site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लोहनी, धवलशमशेरसहित आयोग पुगेका सुवेदीले भने– पार्टीभित्र षड्यन्त्र नहोस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अनुशासन समितिबाट हटाइएपछि वरिष्ठ नेता नवराज सुवेदीले निर्वाचन आयोगमा उजुरी दिएका छन् ।

यही असार २५ गते अध्यक्ष राजेन्द्र लिङदेनले नेता सुवेदी पार्टी सदस्य नरहेको निष्कर्ष निकाल्दै अनुशासन समितिको अध्यक्षबाट हटाएर रोशन कार्कीलाई उक्त पदमा मनोनयन गरेका थिए । त्यो निर्णयविरुद्ध पार्टीका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी र महामन्त्रीद्वय धवलशमशेर जबरा र कुन्ती शाहीसहित आइतबार (असार २९) उनी आयोग पुगेका हुन् ।

आयोगमा उजुरी दिएपछि सञ्चारकर्मीसँग सुवेदीले पार्टीको निर्णयबिना अध्यक्षको स्वेच्छाचारिताले आफूलाई अनुशासन समितिबाट हटाइएको बताए । सोही कारण उजुरी दिन आएको उनले प्रतिक्रिया दिए ।

“अध्यक्षको स्वेच्छाचारिताले मलाई अनुशासन समितिबाट हटाइएको हो,” उनले भने, “केन्द्रीय समितिको बैठकबाट कुनै निर्णय भएको छैन ।”

अध्यक्ष लिङदेनले प्राकृतिक न्यायविरुद्ध निर्णय गरेको उनले आरोप लगाए । “यो प्राकृतिक न्यायको खिलापमा उहाँहरूले निर्णय गर्नुभयो । निर्णय गर्नुभन्दा अगाडि मलाई सोध्नु पनि पर्थ्यो,” उनले भने, “मलाई सोधिएको पनि छैन । मैले त मिडियाबाट थाहा पाएँ । त्यसकारण म निर्वाचन (उजुरी) गर्न आएको हो ।”

उनले अगाडि भने, “पार्टीभित्र अन्याय भइरहेकोले त्यसको खिलापमा मैले आवाज उठाएको हो । निष्पक्ष न्याय पाएपछि म के गर्छु थाहा हुन्छ । पार्टीभित्र यस्तो षड्यन्त्र नहोस् भनेर म उजुरी गर्न आएको ।”

उनले राजसंस्था पुनर्स्थापनको आफूहरूको आन्दोलन जारी रहेको पनि बताए । पार्टीभित्र कुनै गुट नहून् भन्ने पक्षमा आफू रहेको उनको भनाइ थियो । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १२:५५
प्रतिक्रिया दिनुहोस्