काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकार जहाँ पुग्यो त्यहाँ भ्रष्टाचार भएको टिप्पणी गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई 'भ्रष्टाचारबारे चित्रगुप्तलाई बयान दिन तयार छु भन्ने अभिव्यक्ति स्मरण होला ?' भन्दै कटाक्ष गरे ।
“अहिले त जहाँ सरकार त्यहाँ भ्रष्टाचार । अब चित्रगुप्तलाई प्रधानमन्त्रीजीले के बयान दिने होला ?,” उनले भने, “देशभित्र मात्र नभएर विदेशमा समेत जहाँ–जहाँ प्रधानमन्त्री पुग्नुहुन्छ । त्यहाँ केही न केही बेथितिका खबर आउँछन् । अहिले स्पेनबाट पनि त्यस्तै आएको छ ।”
उनले गत वर्ष अमेरिका जाँदा केके भएको थियो सम्झिएकै होला भन्दै कटाक्ष गरे ।
“अहिले स्पेनकोबारे कति हुनुहुन्छ हुनुहुन्न । मेरो आरोप होइन । तर, तपाईंले टेकेको ठाउँमा विवाद आउने गरेकोबारे पक्कै पनि ध्यान दिनुभएको होला,” उनले भने ।