काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाका दुई विषयगत समितिको बैठक आज (असार २९) बस्दै छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ११ बजे बस्ने गरी आह्वान गरिएको छ । सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको सभाकक्षमा बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।
यही असार २४ गते बिहान रसुवाको भोटेकोसी नदीमा आएको बाढी र विपद् व्यवस्थापनबारे बैठकमा छलफल गरिनेछ । आउँदो आर्थिक वर्षको बजेट वक्तव्यमा व्यक्त सरकारी आश्वासनका विषयमा पनि छलफल गरिने कार्यसूची छ ।
आजै संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ । यो बैठक पनि बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने तय छ ।
वित्तीय संघीयता कार्यान्वयनको सन्दर्भमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट भएका काम–कारबाही, आयोगका सिफारिस र त्यो कार्यान्वयनको अवस्थाका विषयमा बैठकमा छलफल गरिने संसद् सचिवालयले जनाएको छ ।