन्ने भाष्य सिर्जना गरिएको बताए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत नयाँ राजनीतिक दलले त्यस्तो आस गरेको उनले टिप्पणी गरे । कहिले पुराना दल सकिन्छन् र त्यो ठाउँमा बसौँला भन्ने आसमा रास्वपा रहेको उनको भनाइ थियो ।

“यहाँ पुराना दलहरू अब सिद्धिँदै छन्, पुराना दलहरूको स्थान नयाँ दलले लिँदै छ भन्ने कतिपयका भाष्यहरू छन्,” उनले भने, “कविन्द्रजी (कविन्द्र बुर्लाकोटी)हरू त्यसमा आस गरिरहनुभएको छ, पुराना दल कहिले सिद्धेलान् र हामी त्यहाँ उभिऊँला भनेर । उहाँहरूको त्यो आशा छ । उहाँहरूको मुख्य नारा नै त्यही हो ।”

दाबी गरेर मात्र नयाँ नभइने उनले बताए । किन नयाँ राजनीतिक दल भन्ने प्रमाणित गर्न सक्नुपर्नेमा उनले जोड दिए । “पुराना दल सिद्धिए, अब हामी । किन हामी भन्ने कुराको प्रश्न छ,” उनले भने, “पुराना दलले के गरे, किन हामी भन्ने छ । दाबी गरेर मात्रै त हुँदैन ।”

राजनीतिक दल कहिल्यै पाको नहुने र नमर्ने उनले बताए । एमालेले हरेक ‘क्रिटिकल’ क्षणमा आफूलाई सैद्धान्तिक राजनीतिक ढंगले रूपान्तरण गर्दै आएको उनले सुनाए ।

“राजनीतिक दल कहिले पनि पाको हुँदैन, पुरानो भनेको कहिले स्थापित भयो भनेको हो । एमाले स्थापित भएको ७० वर्ष भयो । एमाले आज पनि नौजवान पार्टी हो,” उनले भने, “कांग्रेस आज पनि नौजवान पार्टी हो । कतिपय सन्दर्भमा कविन्द्रजीहरूको रास्वपाभन्दा पनि नौजवान हो । यो पार्टी हरेक क्रिटिकल क्षणमा आफूलाई सैद्धान्तिक राजनीतिक ढंगले रूपान्तरण गर्दै आएको छ ।” न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  १६:५२
प्रतिक्रिया दिनुहोस्