काठमाडौं । अमेरिकी फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए)ले बोइङ विमानहरूमा प्रयोग हुने इन्धन नियन्त्रण स्विचहरू सुरक्षित रहेको जनाएको छ । एफएएको यो भनाइ एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक जाँच प्रतिवेदन सार्वजनिक भएकै दिन आएको हो ।
गत जुन महिनामा भएको सो दुर्घटनामा २६० जनाको मृत्यु भएको थियो । जाँच प्रतिवेदन सार्वजनिक भएपछि इन्धन स्विचको सुरक्षा अध्ययनमा चर्चा सुरु भएको छ ।
प्रतिवेदनअनुसार, बोइङ ७८७–८ ड्रिमलाइनरमा इन्धन स्विच उडान सुरु भएको केही समयमै बन्द भएको थियो । यो प्रतिवेदन भारतको विमान दुर्घटना जाँच ब्युरो (एएआईबी)ले जारी गरेको हो ।
त्यसै प्रतिवेदनमा एफएएका पूर्वप्रतिवेदनहरू उल्लेख गरिएको छ, जसले इन्धन स्विचको सुरक्षा परीक्षण आवश्यक रहेको उल्लेख गर्छन् ।
सो एयर इन्डियाको विमान अहमदाबादबाट लन्डन जाँदै थियो । यो दुर्घटना हालका वर्षहरूमा विश्वभरका ठूला विमान दुर्घटनामध्ये एकका रूपमा मानिएको छ ।
एएआईबीको प्रारम्भिक प्रतिवेदनमा विमानको इन्जिनमा इन्धन पुर्याउने स्विच ‘रन’बाट ‘कट–अफ’ अवस्थामा पुगेको भनिएको छ । यसले विमानको थ्रस्टमा असर पुर्याएको र दुर्घटना निम्त्याएको बताइएको छ ।
जाँचकर्ताहरूले सन् २०१८ मा जारी एफएएको एक सिफारिस पनि उल्लेख गरेका छन्, जसमा बोइङलाई इन्धन कट–अफ स्विचको लकिङ सुविधा परीक्षण गर्न सुझाव दिइएको थियो । यसको उद्देश्य यस्तो गल्ती फेरि नदोहोरियोस् भन्ने रहेको थियो । यद्यपि, एफएएले त्यसलाई अनिवार्य गरेन ।
एएआईबीले जनाएअनुसार, एयर इन्डियाले उक्त सल्लाह पालना गरेको थिएन । शुक्रबार एफएएले अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणलाई एयर इन्डिया दुर्घटनासम्बन्धी प्रारम्भिक प्रतिवेदन हेरेको जानकारी दिएको छ ।
एफएएले सन् २०१८ को सल्लाह केही प्रतिवेदनहरूमा उल्लेख गरेको भेटिएको थियो तर, इन्धन नियन्त्रण स्विच लकिङ सुविधाबिना जडान गरिएको पनि पाइएको बताएको छ ।
यद्यपि, एफएएले यसले विमानलाई असुरक्षित बनाउँदैन भन्ने कुरामा जोड दिएको छ ।
एफएएले बीबीसीसँग साझेदारी गरेको आन्तरिक नोटमा भनेको छ, “बोइङका विभिन्न मोडलहरूमा इन्धन नियन्त्रण स्विचको डिजाइन र लकिङ सुविधा एउटै भए पनि एफएएले ७८७ सहित कुनै पनि मोडललाई उडानका लागि असुरक्षित घोषणा गर्न आवश्यक ठान्दैन ।”एफएएले अन्य देशका नागरिक उड्डयन प्राधिकरणहरूसँग आवश्यक जानकारी निरन्तर साझेदारी गर्ने पनि जनाएको छ ।