काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघ (ईयू) र मेक्सिकोमाथि ३० प्रतिशत ट्यारिफ (आयात कर) लगाउने घोषणा गरेका छन् । आफ्नो सामाजिक सञ्जालमाध्यममार्फत मेक्सिकोकी राष्ट्रपति र युरोपेली संघकी अध्यक्ष उर्सुला भोन डेर लेयनलाई लेखिएका दुई फरक पत्र सार्वजाननिक गर्दै ट्रम्पले यो घोषणा गरेका हुन् ।
यो कर आउँदो महिनाको पहिलो दिन (सन् २०२५ अगस्ट १)देखि लागु हुनेछ । ट्रम्पको यो निर्णयले अमेरिकाको व्यापारिक सम्बन्धमा ठूलो प्रभाव पार्न सक्छ । किनभने, ईयू र मेक्सिको अमेरिकाका दुई ठूला व्यापारिक साझेदार मानिन्छन् ।
मेक्सिकोका निम्ति लेखिएको पत्रमा ट्रम्पले भनेका छन्, “मेक्सिकोले अमेरिकामा अवैध आप्रवासी र फेंटानिलजस्ता लागुपदार्थको तस्करी रोक्न केही हदसम्म सहयोग गरेको मैले स्वीकार गरेको छु । तर, मेक्सिको उत्तर अमेरिकालाई ‘लागुपदार्थ तस्करीको खेलमैदान’ बन्नबाट रोक्न असफल भएको छ । त्यसैले अब ३० प्रतिशत ट्यारिफ लगाउनु आवश्यक भएको छ ।”
युरोपेली संघका निम्ति लेखिएको पत्रमा ट्रम्पले भनेका छन्, “ईयूलाई अमेरिकासँगको उनको व्यापार सन्तुलन पूर्ण रूपमा एकतर्फी छ र अमेरिकालाई हानि पुर्याइरहेको छ । त्यसैले मैले भनेको छु– हामीसँग वर्षौंसम्म वार्ताको समय थियो, तर युरोपेली संघको ट्यारिफ र गैरट्यारिफ नीतिहरूले व्यापारमा असमानता बढाएको छ । अब अमेरिकाले यी नीतिहरूबाट बाहिर निस्कनुपर्ने समय आएको छ ।”
अमेरिकाका कुनै पनि व्यापारिक साझेदारले जवाफी कारबाही गरेमा उनले झन् धेरै ट्यारिफ लगाउने चेतावनी दिएका छन् ।
२७ सदस्य राष्ट्र भएको युरोपेली संघ अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । यो हप्ताको सुरुमा युरोपेली संघले अगस्ट १ अघि अमेरिकासँग सहमति हुने आशा व्यक्त गरेको थियो ।
ट्रम्पले यो हप्ता अमेरिकाले अगस्ट १ देखि जापान, दक्षिण कोरिया, क्यानडा र ब्राजिलबाट आयातित सामानमा नयाँ कर लगाउने बताएका थिए । अमेरिकाका अरू धेरै व्यापारिक साझेदारलाई पनि यस हप्ता यस्तै पत्र पठाइएको छ । बीबीसीबाट ।