काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको आइतबार (असार २९) उद्घाटन गरेका छन् । विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेकोे उक्त सडक नेपालभरबाट छानिएका १७ मध्येको एक हो ।
४४ करोड २४ लाख रुपैयाँ लागतमा निर्मित ४.८६ किलोमिटर उक्त सडक समयमै सम्पन्न भएको नमुना आयोजना मानिन्छ ।
प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणको नमुना यो सडक पनि रहेकोे बताए । मेची–महाकालीसम्म थालेका काम सकाउने अभियानमा सरकार रहेकोे उनले उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले दमकको बेलडाँगीमा विशाल रंगशाला बनाउने घोषणा पनि गरे ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, उनले हरेक क्षेत्रमा सुधार ल्याउने योजनाबमोजिम स्वयंसेवाको भावनाका साथ महत्त्वपूर्ण विषयमा निःशुल्क अनलाइन कक्षा सञ्चालन गरिएपछि यो वर्ष एसईई नतिजामा १३ प्रतिशतले सुधार आएको बताए ।
आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधीले त्यहाँ मान्छे छाडेर आयो भनेर झुटा प्रचार गरेको भन्दै उनले आपत्ति जनाए । उनले यस्ता विषयमा जवाफ दिन आवश्यक नभएको टिप्पणी गरे ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वमुख्यमन्त्रीहरू शेरधन राई, उद्धव थापालगायत अधिकारी कार्यक्रममा सहभागी थिए । रासस